
आज मे दिवस अर्थात् १३६औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस विविध कार्यक्रम गरी मनाइँदै छ । श्रमिकहरूको पेसागत मर्यादा र सम्मानको प्रत्याभूति गराउन तथा अधिकार स्थापित भएको दिनका रूपमा प्रत्येक वर्ष मे १ तारिखका दिन यो दिवस मनाउने गरिन्छ ।
विश्वभरका मजदुरले यस दिवसलाई पर्वका रूपमा लिँदै आफ्ना हक अधिकारको सुनिश्चितताका लागि सरकार र रोजगारदातालाई दबाब दिने उद्देश्यले यो दिवस विभिन्न कार्यक्रम गरी मनाउँदै आएका छन् । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)को आयोजनामा १३६औँ मे दिवस २०८२ को अवसरमा भृकुटीमण्डपबाट र्याली निकालिएको छ। भृकुटीमण्डपबाट निस्किएको र्याली सुन्धारा, रत्नपार्क हुँदै पुनः भृकुटीमण्डप कार्यक्रमस्थलमा आउनेछ।