१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख १७ बुधबार
  • Wednesday, 30 April, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८२ बैशाख १७ बुधबार o९:४८:oo
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

सगरमाथामा व्यावसायिक हेलिकोप्टर उडान नगर्न खुम्बु गाउँपालिकाको चेतावनी

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८२ बैशाख १७ बुधबार o९:४८:oo

लुक्लाभन्दा माथिल्लो सगरमाथा क्षेत्रमा व्यावसायिक हेलिकोप्टर उडान नगर्न खुम्बु पासाङल्हामु गाउँपालिकाले हेलिकोप्टर तथा ट्रेकिङ व्यवसायीलाई चेतावनी दिएको छ । सगरमाथा क्षेत्रमा १ जनवरीदेखि नै व्यावसायिक हेलिकोप्टर उडानहरू पूर्ण रूपमा प्रतिबन्ध गरिएको गाउँपालिका कार्यालयले जनाएको छ ।

खुम्बु गाउँपालिकाले आफ्नो क्षेत्र (सगरमाथा)भित्र अव्यवस्थित हेलिकोप्टर उडान नियन्त्रण गर्ने भन्दै जनवरीदेखि रेस्क्यु, कार्गो र माउन्टेन फ्लाइटबाहेक सबै प्रकारका व्यावसायिक उडानहरूमा प्रतिबन्ध लगाएको थियो । तर, केही हेलिकोप्टर र ट्रेकिङ व्यवसायीले अटेर गरेका कारण पुनः सूचना प्रकाशित गरेर तोकिएकाबाहेक अन्य उडान नगर्न ध्यानाकर्षण गरेको खुम्बु पासाङल्हामु गाउँपालिकाका मेयर मिङ्माछिरी शेर्पाले बताए ।

मेयर शेर्पाले सूचना जारी गर्दै भनेका छन्, ‘सूचनाको उल्लंघन गरी रेस्क्यु, कार्गो र माउन्टेन फ्लाइटबाहेकका अन्य कुनै पनि व्यावसायिक हेलिकोप्टर उडान गरेमा त्यसबाट सिर्जना हुन सक्ने सबै परिस्थितिको जिम्मेवारी सम्बन्धित हेलिकोप्टर व्यवसायी, प्याकेज बिक्री गर्ने पर्यटन व्यवसायी र प्याकेज खरिद गर्ने पर्यटक स्वयंले भोग्नुपर्नेछ ।’ उनले सम्पूर्ण सरोकारवालालाई रेस्क्यु, कार्गो र वानटच माउन्टेन फ्लाइटबाहेकका व्यावसायिक हेलिकोप्टर उडानसहितका प्याकेजहरू खरिद–बिक्री नगर्न पनि सूचित गरेका छन् ।

‘हामीले १ जनवरीदेखि नै उडानमा पूर्ण रूपमा प्रतिबन्ध लगाएका थियौँ, तर पहिलाको सूचनालाई अटेर गरेपछि पुनः सूचना जारी गरेर ध्यानाकर्षण गराइएको हो,’ मेयर शेर्पाले भने, ‘सगरमाथा क्षेत्रमा अव्यवस्थित हेलिकोप्टर उडानमा पहिलाभन्दा केही कम भएको छ, तर जति हुनुपर्ने त्यति भएको छैन, व्यवसायीले अटेर गरेर प्रतिबन्ध लगाएका उडानहरू पनि सगरमाथा क्षेत्रमा गरिरहेको देखिन्छ ।’

खुम्बु क्षेत्रभित्र अव्यवस्थित हेलिकोप्टर उडानका कारण वन, वातावरण, जैविक विविधता, स्थानीय व्यापार र पर्यटकीय गतिविधिमा नकारात्मक असर परेको हुँदा स्थानीय नागरिकको माग र संरक्षणका दृष्टिले अव्यवस्थित हेलिकोप्टर उडानमा प्रतिबन्ध लगाएको गाउँपालिका कार्यालयको जिकिर छ । 

सन् २०२५ को सुरुवातमा सगरमाथा राष्ट्रिय निकुञ्जले पनि नाम्चेभन्दा माथिल्लो भेगमा व्यावसायिक हेलिकोप्टर उडानमा प्रतिबन्ध लगाएको थियो । तर, चौतर्फी आलोचना र माथिबाट दबाब सिर्जना भएपछि निकुञ्ज कार्यालय उडान प्रतिबन्ध लगाउने निर्णयबाट पछाडि हटिसकेको छ ।

अहिलेको नियममा संशोधन भएको वा हुन सक्ने भनेर फैलाइएका गलत सूचनामा विश्वास नगर्न पनि गाउँपालिकाले सचेत गराएको छ ।

सिजनका वेलामा अधिकांश हेलिकोप्टर उडान खुम्बु क्षेत्रमा केन्द्रित हुने गर्छन् । हेलिकोप्टर व्यवसायीलाई सगरमाथा चढ्न र हेर्न जाने पर्यटकलाई बोक्न भ्याइनभ्याई हुने गर्छ । सम्पूर्ण हेलिकोप्टरले वर्षभरिमा गर्ने आम्दानीमध्ये ६५ प्रतिशतभन्दा बढी सगरमाथा क्षेत्रबाट हुने गरेको नेपाल वायुसेवा सञ्चालक संघको जिकिर छ ।

वसन्तकालीन सिजनमा सर्वोच्च शिखर सगरमाथा आरोहण गर्न विश्वभरका आरोहीहरूको भिड लाग्ने गर्छ । यस्तै, सगरमाथा अवलोकन गर्न जाने पदयात्री र हेलिकोप्टरमा सगरमाथा फन्को मारेर फर्किने (माउन्टेन फ्लाइट) पर्यटक पनि उल्लेख्य हुने गर्छन् । खर्चालु पर्यटकले हेलिकोप्टर चढेर सगरमाथा हेर्ने र त्यहीँ ब्रेकफास्ट खाएर फर्किने गर्छन् ।