१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख २३ मंगलबार
  • Tuesday, 06 May, 2025
म्याक्सवेल गोमेरा
२o८२ बैशाख २३ मंगलबार १o:१८:oo
Read Time : > 3 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

वैदेशिक निर्भरताबाट बाहिर निस्कनुपर्छ अफ्रिका

Read Time : > 3 मिनेट
म्याक्सवेल गोमेरा
नयाँ पत्रिका
२o८२ बैशाख २३ मंगलबार १o:१८:oo
  • विश्वको सबैभन्दा ठुलो खनिज भण्डार भएको क्षेत्र हो अफ्रिका महादेश यसका बाबजुद हामी सहायता निर्भरताको चक्रमा फसेका छौँ । यो प्रवृत्ति परिवर्तन गर्न ढिलो भइसक्यो ।

विदेशी सहायता निलम्बन गर्ने र ‘युएसएआइडी’ नामक एजेन्सी बन्द गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्णयले सहायता व्यवसायलाई झट्का दिएको छ । सन् २०२४ मा अमेरिकाले गरेको ४१ अर्ब डलरको वैदेशिक सहायतामध्ये झन्डै एकतिहाइ भाग अफ्रिका गएको थियो । अफ्रिकालाई दिइएको सहयोग रकम स्वास्थ्य सेवादेखि शिक्षा र सरसफाइसम्मका विविध शीर्षकमा छुट्याइएका थिए ।

अहिले अमेरिकी सहायता रोकिएपछि सहायता संस्था र सरकारी अधिकारीहरूले निलम्बित कार्यक्रमलाई लिएर चिन्ता व्यक्त गर्दा हामी बृहत्तर परिदृश्य बिर्सिरहेका छौँ । त्यो के भने, विदेशी सहायतामाथि अफ्रिकाको चर्को निर्भरता एक विकल्प मात्र हो, आवश्यकता होइन । हाम्रो महादेश विश्वको सबैभन्दा ठुलो खनिज भण्डार भएको क्षेत्र हो, तर यसका बाबजुद हामी सहायता निर्भरताको चक्रमा फसेका छौँ । यस प्रवृत्तिलाई परिवर्तन गर्न ढिलो भइसक्यो ।

पहिले अफ्रिकाको स्रोत भण्डारणको चर्चा गरौँ । विश्वमा आपूर्ति हुने कोबाल्टको ७० प्रतिशत हिस्सा लोकतान्त्रिक गणतन्त्र कंगोबाट आउँछ । कोबाल्ट विद्युतीय सवारीसाधन, मोबाइल, ल्यापटपलगायत विद्युतीय सामग्रीमा प्रयोग हुने ब्याट्रीको अत्यावश्यक तत्व हो । विश्वका ७५ प्रतिशत प्लाटिनम र ५० प्रतिशत प्यालेडियम दक्षिण अफ्रिकाले उत्पादन गर्छ । विश्वका सबैभन्दा ठुलो ग्रेफाइट भण्डारण मोजाम्बिक र मेडागास्करमा छन् । जिम्बाब्वेमा सिजियमको सबैभन्दा ठुलो भण्डार छ, जुन जिपिए र फाइभ–जी प्रणालीमा प्रयोग हुने महत्वपूर्ण धातु हो । उल्लेखित खनिज चट्टान र धातु मात्र होइन, यी विश्वभर स्वच्छ ऊर्जा संक्रमणको मुख्य द्वार हुन् । अहिले प्रयोग भइरहेका प्रत्येक विद्युतीय सवारीसाधन, सौर्य प्यानल, र हावाबाट विद्युत् उत्पादन गर्ने टर्बाइन अफ्रिकी खनिजले सञ्चालित छन् । तैपनि आर्थिक रूपमा अफ्रिका निकै कमजोर छ । अधिकांश अफ्रिकी मुलुक औपनिवेशिक युगका अधीनस्थ राज्यजस्तै कच्चा पदार्थ निर्यात गर्ने र अफ्रिकी स्रोतसाधनबाट नाफा कमाउने देशबाट सानोतिनो आर्थिक सहयोगका लागि याचना गरिरहेका छन् ।

