१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख १९ शुक्रबार
  • Friday, 02 May, 2025
बेलेन फर्नान्डेज
२o८२ बैशाख १९ शुक्रबार १o:३१:oo
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

नेपाम गर्लदेखि महमुदसम्मका तस्बिरको मूल्य

Read Time : > 2 मिनेट
बेलेन फर्नान्डेज
नयाँ पत्रिका
२o८२ बैशाख १९ शुक्रबार १o:३१:oo

हाम्रा तस्बिरले यी सबै त्रासदी र भयावहता रोक्न सक्दैनन् भने तिनको मूल्य के हो ?

केही दिनअघि प्यालेस्टिनी फोटोपत्रकार समर अबु एलउफले न्युयोर्क टाइम्सका लागि खिचेको तस्बिरका लागि सन् २०२५ को वल्र्ड प्रेस फोटो अफ दि इयर (उत्कृष्ट पत्रकारिता फोटो) पुरस्कार जितेकी छिन् । ‘महमुद अज्जुर, उमेर नौ वर्ष’ शीर्षकको तस्बिरमा दुवै हात गुमाएका अज्जुरको अनुहार र शरीरको माथिल्लो भागमा आंशिक अँध्यारो छ । शून्यता मडारिएको छविमा अज्जुरको हेराइ निकै गम्भीर देखिन्छ ।

सन् २०२३ अक्टोबरदेखि इजरायली आक्रमणमा परी अहिलेसम्म ५२ हजारभन्दा बढी प्यालेस्टिनीको मृत्यु भइसकेको छ । अल जजिरासँगको कुराकानीमा अज्जुरले आमाबाट आफ्नो हात गुमाएको खबर सुनेपछि रोएको र मानसिक अवस्था निकै खराब भएको बताए । इजरायली नाकाबन्दीका कारण आवश्यक औषधि र सामग्री नपाएर उनलाई बेहोस नपारी शल्यक्रिया गराउनुपरेको थियो । ‘म असह्य पीडामा चिच्याइरहेको थिएँ, मेरो आवाज पूरै अस्पतालभरि गुञ्जिएको थियो’ उनले भने । होसमा आएपछि उनको आमालाई सबैभन्दा पहिलो प्रश्न थियो– ‘म अब तपाईंलाई कसरी अँगालो मार्न सक्छु ?’ समर अबु एलउफले खिचेको नौ वर्षीय महमुद अज्जुरको तस्बिरले अमेरिकाको पूर्ण समर्थनमा इजरायलले गाजाका बालबालिकामाथि मच्चाइरहेको विनाशको मर्मस्पर्शी झल्को दिन्छ । सन् २०२३ को डिसेम्बर मध्यसम्म अर्थात् युद्ध सुरु भएको मात्र दुई महिनामा युनिसेफले करिब एक हजार बालबालिकाले एउटा वा दुवै खुट्टा गुमाइसकेको जनाएको थियो । सन् २०२५ को अप्रिलसम्म आइपुग्दा राष्ट्रसंघले गाजामा दैनिक रूपमा कम्तीमा सय बालबालिका मारिँदै छन् वा घाइते भइरहेका छन् भनेर चेतावनी दिएको छ । 

यो अनन्त देखिने नरसंहार अभियानबिच हामीले ३० अप्रिल अर्थात् भियतनाम युद्ध अन्त्यको ५०औँ वर्षगाँठलाई सम्झिन आवश्यक छ । किनभने, यो युद्ध अर्को त्यस्तो नरसंहार थियो, जहाँ अमेरिकाले निर्णायक भूमिका खेलेको थियो । त्यतिखेर पनि एक नौ वर्षीया बालिका किम फुक युद्धको प्रतीक बनेकी थिइन् । फुक सन् १९७२ मा दक्षिण भियतनामको ट्राङ बाङ गाउँनजिकै अमेरिकाद्वारा आपूर्ति गरिएको नेपाम बम आक्रमणको सिकार बनेकी थिइन् । एसोसिएटेड प्रेसका भियतनामी फोटोग्राफर निक युटले खिचेको तस्बिरमा फुक नांगै दौडिरहेकी छन्, उनको शरीर जलिरहेको छ र अनुहारमा प्रलयजस्तो पीडा झल्किरहेको छ । द टेरर अफ वार नाम दिइएको उक्त तस्बिरलाई धेरैले ‘नेपाम गर्ल’ भनेर पनि चिन्छन् । त्यसले सन् १९७३ को वल्र्ड प्रेस फोटो अफ दि इयर पुरस्कार जितेको थियो ।
सन् २०२२ मा सो प्रसिद्ध तस्बिरको ५०औँ वार्षिकोत्सवका अवसरमा सिएनएनसँगको अन्तर्वार्तामा फुकले आक्रमणको क्षण सम्झिँदै ‘अचानक सबैतिर आगो लाग्यो र मेरो लुगा आगोले जलेर सकियो । मलाई अझै याद छ मैले ‘हे भगवान, म जलेँ, म कुरूप हुन्छु र मानिसले मलाई फरक ढंगले हेर्नेछन् भनेर सोचेकोसोच्यै थिएँ’ भनिन् । वास्तवमा न्यूनतम सभ्यता भएको यो विश्वमा कुनै पनि बालबालिका र वयस्कले पनि शारीरिक वा मानसिक रूपमा यस्तो पीडा सहनुपर्दैन ।

