१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 26 April, 2025
भुवन पाैडेल
Invalid date format १o:३२:oo
Read Time : > 3 मिनेट
साहित्य प्रिन्ट संस्करण

औपनिवेशिक भारत र ब्रिटिससँग परराष्ट्रनीतिको तस्बिर

नेपालको परराष्ट्र सम्बन्ध : संक्रमणकाल र प्रो. नरेन्द्रमणि दीक्षित

Read Time : > 3 मिनेट
भुवन पाैडेल
नयाँ पत्रिका
Invalid date format १o:३२:oo

पुस्तक समीक्षा

पूर्वपरराष्ट्र सचिव डा. मदनकुमार भट्टराईद्वारा लिखित चौथो पुस्तक ‘नेपालको परराष्ट्र सम्बन्ध : संक्रमणकाल र प्रो. नरेन्द्रमणि दीक्षित’ २४ फागुन ०८१ मा सार्वजनिक भएको थियो । केही समय प्राज्ञिक र पत्रकारिता गरी परराष्ट्र सेवामा प्रवेश गरेर सचिवबाट अवकाश प्राप्त डा. भट्टराई जापानका लागि राजदूत पनि हुनुभयो । म परराष्ट्र मन्त्रालय प्रवेश गरिरहँदा उहाँ सहसचिव हुनुहुन्थ्यो । तत्कालीन परराष्ट्र सचिव ज्ञानचन्द्र आचार्य संयुक्त राष्ट्र संघका लागि नेपालको स्थायी प्रतिनिधि भई न्युयोर्क गएपछि उहाँ परराष्ट्र सचिव हुनुभयो, तर केही समय ओभरल्याप भएकाले उहाँ प्रधानमन्त्री कार्यालयमा सचिवको रूपमा रहनुभयो । ज्ञानचन्द्र आचार्य न्युयोर्क प्रस्थान गरेपछि विधिवत् परराष्ट्र सचिवमा बहाली गर्नुभयो । 

डा. भट्टराईको पुस्तक मलाई जतिसक्दो छिटो सकाउनु थियो । भर्खरै मात्रै प्रथम महिला राधिका शाक्यद्वारा लिखित पुस्तक ‘करुणा’ पढेर सकेको थिएँ । सीधै पुस्तकमै प्रवेश गरे । भूमिकामा प्रवेश गर्दै गर्दा उहाँले पूर्वप्रकाशित पुस्तकको प्राप्त समीक्षा तथा पृष्ठपोषणलाई यसमा समावेश गर्नुभएको रहेछ । यसले नयाँ पाठकलाई अघिल्ला पुस्तकसमेत खोजेर पढ्न प्रेरित गर्छ । पुस्तकमा रहेका महŒवपूर्ण व्यक्तित्वका भनाइसमेत छन् । त्यसमध्ये पाकिस्तानी कूटनीतिज्ञ इकवाल अहम्मद अखुन्डको भनाइ मन छुने खालको छ । परराष्ट्र नीतिलगायत महŒवपूर्ण विषयमा निर्णयको जस राजनीतिक नेतृत्वले लिने र अपजसको भागिदार नोकरशाहलाई बनाउने परिप्रेक्ष्यमा कूटनीतिक अधिकारी घटनाका केवल कोल्टे बस्ने साक्षी बन्न बाध्य हुन्छन् । 

पुस्तक पढ्दै जाँदा डा. भट्टराईले नेपालको सन् १९४० देखि १९६० सम्मको संक्रमणकाललाई केन्द्र बनाएको प्रस्ट हुन्छ । उक्त समयका शासक, प्रशासक, छिमेक त्यसमा पनि औपनिवेशिक भारत र ब्रिटिससँगका सम्बन्ध पत्राचार तथा गतिविधिलाई नै केन्द्रित बनाउनुभएको छ । नेपालको पहिलो अन्तर्राष्ट्रिय सम्मेलन एसिया सम्मेलनमा सहभागिता, कोलम्बो योजनामा सदस्यता र नेपालको सहभागिता, संयुक्त राष्ट्र संघको एसिया प्यासिफिकका लागि क्षेत्रीय कार्यालय तत्कालीन इकाफेपछि इस्काफ तथा विशेषगरी राणा शासनको अन्त्य र राजाको यथोचित भूमिकासहितको प्रजातन्त्र बहाली अवधिमा भएका राजनीतिक कूटनीति घटनाक्रमलाई पुस्तकमा उधिन्ने काम गर्नुभएको छ । कतिपय जानकारी तथा विवरण यसअघि पढ्न नपाइएकाले थप चाख लाग्नु स्वाभाविकै छ ।

