१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख १७ बुधबार
  • Wednesday, 30 April, 2025
२o८२ बैशाख १७ बुधबार o७:२५:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

१२ वर्षदेखि फलामे साङ्लोमा उदयपुरका विशाल

आर्थिक अभावले छोराको उपचार गर्न नसकेको परिवारको भनाइ, सहयोगको अपेक्षा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८२ बैशाख १७ बुधबार o७:२५:oo

मदन भण्डारी लोकमार्गको उदयपुरगढी गाउँपालिका– ६ नेपालटार खण्डको छेउमै टिनको छानो भएको एउटा घर छ । सो घरको एउटा कोठामा एमाले उदयपुरगढी गाउँपालिकाको सम्पर्क कार्यालय पनि छ । कार्यालयसँगै जोडिएको अर्को कोठामा ५० वर्षीय सुशील तामाङको चारजनाको परिवार बस्छ । 

तामाङको १८ वर्षे छोरा विशाललाई १२ वर्षदेखि फलामे साङ्लोमा बाँधेर राखिएको छ । ‘जन्मिँदा ठिकै थियो । चार वर्ष पुगेपछि एकोहोरो हुने र हिँडेपछि घर नफर्कने भयो । दिसापिसाब पनि गर्न नसक्ने भयो । अनि बाँधेर राख्नुपरेको छ । बाध्यता नभए कसले छोराछोरीलाई फलामे साङ्लोमा बाँधेर राख्छ होला,’ भावुक हुँदै उनले भने । 

तामाङको घरबाट सय मिटरको दूरीमा प्रहरी बिट छ । जग्गाविहीन तामाङ त्यही घरमा मासिक दुई हजार रुपैयाँ भाडा तिरेर बस्दै आएका छन् । त्यसअघि उनी नेपालटार बजारमै अर्कै घरमा बस्ने गर्थे । उदयपुरगढी गाउँपालिका– ५ आम्बोटेमा स्थायी घर भएका तामाङ अहिले बसाइँसराइ लिएर वडा नम्बर– ६ कै नेपालटार झरेका हुन् । ‘मेरी दुईवटी श्रीमती छन् । जेठी श्रीमती जानुकुमारी तामाङपट्टि एक छोरा र एक छोरी छन् । छोरीको बिहे भयो । छोरा यो हालतमा छ । पैसा नभएकाले उपचार गर्न सकिनँ,’ उनले भने ।

१८ वर्षीय विशाल तामाङको खुट्टामा साङ्लो

सुशील लामो समयदेखि रोजगारीको सिलसिलामा भारतमा बस्दै आएका छन् । भारततिर काम नपाउँदा गाउँघरमै ज्याला–मजदुरी गर्छन् । ‘छोरा र छोरी जन्मेपछि जानुकुमारीले दोस्रो बिहे गरिन् । छोराछोरी पनि सँगै लगिन् । उनले त्यहाँ पनि छोरा विशाललाई बाँधेरै राख्नुपरेको थियो । छोराको माया लागेर हेर्न जान्थेँ र फर्किन्थेँ,’ उनले भने । जेठीले छाडेर हिँडेपछि सुशीलले रीता तामाङलाई बिहे गरे । उनीबाट चार वर्षीय छोरा छ । छोराको उपचारका लागि आफूले थाहा पाएजति सबै गरेको उनको भनाइ छ । ‘सानैमा उपचार गर्न खोजेको थिएँ । कतैबाट साथ र सहयोग पाइनँ । गाउँमा रहेको अस्पतालका डाक्टरहरूले ठुलो अस्पतालमा लानुपर्छ भने । पैसा भएन,’ उनले भने ।

अहिले भाडाको घरमा बस्न थालेपछि कार्यालय आउने एमाले नेताहरूसँग सहयोग मागेको उनले बताए । ‘पार्टी कार्यालयमा आउने नेताहरूले के भएको भनेर सोधे ? मैले उपचार गर्दा ठिक हुने बिरामी थियो । पैसा नभएकाले उपचार गर्न सकिनँ, त्यसैले बाँधेर राख्नुपरेको छ । सहयोग पाए मेरो छोरो ठिक हुने थियो कि भनेको थिएँ । तर, कसैले पनि सुनुवाइ गरेनन्,’ सुशीलले भने । उनको पहिलाको बसोबास रहेको आम्बोटेमा ऐलानी जग्गा १० धुर छ । 

स्थानीय डिस्टेन गुरागाईंले एमालेकै सत्ता हुँदा पनि तल्लो तहका नेताले बेवास्ता गरेको गुनासो गरे । ‘बाँधेर राखेको थाहा पाएपछि पत्रकारहरूलाई खबर गरेँ । एमाले नेताहरूलाई खबर गरेँ । तर, चासो देखाएको पाइनँ,’ उनले भने । एमाले उदयपुरगढी गाउँपालिका अध्यक्ष यम्बरबहादुर खत्रीले आफूसँग एकपटक सुशील तामाङले छोराको उपचारका लागि सहयोग मागेको बताए । ‘बाँधेर राखेको बच्चा देखेको थिएँ । हृदयविदारक अवस्था थियो । उपचारका लागि चाँजोपाँजो मिलाउने मनसाय थियो । तर, समय अभाव भएर ध्यान दिन सकिनँ,’ उनले भने ।

फलामे साङ्लोले बाँधेर राखिएका १८ वर्षे बालकको रोग अहिलेसम्म पहिचान हुन सकेको छैन । स्थानीय स्वास्थ्यकर्मी बोधकुमार घिमिरेले बाँधेर राखिएको बालकमा मानसिक र नशासम्बन्धी समस्या हुन सक्ने बताए । ‘अवस्था दर्दनाक छ । न्युरोसम्बन्धी समस्याजस्तो लाग्यो । सुरुमै उपचार पाएको भए सम्भव थियो । अब भन्न सकिँदैन । एकपटक उपचार गराउने व्यवस्था मिलाउन पाए झनै राम्रो हुने थियो । परिवारको आर्थिक अवस्था कमजोर रहेछ,’ उनले भने । उदयपुरगढी गाउँपालिका– ६ का वडाध्यक्ष कृष्णबहादुर खत्रीले पूर्ण अपांगता भएको कार्ड बालकलाई दिएको बताए । ‘अहिले मासिक चार हजार रुपैयाँका दरले तीन महिनामा १२ हजार पाउँछन् । उपचारका लागि त सोचिएन । पीडित परिवारले सहयोग पनि मागेनन्,’ उनले भने ।