
रैनादेवी छहरा गाउँपालिका– १ सिद्धेश्वरमा गएराति जिप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् । लु.१ज २३७७ नम्बरको जिप सिद्धेश्वरको असारेबाट ठुलापोखरातर्फ जाने क्रममा सर्वोत्तम सिमेन्ट खानीनजिकै दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुनील मल्लले जानकारी दिए ।
दुर्घटनामा परी घाइते भएका पाँचजनालाई उपचारका लागि तानसेनस्थित युनाइटेड मिसन अस्पताल लगिएको र तीनजनालाई चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा रैनादेवी छहरा– १ सिद्धेश्वरका ३६ वर्षे दीपेन्द्र बुढा, ३१ वर्षे चेतनारायण विक र २३ वर्षे जनक रेगामी छन् ।
घाइते भएका जिपचालक २७ वर्षीय रञ्जन रेश्मी र २३ वर्षीय सरोज बुढाको अहिले अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार जिप सडकबाट दुई सय मिटर तल खसेको थियो । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।