पुस्तकलाई सरसर्ती सिध्याउँदै गर्दा उहाँले समावेश गर्नुभएको पादटिप्पणी यति यथेष्ट छन् कि नेपालको मात्र नभएर भारतीय विदेश मन्त्रालयमा रहेका पात्रहरू, जवारलाल नेहरूको विदेश नीति तथा तत्कालीन भारतीय विदेश नीतिका सम्बन्धमा यथेष्ट जानकारी र सूचना पस्कनुभएको छ । पुस्तकमा उल्लेखित पात्रको वैयक्तिक विवरणको यति फेदसम्म पुग्नुभएको छ कि त्यो सायदै पुस्तकमा पाइन्छ । यसका लागि सानो मिहिनेत र समयले पुग्दैन । उहाँले युवा पुस्ताका नेपालको विदेश सम्बन्धमा विशेष रुचि र अनुसन्धान गरिरहनुभएका सन्तोष धिताल खडेरीको सहायता पनि लिनु भई पुस्तकलाई अझै पठनीय र अनुसन्धानमूलक बनाउनुभएको छ । नेपालको विदेश सम्बन्ध त्यसमा पनि भारतसँगको सम्बन्धमा सन् १९५० को शान्ति तथा मैत्रीसन्धिको सन्दर्भका विषयलाई तत्कालीन परिस्थिति तथा विश्वको भूराजनीति जटिलता र नेपालको नगण्य अन्तर्राष्ट्रिय सहभागिता र उपस्थितिको वस्तुस्थितिलाई लेखकले विस्तृत व्याख्या गर्नुभएको छ । 

पुस्तकको शीर्षकबमोजिम केन्द्रीकृत पात्र तथा नेपालको पहिलो परराष्ट्र सचिवबारे उहाँका सबल तथा दुर्बल पक्ष दुवै दृष्टिकोणबाट उधिन्ने प्रयास गर्नुभएको छ । अत्यन्तै तरल राजनीतिक अवस्था र विषम परिस्थितिमा उहाँले परराष्ट्र सचिव पद सम्हालेकोमा दुईमत छैन । उता भारतमा ब्रिटिस लिगेसीबाट प्रभावित भई परराष्ट्र सेवालाई बलियो बनाउँदै र बलियो संस्थागत आधार दिने काममा स्वयं प्रधानमन्त्री तथा परराष्ट्रमन्त्री जवाहरलाल नेहरूले नै गर्नुभयो भने यता केवल उहाँ एक्लैले गर्न सक्ने अवस्था थिएन । कता–कता लेखकले उहाँले किन परराष्ट्र मन्त्रालय तथा सेवालाई सुदृढीकरणमा योगदान गर्न सक्नुभएन भनेर प्रश्न गरेको देखिन्छ । तर, राजनीतिक नेतृत्वको इच्छाशक्तिविना केही सम्भव हुने पनि होइन । फेरि उपसंहारमा भने सचिव एक्लैले गर्न सक्ने अवस्था नहुने विषयलाई स्वीकार पनि गर्नुभएको छ । 

राणाहरू आफूमा शक्ति केन्द्रित गर्न चाहन्थे, परराष्ट्र मन्त्रालयलाई बलियो बनाउनु उनीहरूको हितकर पनि थिएन । पुस्तक पढ्दै गर्दा र छिमेकसँगको संलग्नता तथा गतिविधि हेर्दा कसोकसो हालसम्म पनि नेपालको राजनीतिक संक्रमण तथा अस्थिर राजनीति र दक्षिण छिमेकसँगका सवाल उस्तैउस्तै छन् । त्यसमा खासै परिवर्तन नआएकोजस्तो भान हुन्छ । उतिखेर मोहनशमशेर भारत भ्रमणमा जाँदा चार सयजनाको प्रतिनिधिमण्डल र २१ तोपको सलामी लागेजस्तो हालसम्म पनि छरितो र सारभूत विषयमा भ्रमणलाई केन्द्रित गराउन अझै पनि नसकेको देखिन्छ । खैर विविध बाध्यता र गठबन्धन राजनीतिक परिस्थितिका उपज आफँैमा व्यवस्थापन गर्न व्यावहारिक कठिनाइ पनि छ । उता विशेष सम्बन्धको तथाकथित परिसीमा र परिधिमा नेपालसँग भए–नभएको समझदारीको बखेडा झिकी नेपालको विदेश नीतिलाई नियन्त्रण गर्न र नेपालको वैदेशिक सम्बन्धमा संकुचन ल्याउन हरहिसाबले नेहरू उद्यत् भएको पुस्तकमा उल्लेख भएबाट नेपाललाई स्वतन्त्र परराष्ट्र नीति सञ्चालन गर्न कति कठिनाइ थियो भन्ने कुराको गहिराइ स्पष्ट हुन्छ । 

