
सिन्धुपाल्चोकको विकट बस्ती तिलुमाराङ, झुल्के र तेम्बाथाङमा धेरै बालबालिका विद्यालयको पहुँचबाहिर रहेको फेला परेपछि जुगल सरकारले खोज अभियान सुरु गरेको छ । जुगल गाउँपालिका– २ स्थित जंगलभित्रको विकट गाउँ तिलुमाराङको दुःखदायी जीवनको कथा सुनाएर साध्य नै छैन । २० घरपरिवार रहेको यहाँ जंगलभित्र १३ रोपनी पाखो जमिन छ । आलु र कोदोबाहेक केही फल्दैन । यो बस्तीका मानिस अन्य गाउँबाट हरेक हिसाबले अलग्गिएका छन् । त्यहाँबाट तामाङको एउटा घनाबस्ती सञ्चगाउँ आइपुग्न जंगलैजंगल चार घण्टा हिँड्नुपर्छ । बाघभालुको भयले बालबालिका र महिला सञ्चगाउँसम्म आउन सक्दैनन् । सञ्चगाउँ पनि विकट बस्ती नै हो । तर, गाउँ ठुलो भएकाले एउटा आधारभूत तहको विद्यालय छ ।
स्थानीय निर्वाचनमा विजयी भएलगत्तै गाउँपालिका अध्यक्ष रेशम स्याङ्बोले तिलुमाराङका दुःख बुझ्ने प्रयत्न गरे । त्यहाँको दैनिकी सुनेर उनको मनमा बस्ती नै सार्नुपर्छ भन्ने लाग्यो । यद्यपि, गाउँ नै स्थानान्तरण गर्न अर्काे जमिन चाहिन्छ । सबै नयाँ सिर्जना गर्नुपर्छ । चनौटेमा रहेको गाउँपालिका भवनबाट दिनभर हिँडेर झुल्के पुगेका अध्यक्ष स्याङ्बोको टोली एकरात सञ्चगाउँ बस्यो र विकट बस्तीको दिनचर्यालाई नजिकबाट नियाल्यो । ‘आलु उसिनेर नुनखुर्सानीसँग कोदोको ढिँडो खायौँ अनि उनीहरूको दैनिकीबारे सोध्यौँ,’ विकट तामाङगाउँमा कतिपयले नेपाली भाषासमेत नबुझेको बताउँदै स्याङ्बोले भने, ‘धेरै बालबालिका विद्यालयको पहुँचबाट टाढा रहेछन् । जंगलको बाटो बाघभालुको डरले बालबालिका सञ्चगाउँ नआउने रहेछन् ।’
पालिका फर्केपछि अध्यक्ष स्याङ्बोले तिलुमाराङका बालबालिकालाई चनौटेस्थित रत्नराज्य माध्यमिक विद्यालयमा ल्याएर पढाउने निर्णय लिए । अहिले त्यस गाउँका १७ बालबालिका चनौटेमा पढ्छन् । सबै खर्च पालिकाले व्यहोर्छ । यद्यपि, दुःखको कुरा उनीहरू परिवारबाट टाढा भएका छन् । घरायसी समस्याले तिनका अभिभावक चनौटे पुग्दैनन् । वर्षमा एकपटक भेट्ने व्यवस्था मिलाइएको छ । ‘उनीहरूलाई सक्षम बनाएर रोजगारसमेत दिलाउँछु,’ स्याङ्बाले भने, ‘जंगली जीवनबाट तिलुमाराङवासीलाई स्थानान्तरण गरेरै छोड्छु ।’ अहिले पनि केही बालबालिका गाउँमै रहेका छन् । तिनका लागि पढाउन एक शिक्षकलाई तिलुमाराङ पठाइएको छ । ‘इसिडी कक्षा पूरा भएपछि उनीहरूलाई पनि चनौटे ल्याउँछु,’ उनले भने ।
सञ्चगाउँ र तिलुमाराङको बिचमा रहेको झुल्के गाउँमा २१ बालबालिका विद्यालयको पहुँचबाहिर रहेका छन् । उनीहरूलाई कसरी विद्यालय पुर्याउने भन्ने चिन्ता थपिएको छ । झुल्के तामाङबस्ती पुगेको पालिका टोलीले २१ बालबालिकालाई पढाउने इसिडी कक्षा गाउँमै सुरुवात गर्ने योजना बनाएको छ । बर्खापछि गाउँमा सानो टहरो बनाएर बच्चाहरूलाई शिक्षा दिने योजना रहेको उनले बताए । भौगोलिक विकटता, गरिबी र चेतनाको अभावले धेरै बालबालिका विद्यालयबाहिर रहेको उनले प्रस्ट्याए । झुल्केबाट सञ्चगाउँस्थित घ्युलदेवी आधारभूत विद्यालय पुग्न एक घण्टा लाग्छ । तर, पहिरोको डरले बालबालिकालाई अभिभावकले विद्यालय पठाउँदैनन् ।
यता हिमाली गाउँ तेम्बाथाङमा पनि धेरै बालबालिका विद्यालय पुग्दैनन् । कति बालबालिका विद्यालयबाहिर छन् भनेर खोज अभियान चलाइएको छ । तेम्बाथाङका अधिकांश बालबालिका ६ महिना मात्र विद्यालय जाने गरेका छन् । जीवनयापनका लागि अभिभावक ६ महिना हिमाली खर्कमा भेडा र चौँरी चरनमा जाने भएकोले अधिकांश बालबालिका चौँरीगोठ पुग्छन् । पूरा वर्ष विद्यालय जाने वातावरण मिलाउन अध्यक्ष स्याङ्बोले तेम्बाथाङ विद्यालयमा छात्रावास स्थापना गरेका छन् । त्यहाँ बसेर पढ्ने बालबालिकालाई वार्षिक पाँच लाख छुट्याइएको छ । अहिले छात्रावासमा २७ बालबालिका छन् । माथिल्लो कक्षामा पढ्नेलाई रत्नराज्य मावि चनौटेको होस्टेलमा राखिएको छ । अध्यक्ष स्याङ्बोले विकट क्षेत्रमा रहेका बालबालिकालाई शिक्षा प्रदान गर्न थप लगानी र योजना आवश्यक रहेकोाले प्रदेश र संघीय सरकारले ध्यान दिन आग्रह गरे ।
जिल्लाका कतिपय विकट गाउँमा १० देखि १५ वर्ष उमेरका बालबालिका विद्यालयको पहुँच बाहिरै छन् । तर, जिल्ला शिक्षा कार्यालयले दशकअघि सिन्धुपाल्चोकलाई पूर्ण साक्षर जिल्ला घोषणा गरिसकेको छ ।