१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ ५ सोमबार
  • Monday, 19 May, 2025
२o८२ जेठ ५ सोमबार o६:२९:oo
Read Time : > 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

रवि पक्षलाई पेसीको सूचना नै नदिई एकतर्फी सुनुवाइ प्रकरण : चार दिनपछि पठाइयो पेसीको सूचना, उच्चको अर्काे आदेश

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८२ जेठ ५ सोमबार o६:२९:oo

उच्च अदालत पोखरामा एकतर्फी सुनुवाइको चौथो दिन रवि लामिछाने र छविलाल जोशीलाई पेसीको जानकारी पत्र दिइएको छ । रवि पक्षका अधिवक्ताहरूले इजलासमै आपत्ति जनाएपछि आइतबार जिल्ला कारागार रूपन्देहीमा जानकारी पत्र पठाइएको छ । तर, रवि र छवि दुवैले पेसीको जानकारी बुझ्न इन्कार गर्दै हस्ताक्षर गर्न मानेनन् । 

पेसीको जानकारी बुझ्न नमानेपछि उच्चका मुख्य न्यायाधीश रत्नबहादुर बागचन्द र न्यायाधीश मिलन राईको संयुक्त इजलासले हस्ताक्षर नगर्नुको कारण प्रतिवेदनसहित जानकारी गराउन भनेको छ । साथै पेसीको जानकारी उनीहरूलाई भएको भए प्रतिवादीले बुझेको भर्पाइसहित मिसिलमा राख्नसमेत उच्चको आदेश छ । 

‘निवेदक प्रतिवादी रवि लामिछाने र छविलाल जोशीलाई पेसीको जानकारी गराउन पत्राचार गरिएकामा आइतबार बिहान ११ बजेसम्म निज प्रतिवादीको हस्ताक्षर नभएको भन्ने व्यहोरा उल्लेख भएको देखिँदा निज प्रतिवादीहरूले यस अदालतबाट पेसीको जानकारी गराइएको पत्र बुझ्न इन्कार गरेको कारण सो हस्ताक्षर नभएको हो वा अन्य के व्यहोराबाट हस्ताक्षर नभएको हो ? सोही व्यहोराको प्रतिवेदनसहितको जानकारी गराउनु र पेसीको जानकारी निज प्रतिवादीले बुझेको भए भर्पाइ पठाइदिनू भनी कारागार कार्यालय, रूपन्देहीमा लेखी पठाई प्राप्त भएपछि मिसिल सामेल राख्नू,’ आदेशमा भनिएको छ । अभियोगपत्रसहितको सक्कल मिसिल कास्की जिल्ला अदालतबाट झिकाउन पनि आदेश भएको अदालतका उपरजिस्ट्रार एवं सूचना अधिकारी नीलप्रसाद पनेरूले बताए ।

मुद्दामाथि गत बिहीबार पेसी चढेर सुनुवाइ सुरु भएको थियो । तर, पेसीबारे लामिछाने र जोशीलाई अदालतले जानकारी दिएकोे थिएन । त्यसपछि पेसी रोक्न उनीहरूका कानुन व्यवसायीले निवेदन दिएका थिए । त्यसको पनि सुनुवाइ नगरी इजलासले सुनुवाइ अघि बढाएको थियो । बिहीबार सुनुवाइ नसकिएपछि हेर्दाहेर्दैमा राखिएकामा शुक्रबार पुनः सुनुवाइ भएको थियो ।

शुक्रबारसमेत लामिछाने र जोशी पक्षका कानुन व्यवसायीले प्रतिवादीलाई जानकारी नदिई सुनुवाइ अघि बढाएकामा विरोध गरेका थिए । त्यसपछि अदालतले सुनुवाइ भइरहेकोबारे जानकारी छिटो माध्यमबाट कारागार पठाउन आदेश दिएको थियो । सोही आदेशपछि रूपन्देही कारागारबाट आइतबार लामिछाने र जोशीको हस्ताक्षर नभएको जानकारी इजलासलाई गराइएको थियो । त्यसपछि इजलासले कारागारमा पत्र पठाउन आइतबारै आदेश गरेको थियो ।