१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 02 May, 2025
Invalid date format o६:१८:oo
Read Time : > 2 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

भाजपा नेता चौथाइवाले उच्चस्तरीय भेटवार्तामा

प्रधानमन्त्री ओलीसहितका शीर्ष नेताहरूसँगको भेटवार्तामा पहलगाम घटना, सत्तासमीकरण र  राजावादी आन्दोलनबारे छलफल

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
Invalid date format o६:१८:oo
भाजपा विदेश विभागका इन्चार्ज डा. विजय चौथाइवालेले बिहीबार प्रधानमन्त्री केपी ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, परराष्ट्रमन्त्री आरजु राणा, गृहमन्त्री रमेश लेखक, लोसपा नेपालका अध्यक्ष महन्थ ठाकुर, कांग्रेस महामन्त्री गगन थापा, नेताहरू डा. शेखर कोइराला, डा. प्रकाशशरण महत, उदयशमशेर राणा, माओवादी नेता जनार्दन शर्मासँग भेट गरे । राप्रपा र रास्वपा नेताहरूसमेत भेटेर शुक्रबार उनी स्वदेश फर्किँदै छन् । यसपटक सबैजसो भेटवार्ता भारतीय राजदूतावासले समन्वय गरेको छ ।

तीनदिने नेपाल भ्रमणका क्रममा बुधबार काठमाडौं आएका भाजपा विदेश विभागका इन्चार्ज डा. विजय चौथाइवाले प्रधानमन्त्रीसहितका नेताहरूसँगको भेटघाटमा व्यस्त छन् । दुई दिनमा उनले प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओली, कांग्रेस सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापा, माओवादी अध्यक्ष प्रचण्डलगायतका शीर्ष नेतासँग भेट गरेका छन् । भाजपा अध्यक्ष जेपी नड्डा र विदेशमन्त्री डा. एस जयशंकरसँगको समन्वयमा उनी काठमाडौं आएका हुन् । 

जम्मु–कस्मिरको पहलगाममा ९ वैशाखमा भएको आतंककारी हमलामा एक नेपालीसहित २६ व्यक्ति मारिएका थिए । यो घटनालाई लिएर भारत र पाकिस्तानबिच शत्रुता बढेको छ । यो समयमा नेपालका सबै दलहरूको सहानुभूति र समर्थनका लागि चौथाइवालेलाई भारत सरकारले अनौपचारिक दूतका रूपमा नेपाल पठाएको स्रोतले बतायो । 

चौथाइवालेले बुधबार काठमाडौं ओर्लेलगत्तै पहिलो भेट गृहमन्त्री रमेश लेखकसँग गरेर नेपाल–भारत खुला सिमानाको दुरुपयोग हुन सक्ने सम्भावनाबारे छलफल गरेका थिए । त्यसपछि बुधबार पूर्वप्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा र परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग भेटे । उनले बुधबारै कांग्रेस प्रवक्ता एवं पूर्वपरराष्ट्रमन्त्री डा. प्रकाशशरण महतसँग बेग्लै भेटवार्ता गरे ।

चौथाइवालेले बिहीबार प्रधानमन्त्री ओली, माओवादी अध्यक्ष प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, लोसपा नेपालका अध्यक्ष महन्थ ठाकुर, कांग्रेस महामन्त्री गगन थापा, नेताहरू डा. शेखर कोइराला, उदयशमशेर राणा, माओवादी नेता जनार्दन शर्मासँग बेग्लाबेग्लै भेट गरे । चौथाइवालेलाई कांग्रेस महामन्त्री थापाले दिवाभोज आयोजना गरेका थिए । राप्रपा र रास्वपा नेताहरूसमेत भेटेर शुक्रबार उनी स्वदेश फर्किँदै छन् । यसपटक सबैजसो भेटवार्ता भारतीय राजदूतावासले समन्वय गरेको छ । 

प्रधानमन्त्रीसँगको भेटमा चौथाइवालेले पारस्परिक हितका अनेकौँ पक्षबारे छलफल भएको सामाजिक सञ्जालमा जनाएका छन् । ‘प्रधानमन्त्री ओलीले कस्मिरमा आतंककारी हमलाबाट निर्दोष व्यक्तिहरूको मृत्यु भएको घटनामा समवेदना व्यक्त गर्नुभयो,’ चौथाइवालेले एक्समा लेखेका छन् । प्रधानमन्त्रीको सचिवालयले पारस्परिक हित तथा दुई देशको सम्बन्धबारे प्रधानमन्त्री ओली र चौथाइवालेबिच छलफल भएको जानकारी दिएको छ । 

