१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख २३ मंगलबार
  • Tuesday, 06 May, 2025
गौरादह– ५ मा जग्गा दर्ताका लागि आएका जग्गाधनी ।
२o८२ बैशाख २३ मंगलबार o८:३२:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

महारानीझोडामा जग्गा धनीपुर्जा वितरण सुस्त 

करिब आठ हजार धनीपुर्जा वितरण गर्नुपर्ने, तर म्याद थपिँदासम्म १८० वटा मात्रै वितरण

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८२ बैशाख २३ मंगलबार o८:३२:oo

झापाको गौरादह नगरपालिका वडा नम्बर ४ र ५ (साबिकको महारानीझोडा)का चार हजार घरधुरीका करिब आठ हजार कित्ता जग्गाको नापी प्रमाणित हुन सकेको छैन । विगतदेखि बनेका विभिन्न आयोगले स्थानीयको धनीपुर्जामाथि थप धनीपुर्जा दिने काम गर्‍यो । तर, धनीपुर्जा चलेन । यो विषय पटक–पटक चुनावी मुद्दा पनि बन्यो । तर, त्यहाँका नागरिकको सास्ती उस्तै रह्यो । विगतमा पाएका धनीपुर्जा काम नलाग्ने कागजका चिर्कटोझैँ छन् । त्यहाँका स्थानीयले त्यो धनीपुर्जाबाट न कित्ताकाट गर्न पाउँछन्, न धितो राखेर ऋण लिन पाउँछन् । जग्गामा सिमाना विवाद आयो भने समाधानको कुनै उपाय छैन । किनकि जग्गाको नक्सा छैन । 

झापा ५ बाट निर्वाचित एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री बनेपछि २४ साउन ०८१ मा यहाँको जग्गासम्बन्धी समस्या समाधान गर्न सरकारले गठन आदेशमार्फत समिति बनाएको छ । आदेशअनुसार विशेष नापी कार्यालय दमकका प्रमुखको दिलीपकुमार सिंहको अध्यक्षतामा ६ सदस्यीय समिति गठन भएको छ  । यो समितिलाई सुरुमा ६ महिनाभित्र धनीपुर्जा वितरण गरिसक्ने कार्यादेश दिइएको थियो । तर, त्यो ६ महिनामा कामले गति लिन नसकेपछि थप ६ महिना म्याद थपिएको छ । थपिएको म्यादमा पनि काम भने सुस्त छ । 

गौरादह वडा नम्बर ४ र ५ मा करिब चार हजार घरपरिवारको आठ हजार कित्ताको धनीपुर्जा वितरण गरेर उनीहरूको नक्सा प्रमाणित गर्नुपर्नेछ । तर, यो अवधिमा १८० वटा मात्र धनीपुर्जा वितरण गर्न सकिएको समितिका अध्यक्षसमेत रहेका विशेष नापी कार्यालय दमकका निमित्त प्रमुख दिलीपकुमार सिंहले बताए । गत मंसिरमा प्रधानमन्त्री ओलीले केही धनीपुर्जा वितरण गरेका थिए भने केही धनीपुर्जा गौरादह नगर प्रमुख छत्रपति सुवेदीले बाँडेका थिए । त्यसपछि भने अहिलेसम्म धनीपुर्जा वितरण हुनसकेको छैन । ‘पहिलो ६ महिनामा काम नसकिएपछि थप ६ महिना थपिएको छ । हालसम्म हामीले १८० वटा धनीपुर्जा वितरण गर्‍यौँ । योसहित ५६६ वटा धनीपुर्जा तयारी अवस्थामा छ,’ उनले भने, ‘हामीले करिब आठ हजार कित्ताको धनीपुर्जा वितरण गर्नुपर्नेछ । हामीलाई शतप्रतिशत काम गर्न आदेश छ, त्यहीअनुसार गरिरहेका छौँ । तर, खासै अघि बढेको छैन ।’

समितिले गौरादह– ५ को वडा कार्यालयमा कार्यालय खडा गरेर जग्गा दर्ताको काम गरिरहेको छ । यद्यपि, जग्गाधनीको सहभागिता कम हुँदा काम अपेक्षाकृत हुन नसकेको उनी बताउँछन् । ‘हामी काम त गरिरहेका छौँ । तर, काम अलिकति कमै छ । जग्गाधनी नै नआएपछि हामीले कसरी गर्ने,’ उनले भने, ‘जग्गा घटीबढी देखिएमा काम गराउन मान्दैनन् । हामीले जानकारी सबैलाई गराएका छौँ ।’

समितिले ०३४ को महारानीझोडा जग्गा दर्ता समितिको नक्सालाई आधार बनेर जग्गा दर्ताको निर्णय गरिरहेको अध्यक्ष सिंहले बताए । उनका अनुसार यसपटक धनीपूर्जा प्राप्त गर्ने जग्गाधनीको धनीपुर्जा भने चल्नेछ । समितिको म्याद सकिएपछि मालपोत र नापीमा बुझाउने उनले बताए । ‘हामीले समय अवधिमा कति काम सकिन्छ । त्यसअनुसार मालपोतमा पुर्जा र स्रेस्ता, नापीमा फिल्डबुक र नक्सा बुझाउँछौँ,’ उनले भने, ‘त्यसपछि बाँकी रहेको काम त्यतैबाट हुन्छ । नयाँ दर्ता गराएर जग्गाधनी प्रमाण पुर्जा लिनेको नक्सा र धनीपुर्जा त्यहीवेलादेखि चल्न थाल्छ ।’

गौरादह नगरप्रमुख छत्रपति सुवेदीले यसपटक भने महारानीझोडाको लामो समयदेखिको समस्या समाधान हुनेमा यहाँका स्थानीय ढुक्क रहेको बताए । ‘समितिले प्रक्रियाअनुसार काम गर्दै छ । अब थपिएको समयमा काम सक्छ भन्ने हाम्रो अपेक्षा हो,’ उनले भने, ‘जग्गाधनी पुर्जा कम वितरण भए पनि काम भने धेरै भएको छ । दर्ता गर्ने निर्णयचाहिँ कति भयो भन्ने हेर्नुपर्छ ।’ नयाँ धनीपुर्जा वितरण गर्न काम अघि बढेपछि आशावादी बनेको गौरादह– ५ का स्थानीय गोविन्द कठायतले बताए ।