१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ ४ आइतबार
  • Sunday, 18 May, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८२ जेठ ४ आइतबार o७:४४:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

कांग्रेस संसदीय दल बैठकमा​​​​​​​ सांसदहरूको रुवाबासी

लेखा समिति सभापति पोखरेलकी पत्नी सेटिङमा छुटेको आशंका

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८२ जेठ ४ आइतबार o७:४४:oo

कांग्रेस संसदीय दल बैठकमा सांसदहरूको रुवाबासी चलेको छ । सांसदहरूले रुँदै राज्यबाट अन्याय भएको गुनासो सभापति शेरबहादुर देउवालाई सुनाएका छन् । साथै, उनीहरूले लेखा समिति सभापति ऋषिकेश पोखरेलकी पत्नी अञ्जला सेटिङमा छुटेको आशंका गरेका छन् । 

कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगीमा मुद्दामा धरौटीमा रिहा भएकी माया राई आफूमाथि अन्याय भएको भन्दै बैठकमा रोएकी थिइन् । ‘ममाथि अन्याय भयो । मेरो कुनै संलग्नता छैन,’ उनले भनेकी थिइन्, ‘अरूले सदस्य बनाइदिएको हो । बैठकमा मात्रै गएको हो । कहीँकतै देखियो वा सही गरेको फेला पार्नुभयो भने कारबाही गर्नुस् ।’ सहकारीको मुद्दाबारे लामो स्पष्टीकरण दिएकी राईले आफू हिरासतमा पर्दा पार्टीले सहयोग नगरेको दुखेसो पोखेकी थिइन् । 

लेखा समिति सभापति पोखरेलकी पत्नी अञ्जलालाई घरबाट अदालत उपस्थित गराएर त्यही दिन धरौटीमा रिहा गरेकोमा सांसदहरूले प्रश्न उठाएका थिए । ‘एकैदिनमा बिहान लगेर ऋषिकेशको श्रीमतीलाई १० लाखमा छोड्ने, अनि अरूलाई थुन्ने, यो के हो ? एमालेको सेटिङ हो कि ? हाम्रो सांसदलाई यत्रो दिन किन राखियो ?’ बैठकमा प्रश्न उठेको थियो । 

शंकर भण्डारीले राईलाई १७ दिन हिरासत राख्दा ऋषिकेशपत्नीलाई एक घण्टामै १० लाखमा छोडेकोप्रति प्रश्न उठाउँदै कांग्रेस कहाँ छ भनेर प्रश्न गरे । ‘साथीका आँसुहरू सामान्य छैनन् । सबै नेताहरूलाई भन्न चाहन्छु– आफूलाई पर्दा पीडा, अरूलाई पर्दा होइन भन्नेजस्तो तपाईं–हाम्रो सोच त होइन ? साथीहरू अन्यायमा परेका छन्, रोइरहेका छन्, धेरै पीडादायी छ । यसमा सभापति गम्भीर बन्नुस्, साथीका आँसु र पीडा हेरिरहने स्वीकार्य हुँदैन,’ उनले भने । 

राजेन्द्र बजगाईंले कांग्रेसका शत्रुहरू बाहिर होइनन् जिल्लादेखि केन्द्रसम्म पार्टीभित्रै रहेको टिप्पणी गरे । ‘पार्टीभित्रका साथीहरूलाई नै समाप्त पार्ने प्रयास भइरहेको छ,’ उनले भने, ‘पार्टी एकता खुम्चिएको छ । गम्भीर आत्मसमीक्षा जरुरी छ ।’ 

मञ्जु खाणले पनि नेताहरूविरुद्ध राज्यशक्ति लागेर फसाउँदा पार्टी मूकदर्शक बनेको भन्दै दुखेसो पोखेकी थिइन् । आफ्ना पति बालकृष्ण खाणलाई दिइएको दुःख सम्झेर मञ्जु बैठकमा भावुक भइन् । ‘मलाई पनि त्यस्तै गरियो । तनाव दिइयो । मेरो नाममा पनि आएको थियो,’ उनले भनिन् । 

बैठकमा हालै टेरामक्स प्रकरणमा अनियमितता गरेको भनेर मुद्दा दायर गरिएका सांसद मोहन बस्नेतको विषय पनि उठेको थियो । सभापति देउवाले ‘नआत्तिनुस् । कानुनलाई मान्नुपर्छ, कानुनी प्रक्रियाअनुसार हुन्छ’ भनेका थिए । 

मोहन बस्नेत र माया राई पक्राउबारे देउवालाई उद्धृत गर्दै प्रमुख सचेतक श्याम घिमिरले भने, ‘उहाँहरूको कुरा पनि कतिपय सांसदहरूले उठाउनुभो । सभापतिले जवाफ दिनुभो । राजनीतिमा यस्तै हुन्छ, हामी पनि जेल बसेर आएका हौँ भन्ने कुरा राख्नुभो । यसलाई ठुलो अर्थमा राजनीतिमा लिनुहुँदैन भन्दै सम्झाउनुभो ।’