तथ्य साह्रै दुःख लाग्ने र रिस उठ्ने खालको छ । अफ्रिकाले कच्चा कोबाल्ट प्रतिकिलोग्राम (केजी) २६–३० डलरमा बेच्छ । जबकि तिनलाई प्रशोधन गरेर ब्याट्रीमा प्रयोग हुने अवस्था बन्दासम्म तिनको मूल्य १५०–२०० डलर पुगिसकेको हुन्छ । अर्थात्, विदेशी प्रशोधक र निर्माताले करिब–करिब दश गुणासम्म बढी मुनाफा लिइरहेका छन् । यो एक खराब व्यवसाय मात्र होइन, आर्थिक कुप्रथा नै हो ।

सन् २०३० सम्ममा विश्वको ब्याट्री बजार मात्र २५० अर्ब डलरको हुनेछ । नवीकरणीय ऊर्जा क्षेत्रको तीव्र गतिमा विकास भइरहेको छ । सौर्य उपकरण मात्र वार्षिक २६ प्रतिशतले बढ्दै छन् । स्पष्ट रूपमा, अफ्रिकाको खनिज स्रोत हाम्रो पुस्ताको सबैभन्दा ठुलो आर्थिक अवसरको रूपमा उदाउँदै छ । तर, हामी यस अवसर छोप्न केन्द्रित हुनुको सट्टा निलम्बित सहायता कार्यक्रमले निम्त्याएका आर्थिक खाडल कसरी पुर्ने भन्ने बहसमा लागेका छौँ ।

भन्न त आलोचकहरू भन्छन्, हामीसँग यी खनिज आफैँ प्रशोधन गर्न पूर्वाधार, विशेषज्ञता र पुँजीको अभाव छ । हाम्रा स्रोत लगानी गर्न राजनीतिक इच्छाशक्ति केन्द्रित गर्नुपर्छ । चिनियाँहरूले यो कुरा दशकौँअघि बुझेका थिए । त्यसैले उनीहरूले अफ्रिकाभरि महत्वपूर्ण खनिज आपूर्ति शृंखलाको नियन्त्रण सुरक्षित गर्न लगभग ५८ अर्ब डलर खन्याएका छन् । हामी सहायता आवेदन फाराम भर्न व्यस्त हुँदा उनीहरूले भविष्य देखे ।

समाधान जटिल छैन, यद्यपि यो चुनौतीपूर्ण छ । अफ्रिकाले उत्खनन क्षेत्र मात्र होइन प्रशोधन केन्द्र पनि निर्माण गर्न आवश्यक छ । हामीले निर्यात टर्मिनल मात्र होइन, कच्चा खनिजको मूल्य अभिवृद्धि गर्न केन्द्रित विशेष आर्थिक क्षेत्र स्थापना गर्न आवश्यक छ । हामीले त्यस्ता अनुसन्धान र विकास प्रणालीमा लगानी गर्न आवश्यक छ, जसले प्रशोधन प्रविधिलाई अनुकूलन र सुधार गर्न सक्छ । सबैभन्दा महत्वपूर्ण कुरा, हामीले क्षेत्रीय रूपमा सोच्न र काम गर्न आवश्यक छ ।

‘ब्याट्रीजन्य सामग्रीको पहलका लागि दक्षिण अफ्रिकी विकास समुदाय’को कल्पना गरौँ न, जहाँ त्यस भेगका देशहरूले एकीकृत मूल्य शृंखला निर्माण गर्न स्रोत र विशेषज्ञता एकीकृत गरून् । त्यस्तै, ‘दुर्लभ धातुका लागि पूर्वी अफ्रिकी सहयोग संरचना’को कल्पना गरौँ, जसले हाम्रो खनिज सम्पत्तिलाई उच्च प्रविधि उत्पादन क्षमतामा परिणत गरोस् । यी सपना मत्र होइनन्– यी खासमा हामीले कार्यान्वयनमा लगिसक्नुपर्ने हरेक दिन गुमाएका अवसर हुन् । वातावरणीय आलोचक खनिज उत्खननलाई फोहोर र विनाशकारी क्षेत्र मान्छन् । 