चौथाइवालेसँग भेटेका दोस्रो पुस्ताका नेताहरूका अनुसार चौथाइवालेमार्फत भारतका मूलभूत रूपमा तीनवटा सन्देश थिए । पहिलो, पहलगाम घटनाका सन्दर्भमा नेपालको सबै पक्षले आतंकवादविरुद्ध र भारतले त्यस सम्बन्धमा लिएका पक्षमा समर्थन गरून् । दोस्रो, नेपालको आन्तरिक राजनीतिक घटनाक्रममध्ये सरकारबारे भारतको टीकाटिप्पणी छैन । ‘नेपालमा लोकतान्त्रिक तरिकाबाट सरकार गठन भएको छ । भारतले नेपाल सरकारसँग सहकार्य गर्छ । भाजपाले सबै दलहरूसँग ट्र्याक टू कूटनीतिअन्तर्गत सम्बन्ध कायम गर्छ भन्ने उहाँको स्पष्ट कुरा थियो,’ भेटमा सहभागी नेताले भने, ‘भारतले यो सरकार ढाल्न प्रयास गरेको चर्चाका सन्दर्भमा उहाँले स्पष्ट पार्नुभएको छ कि यो शुद्ध नेपालको आन्तरिक विषय हो, यसमा भारत फस्दैन । नेपालका सबै दलसँग हाम्रो सम्बन्ध छ, सत्ता, प्रतिपक्षी सबै दलहरूसँग मित्रता कायम राख्न चाहन्छौँ ।’ तेस्रो, राजसंस्था पुनस्र्थापनाका विषयमा भएका आन्दोलनहरूमा भारतको समर्थन नरहेको सन्देश चौथाइवालेले दिएका थिए । सबै भेटहरूमा चौथाइवालेले नेपालमा बहुदलीय लोकतन्त्र सुदृढ होस् भन्ने भारत सरकार तथा भाजपाको चाहना रहेको सन्देश दिएका थिए । उनले भारतीय सञ्चारमाध्यमका समाचारहरूको पछि नलाग्न पनि ध्यानाकर्षण गराएका थिए ।

‘अरूभन्दा पनि उहाँले पहलगाम आतंककारी घटनामा भारत निकै गम्भीर भएको र यसमा नेपालको साथका लागि धन्यवाद दिँदै आतंकवादविरुद्ध नेपालका सबै दलको साझा धारणा रहने विश्वास जनाउनुभएको थियो,’ भेटमा सहभागी कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले भने, ‘सरकारका बारेमा, राजा फर्काउने नाममा भएका गतिविधिहरूका बारेमा उहाँले स्पष्ट पार्नुभयो ।’ 

चौथाइवालेले पहलगाम हमलाकारीविरुद्ध भारतले उपयुक्त सुरक्षाकदम चाल्ने पनि बताएका थिए । ‘मैले यस विषयमा के हुन्छ भनेर चासो राख्दा उहाँले घटनालाई सरकारले निकै गम्भीर रूपमा लिएर अघि बढेको, तर के कदम चाल्ने भन्ने विषयमा आफू जानकार नभएको भन्नुभयो,’ चौथाइवालेसँग भेटपछि कांग्रेस नेता उदयशमशेर राणाले भने । 

प्रधानमन्त्रीदेखि नेपालका शीर्ष तथा दोस्रो पुस्ताका नेताहरूले आतंकवादविरुद्ध नेपालका सबै पक्ष एक रहेको सन्देश दिएका थिए । उनीहरूले भारत र पाकिस्तानबिच बढ्दो तनावले दुई देश मात्र नभएर क्षेत्रीय तनाव उत्पन्न हुन सक्नेतर्फ पनि ध्यानाकर्षण गराएका थिए । ‘कस्मिरको पहलगाम आतंककारी घटनाका सन्दर्भमा चौथाइवालेले नेपालको ऐक्यबद्धताको अपेक्षा गर्नुभयो, सबै नेताहरूले आतंकवादविरुद्ध नेपाल भारतसँगै उभिएको धारणा सरकारदेखि सबै पक्षले व्यक्त गरिसकेको दोहोर्‍याउनुभयो, सीमा क्षेत्रमा हुन सक्ने आतंककारीहरूको घुसपैठतर्फ उहाँले चिन्ता व्यक्त गर्नुहुँदा गृहमन्त्रीले यसमा नेपाल गम्भीर भएको र सुरक्षा सतर्कता बढाइएको जानकारी दिनुभयो,’ उनीसँग भेटेका दास्रो पुस्ताका एक नेताले भने । 

त्यस्तै, गृहमन्त्री लेखकसँग चौथाइवालेले सीमा क्षेत्रमा बढ्न सक्ने शंकास्पद गतिविधि, भारतले प्रतिबन्ध लगाइसकेपछि नेपालमा रहेका विदेशी गैरसरकारी संस्थाहरूको गतिविधिले पार्ने सुरक्षा असरलगायतका बारेमा चासो राखेका थिए । गृहमन्त्री लेखकले आतंकवादका सन्दर्भमा नेपाल स्पष्ट भएको भन्दै आश्वस्त पारेका थिए ।