१४ महिना अस्पतालमा बिताएपछि पनि फुकले चरम पीडा, आत्महत्याको विचार र आफूलाई नांगो र जलेको अवस्थामा विश्वले देखेको भन्ने लाजसँग निरन्तर संघर्ष गरिरहेकी थिइन् । तर, नेपाम त अमेरिकाले प्रयोग गरेका ती सबैमध्ये त्यस्तो हतियार थियो, जसलाई पुँजीवादलाई पोस्न मान्छेको शरीरलाई जलाउने र विकृत पार्ने काममा प्रयोग गरिएको थियो । आजसम्म युद्धका क्रममा अमेरिकाले खसालेका लाखौँ टन विस्फोटक पदार्थले भियतनामीको ज्यान लिइरहेको वा घाइते बनाइरहेको छ । त्यसैगरी, अमेरिकाले ‘एजेन्ट ओरेन्ज’ नामक घातक रसायनलाई भियतनामका वनस्पति र भूमि नष्ट पार्न प्रयोग गरेको थियो, त्यो युद्ध सकिएको ५० वर्ष नाघिसक्दा पनि विकराल जन्मदोष वा अपांगता र मृत्युको कारण बनिरहेको छ ।

सन् १९७७ मा प्रकाशित आफ्नो किताब अन फोटोग्राफीमा दिवंगत अमेरिकी लेखिका सुसान सोंटागले निक युटको तस्बिरजस्ता छविका भूमिकाबारे ‘१९७२ मा विश्वका अधिकांश पत्रिकाको पहिलो पानामा अमेरिकी नेपाम आक्रमणबाट जलेकी एक नग्न भियतनामी बालिका, हात फैलाएर, पीडामा चिच्याउँदै क्यामरातर्फ दौडिरहेकी थिइन् । र, सम्भवतः यो तस्बिर युद्धविरुद्ध जनआक्रोश बढाउन सयौँ घण्टाका टेलिभिजनमा देखिएको हिंसाभन्दा बढी प्रभावकारी थियो’ भनेर लेखेकी थिइन् । तर, यो जनआक्रोशका बाबजुद पनि अमेरिकाले थप तीन वर्षसम्म भियतनाममा बर्बरता मच्चाइरह्यो । अहिले गाजाबाट आउने लगभग सबै तस्बिरलाई द टेरर अफ वार (युद्धको आतंक) भनेर संज्ञा दिन सकिने अवस्था छ । अर्थात्, बर्बरता अझै पनि एक फलदायी धन्दाको रूपमा चलिरहेको छ ।

आजको सामाजिक सञ्जालको युगमा, जहाँ तस्बिर र भिडियो एकछिनमै स्क्रिनमा आउँछन् र हराउँछन् । हामी सबै बिस्तारै संवेदनहीन बन्दै गएका छौँ, यहाँसम्म कि दुई हात काटिएका नौ वर्षीय बालबालिकाको दृश्य पनि एकछिनको दुःख र आक्रोशमा मात्रै सीमित हुन्छ । १८ अप्रिलमा फोटो पत्रकार अबु एलउफले ‘म सधैँ सोचमग्न हुन्छु र अहिले पनि सोच्छु कस्तो फोटो खिच्दा यो युद्ध रोकियोस्, हत्या, मृत्यु र भोकमरी रोकिदियोस्’ भन्दै इन्स्टाग्राममा लेखेकी थिइन् । ‘हाम्रा तस्बिरले यी सबै त्रासदी र भयावहता रोक्न सक्दैनन् भने तस्बिरको मूल्य के हो ? कुन तस्बिर हेरेपछि मात्र तपाईंले गाजाभित्र के भइरहेको छ भनेर बुझ्नुहुन्छ ?’ भन्दै आक्रोश व्यक्त गरेकी थिइन् । 

(फर्नान्डेज लेखक एवं अभियन्ता हुन्) 
अल जजिराबाट