यस जोखिमबारेमा उनीहरू गलत छैनन्, तर तिनले पेस गर्ने समाधान भने गलत छन् । समाधान हाम्रा खनिज उत्खनन नगरी जमिनभित्र प्रयोगहीन छोडिदिनु होइन : बरु यसको दिगो निकासी र प्रशोधनका लागि आफ्नै उच्च मापदण्ड तय गर्नु हो । हामीले प्रयास गर्‍यौँ भने हाम्रो वातावरणको रक्षा गर्ने र हाम्रा समुदायहरूलाई फाइदा पुर्‍याउने खानी र प्रशोधन उद्योग निर्माण गर्न सक्छौँ । हामीले गर्नुपर्छ । किनभने यसको विकल्प विदेशी कम्पनीले मनोमानी ढंगले त्यही काम गरेको हामी चुपचाप परिणाम भोग्दै व्यहोर्नु हो ।

सहायता निलम्बनले अफ्रिकामा कैयौँ गम्भीर मानव पीडा सिर्जना गरेको तथ्य यथार्थ हो । एचआइभी उपचार कार्यक्रमहरू, कैयौँ शैक्षिक पहल र खाद्य सुरक्षा परियोजना सबै जोखिममा छन् । तर, यी साँच्चै आवश्यक कार्यक्रमको कार्यान्वयन र वित्तपोषण गर्न हामी किन विदेशी सरकारको लहडमा भरपर्नु पर्ने ? हामीले खनिजको राम्रो उपभोग गर्न सक्यौँ भने त्यसबाट हुने आयले यी कार्यक्रम मात्र होइन, अरू पनि धेरै कार्यक्रम सहजै सञ्चालन गर्न सक्छौँ । त्यसका लागि हामीले खनिजको मूल्य शृंखलामा कब्जा गर्नुपर्छ । यसमा हामी अफ्रिकीहरूलाई अहिले आवश्यक छ भने मुख्यतः राजनीतिक साहस र उद्देश्यको खाँचो छ ।

अफ्रिकालाई आगामी चुनावभन्दा पर हेर्न सक्ने र आफ्नो विकासलाई आफैँले वित्तपोषण गर्ने अफ्रिकाको कल्पना गर्न सक्ने नेता चाहिएको छ । हामीलाई निर्यात टर्मिनलको सट्टा प्रशोधन संयन्त्र निर्माण गर्न सक्ने व्यापारिक नेता चाहिएको छ । दानमा चल्ने प्रशासक होइन, रासायनिक इन्जिनियर र धातुविद् उत्पादन गर्न सक्ने शैक्षिक संस्था चाहिएको छ । अमेरिकाले सहायता रोकेपछि उब्जिएको संकटले हामीलाई रूपान्तरणका लागि उत्प्रेरित गर्नुपर्छ । प्रत्येक निलम्बित सहायता डलरले हामीलाई हाम्रा खनिजहरूको दस गुणा मूल्य कब्जा गर्न प्रेरित गर्नुपर्छ । प्रत्येक कूटनीतिक अपमानले अफ्रिकी समाधान निर्माण गर्ने हाम्रो संकल्पलाई थप सबल बनाउनुपर्छ ।

छनोट स्पष्ट छ, आगामी दशकमा पनि सहायता बजेटमा मोलमोलाइ गरेर बिताउने कि खनिज सम्पत्तिको रणनीतिक विकासमा ध्यान दिएर हाम्रो भाग्य आफ्नै हातमा लिने ? अफ्रिकाले आफूसँग रहेको कच्चा पदार्थको विशाल भण्डारलाई उत्पादनशक्ति बन्न प्रयोग गर्ने समय आएको छ । हामीले आफ्नो खनिज सम्पत्तिलाई स्थायी समृद्धिमा परिणत गर्नु पर्छ । 

गोमेरा संयुक्त राष्ट्र संघका लागि दक्षिण अफ्रिकाका आवासीय प्रतिनिधि हुन् । उनी अफ्रिकामा खनिज कार्यक्रम पनि चलाउँछन् ।

– अल जजिराबाट