
नेपाली सेनाले आयोजना गरेको पाँचाैँ रारा ट्रेल रनको उपाधि जुम्लाका युगराज बुढा र सुनमाया बुढाले जितेका छन्। शुक्रबार आयोजित ट्रेल रनमा पुरुषतर्फ युगराज र महिलातर्फ सुनमाया विजयी भएका हुन्।
नेपालकै ठुलो रारा तालवरिपरि १६ किलाेमिटर दूरीमा ट्रेल रन आयोजना गरिएको थियो। पुरुषतर्फ जुम्लाको कनकासुन्दरी गाउँपालिका– ३ का युगराज बुढाले निर्धारित दूरी एक घण्टा १२ मिनेटमा पार गर्दै प्रथम भएका हुन्। सोही गाउँपालिका– १ का सोमबहादुर रावत द्वितीय हुँदा वडा नं. २ का चन्द्र रावत तृतीय स्थानमा आए।
महिलातर्फ जुम्लाकै पातारासी गाउँपालिका– २ की सुनमाया बुढा प्रथम हुँदा कल्पना बुढा द्वितीय र राज्यलक्ष्मी रावल तृतीय भएकाे आयोजक हनुमानध्वज गुल्म राराका गुलपति खिमबहादुर अधिकारीले जानकारी दिए।
प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः ५० हजार, ३० हजार र २० हजार नगदसहिद प्रमाणपत्र र मेडल प्रदान गरिएको छ।