
पूर्व–पश्चिम राजमार्गको बुटवल–नारायणगढ सडकखण्डको दाउन्नेमा आज बिहानदेखि सडक अवरुद्ध भएको छ। जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार आज परेको पानीले बाटो चिप्लो हुँदा बिहान ९:१५ बाट सडक अवरुद्ध हुन पुगेको हो। विनयी त्रिवेणी गाउँपालिका– २ विश्वकर्मा मन्दिरमाथि र पैँसठ्ठी मोडमा बाटो चिप्लो र हिलो भएको छ ।
यसअघि आइतबार पनि पानी परेका कारण दिनभर सडक अवरुद्ध भएको थियो। दाउन्नेको १४ किलोमिटर सडकमा अहिले राति ११ बजेदेखि बिहान ५ बजेसम्म दैनिक सवारी आवागमन बन्द गरेर बाटो निर्माणको काम भइरहेको छ। उक्त स्थानमा डाँडा काट्ने, कल्भर्टहरू निर्माण गर्ने, बाटो ढलान र पिच गर्ने काम भइरहेको सडक विस्तारको जिम्मा पाएको चाइना स्टेट कम्पनीले जनाएको छ।