विशेषगरी लेखकले पनि आधुनिक नेपालको परराष्ट्र नीतिको विस्तार, विविधीकरण र परिमार्जनको श्रेय कुनै एक व्यक्तिलाई दिने हो भनी यसको ठुलै हिस्सा श्री ५ महेन्द्रलाई दिनु पर्ने उल्लेख गर्नुभएको छ । जुन विषयमा सायदै विमत होला, यसलाई पूर्वपरराष्ट्रमन्त्रीद्वय डा. भेषबहादुर थापाद्वारा लिखित राष्ट्र परराष्ट्र तथा कमल थापाद्वारा लिखित नाकाबन्दी र भूराजनीति : कूटनीतिमा मेरो अनुभव र अनुभूति नामक दुई पुस्तकले समेत पुष्टि गरेका छन् । महेन्द्रकालीन नेपालमा सिंहदरबार काममा स्वतन्त्र रहेको विज्ञहरूको भरपूर उपयोग र काम गर्न उच्चपदस्थलाई अधिकारसहित स्वतन्त्रता दिएकाले उनी सफल भएको देखिन्छ । 

राजा त्रिभुवन भारतप्रति अधिक अनुग्रहित भएको देखिन्छ, उनले नेपाल भारतको एक प्रान्त होस् भनी नेहरूसमक्ष सुझाएको, तर नेहरूले अस्वीकार गरेको उनको ठाउँमा इन्दिरा गान्धी भएको भए नेपालको अवस्था के हुँदो हो, कता–कता त्रिभुवनले राणाहरूको रिसमा मुलुकको स्वतन्त्रतामाथि यतिसम्म गिर्नुलाई नेपाली उखान सौताको रिसले श्रीमान्को काखमा पिसाब फेर्नुजस्तो चरितार्थ देखिन्छ । आफ्नो पिताको यस्तै कमी–कमजोरीलाई राजा महेन्द्रबाट सुधार गरी नेपालको बाहिरी नजरिया र उपस्थितिमा बदलाव ल्याउन ठुलो योगदान छ । विदेश नीतिका सम्बन्धमा राजा त्रिभुवन र महेन्द्रबारे पुस्तकमा लेखकले छुट्टै शीर्षकमा तुलना नै गर्नुभएकाले धेरै कुराहरू स्पष्ट हुन्छ । 

यसैगरी नेपालमा औपचारिक शिक्षाको विकासक्रमलाई पनि उहाँले मज्जाले पस्कनुभएको छ । त्रिचन्द्र कलेजको स्थापनाको इतिहास तथा शिक्षा क्षेत्रको उन्नययनसँगका घटनाक्रमलाई समेत विभिन्न ठाउँमा विस्तृतमा उल्लेख गर्नुभएको छ ।  

इम्प्रिन्ट पब्लिसर्सद्वारा प्रकाशित ३५४ पृष्ठको पुस्तकमा तस्बिर खण्डमा विभिन्न आयाममा संलग्न तस्बिरले पुस्तकलाई थप मनमोहक बनाएको छ । परिशिष्ट खण्डमा समावेश सामग्रीले नेपालको तत्कालीन अवस्थाका सरकारी पत्राचार तथा कागजातको लेखनीय शैली, अवस्था र हैसियतलाई बुझ्न र मनन गर्न सहयोग पुग्छ । कतिपय विषय घटनाक्रम पटक–पटक तथा विभिन्न शीर्षकमा पुनः दोहोरिएर आएकाले सम्पादकीय पक्षबाट अलि ध्यान दिइएन कि जस्तो अनुभव पाठकमा पर्न सक्छ ।