
तीन तहका सशस्त्र कार्यकर्ताको घेराले रावलाई जंगलमा सुरक्षा दिन्थ्यो
भारतीय कम्युनिस्ट पार्टी(माओवादी)का महासचिव नम्बाला केशव राव उर्फ वसवराजु छत्तीसगढको घना जंगलभित्र सेनासँग भएको मुठभेडमा मारिएको सरकारले बुधबार घोषणा गरेको छ । यसलाई माओवादी विद्रोहविरुद्ध भारत सरकारले वर्षौंयता हासिल गरेको सबैभन्दा महत्वपूर्ण विजय भएकाे बताइएको छ । इन्जिनियरिङ अध्ययन गरेका रावलाई मध्य भारतमा जारी विद्रोहको मेरुदण्ड मानिन्थ्यो । उनले सुरक्षा बलमाथि भएका कैयौँ ठुला आक्रमणको योजना बनाएको विश्वास गरिन्छ । तिनमा सन् २०१० मा ७६ जना सुरक्षाकर्मी मारिएका चिलतानार एम्बुस पनि समावेश छ ।
‘नक्सलवाद उन्मूलनको लडाइँमा एउटा ऐतिहासिक उपलब्धि । छत्तीसगढको नारायणपुरमा भएको एक अप्रेसनमा हाम्रा सुरक्षा बलले २७ जना खतरनाक माओवादीलाई मारेका छन्, जसमा सिपिआई–माओवादीका सबैभन्दा शीर्ष नेता तथा नक्सल आन्दोलनका मेरुदण्ड नम्बाला केशव राव उर्फ वसवराजु पनि समावेश छन्,’ भारतका केन्द्रीय गृहमन्त्री अमित शाहले समाजिक सञ्जाल एक्समा भनेका छन् ।
‘नक्सलवादविरुद्धको लडाइँमा तीन दशकमा पहिलोपटक हाम्रो सेनाले महासचिव तहका नेतालाई मारेका हुन् । म यो ठुलो सफलताका लागि हाम्रा बहादुर सुरक्षा बल र एजेन्सीको प्रशंसा गर्छु,’ शाहले अगाडि लेखेका छन् । भारतका प्रधानमन्त्रीले पनि रावको हत्यापछि समाजिक सञ्जाल एक्समा लेख्दै भनेका छन्, ‘यो उल्लेखनीय सफलताका लागि हाम्रो फौजप्रति गर्व छ । हाम्रो सरकार माओवादको खतरालाई निर्मूल गर्न र जनताको शान्ति र प्रगतिको जीवन सुनिश्चित गर्न प्रतिबद्ध छ ।’
आन्ध्र प्रदेशमा जन्मिएका रावको टाउकोमा एक करोड भारुको इनाम राखिएको थियो । उनी वारंगलको क्षेत्रीय इन्जिनियरिङ कलेजमा स्नातकोत्तर तह पढ्दै गर्दा माओवादीमा सामेल भएका थिए । सात वर्षअघि उनी सो समूहको शीर्ष पद महासचिव बनेका थिए ।
सन् २०१८ मा प्रतिबन्धित भाकपा (माओवादी)को महासचिवको रूपमा पदभार ग्रहण गरेका ७१ वर्षीय रावलाई छापामार युद्धमा विशेषज्ञ मानिन्थ्यो । तत्कालीन महासचिव ७१ वर्षीय मुप्पला लक्ष्मण राव उर्फ गणपतिले आफ्नो बिग्रँदो स्वास्थ्य अवस्थाका कारण पद त्यागेपछि उनी महासचिव चुनिएका थिए । सैन्य तालिम दिने र विस्फोटक पदार्थ र बारुदी सुरुङका विशेषज्ञ मानिने रावले आफ्नो टोलीलाई परिष्कृत हतियारले सुसज्जित गरेका थिए । तीन तहका सशस्त्र कार्यकर्ताको घेराले उनलाई जंगलमा सुरक्षा दिन्थ्यो ।
रावको हत्यालाई माओवादविरुद्धको महिनौँ लामो सैन्य अभियानमा सेनाले प्राप्त गरेको सबैभन्दा ठुलो सफलताको रूपमा हेरिएको छ । यो वर्ष माओवादी र सेनाबिच भएका भिडन्तमा २०० विद्रोही मारिइसके । पछिल्लो मुठभेड नारायणपुर–बिजापुर–दन्तेवाडा जिल्ला जोडिएको बोटेर गाउँको घना जंगलमा भएको थियो, जसलाई माओवादी विद्रोहीको केन्द्र मानिन्छ । पछिल्लो समय भारत सरकारले ‘रेड करिडोर’ भनेर चिनिने माओवादीको प्रभाव रहेको क्षेत्रमा लड्न हजारौँ सेना तैनाथ गरेको छ ।
सैन्य अभियानबाहेक सरकारले माओवादी प्रभावित जिल्ला र क्षेत्रमा सडक सञ्जाल विस्तार गर्ने र शिविरहरू स्थापना गर्ने अभियान पनि सँगसँगै चलाइरहेको छ । पछिल्ला सैन्य अभियान छत्तीसगढ प्रहरीको ‘जिल्ला रिजर्भ गार्ड (डिआरजी)’ र आत्मसमर्पण गरेका पूर्वमाओवादी सदस्यले संयुक्त रूपमा सञ्चालन गरेका थिए ।