
एक राज्यका राजा धेरै दिनपछि आफ्नो बगैँचामा सयर गर्न गए । बगैँचामा पुग्दा उनले त्यहाँका सबै रुख, बिरुवा ओइलाएको देखे । राजा निकै चिन्तित भए । यसको कारण थाहा पाउन उनले सबै रुख बिरुवासँग एक–एक गरी प्रश्न सोध्न थाले ।
‘ओक’को रुखले भन्यो– म देवदारजति अग्लो छैन । यही चिन्ताले म ओइलाएको हुँ महाराज ! राजाले देवदारको रुखतिर हेरे, उसको पनि काँध झुकेको थियो । उसले भन्यो– म यति अग्लो भएर पनि के गर्नु ? म अंगुरले जस्तो मिठो फल दिन सक्दिनँ । यही चिन्ताले गर्दा म ओइलाएको हुँ महाराज ! अंगुरको लहराले भन्यो– महाराज, म गुलाफले जस्तो सुगन्धित फूल दिन सक्दिनँ । त्यसैले, मेरो यो हालत भएको हो ।
राजा केही अघि बढे । त्यहाँ उनले एक रुख देखे । त्यो बडो निश्चिन्त देखिन्थ्यो । खुसी र हराभरा देखिन्थ्यो । भर्खरै नुहाएर आएको हो कि जस्तो ताजा देखिन्थ्यो । राजाले छक्क पर्दै उसैलाई सोधे– पूरै बगैँचाभरि डुल्दा निकै बलिया र राम्रा रुखहरू पनि ओइलाएर घिटिघिटीको अवस्थामा पुगेका छन् । तर, अरू सबै दुःखी देखिँदा पनि तिमी भने निकै प्रसन्न देखिन्छौ । यसको कारण के हो ? यो कसरी सम्भव भयो ?
रुखले भन्यो– महाराज, अरू रुख आआफ्नो विशेषता र क्षमता बुझेर त्यसैमा रमाउनुको साटो आफूलाई अरूसित तुलना गरेर दुःखी छन् । जब कि मचाहिँ आफैँलाई हेरेर खुसी रहन्छु । आखिर मलाई यहाँ हजुरले मेरो पनि कुनै न कुनै विशेषता देखेरै त लगाउनुभयो होला नि ! मेरो कुनै विशेषता नभएको भए यहाँ पनि त हजुरले ओक, देवदार, अंगुर या गुलाब रोप्नुहुन्थ्यो होला, होइन र ? म अरूजस्तो बन्नुको साटो आफ्नै क्षमता र विशेषतामा विश्वास राख्छु । त्यसैले, जहिल्यै खुसी, ताजा र हराभरा रहन्छु ।