
तेस्रो नेपाल सुपर लिग (एनएसएल)को फाइनलमा जसले ट्रफी उचाले पनि रेकर्ड बन्नेछ । दशरथ रंगशालामा शनिबार उपािध भिडन्तमा ललितपुर सिटीले पोखरा थन्डर्सको सामना गर्दै छ । ललितपुर लगातार दोस्रोपटक र पोखरा पहिलोपटक च्याम्पियन बन्ने योजनाका साथ मैदानमा प्रस्तुत हुनेछन् । अहिलेसम्म काठमाडौं रेन्जर्स र ललितपुरले मात्र समान एकपटक उपाधि जितेका छन् । लगभग एक महिनासम्म चलेको एनएसएलको २५औँ खेलबाट उपाधिको छिनोफानो हुनेछ । यसपटक ललितपुरले च्याम्पियनशैलीमा प्रतिस्पर्धा गरिरहेको छ ।
अहिलेसम्म एउटा पनि खेल नगुमाउने एक्लो टोली ललितपुर हो । ललितपुरले उपाधि रक्षा गर्ने उद्देश्यका साथ मैदानमा प्रतिद्वन्द्वीहरूलाई निराश बनाएको छ । यसको विपरीत पोखराको फाइनल यात्रा बिलकुल फरक रह्यो । सुरुका दुई खेलमा अनपेक्षित रूपमा पोखरा पराजित भयो । एक समय पोखराको प्ले अफसम्म पुग्ने सम्भावनासमेत कमजोर बनेको थियो । सुरुका दुई खेल गुमाएको पोखराले त्यसपछि उत्कृष्ट प्रदर्शन मात्र गरेन, उपाधि दाबेदार टोलीमाथि सानदार प्रदर्शन गर्यो । फाइनल प्रवेशको खेलमा पोखराले साबिक दुईपटकको उपविजेता धनगढी एफसीविरुद्ध एकपक्षीय खेलमा हरायो ।
ललितपुरले पायो एक साताको रेस्ट
पोखराको तुलनामा ललितपुरले फाइनलको तयार गर्न प्रशस्तै समय पायो । धनगढीसँगको पहिलो क्वालिफायरपछि शनिबार दशरथ रंगशालामा उत्रिँदै छ । लगभग एक साताको रेस्ट पाउँदा ललितपुरले टिमसेट बनाउने मौका पायो । ‘यो एक साताको रेस्टमा हामीले कमी–कमजोरी औँल्याउने मौका पायौँ,’ ललितपुरका प्रशिक्षक साइमन ग्रेसनले शुक्रबार आयोजित प्रिपोस्ट म्याचमा भने, ‘टिमको तयारी राम्रो भएको छ ।’ पोखराले एक साताभित्र दुईवटा खेल खेल्यो । इलिमेटर चरणमा पोखराले चितवनलाई हरायो । त्यसपछि पोखराले धनगढीमाथि जित निकाल्यो । लगभग तीन दिनको रेस्टमा पोखराले फाइनलको तयारी गरेको हो । एनएसएलमा पहिलोपटक फाइनल पुग्दा सबै दंग भएको प्रशिक्षक सुमन श्रेष्ठले बताए । ‘अहिले हाम्रो ड्रेसिङ रुममा खुसी माहोल छ, यसलाई उपाधि जित्दै निरन्तरता दिने प्रयासमा छौँ,’ श्रेष्ठले भने, ‘फाइनलको प्रतिद्वन्द्वी राम्रो छ, यसैअनुसार रणनीति बनाएका छौँ ।’ प्रशिक्षक श्रेष्ठझैँ कप्तान नवयुग श्रेष्ठले लिगको उपाधि जित्नु अर्थपूर्ण रहेको बताए ।
पोखरासमक्ष लिग चरणमा व्यहोरेको हारको बदला लिने अवसर छ । लिग चरणमा ललितपुरले पोखरामाथि ३–२ को कठिन जित निकालेको थियो । अहिले पोखराको खेल माथिल्लो लेभलमा छ । ललितपुरले फाइनलमा पोखरालाई हल्का लिँदा ठुलै घाटा सामना गर्नुपर्छ ।
अपराजित र फर्ममा रहेका टोलीबिच भिडन्त
ललितपुर तेस्रो सिजनमा एक्लो अपराजित टोली हो । ललितपुरले लिग चरणमा ६ खेल गुमाउनुपरेन । शीर्ष स्थानमा रहेर ललितपुर सहजै प्लेअफमा पुगेको थियो । पहिलो क्वालिफायरमै ललितपुरले धनगढीलाई हराउँदै फाइनलमा स्थान पक्का गर्यो । लिग चरणमा सुरुका तीन खेलमा एक जित र दुई बराबरी नतिजा निकालेको ललितपुरले पछिल्ला तीन खेलमा दुई जित र एक बराबरी नतिजा निकालेको थियो । पोखराले उत्कृष्ट पुनरागमन गर्दै अन्तिम दुई यात्रा तय गरेको हो । लिग चरणमा ६ खेलमा समान दुई जित, हार र बराबरी नतिजा निकाली चौथो स्थान रक्षा गरेको थियो ।
विजेताले ८० लाख पाउने
तेस्रो संस्करण एनएसएलको विजेताले ८० लाख रुपैयाँ पाउने भएको छ । आयोजक नेपाल स्पोर्टस् एन्ड इन्भेट म्यानेजमेन्टले शुक्रबार विजेताको पुरस्कार राशि घोषणा गरेको हो । उपविजेताले ३० लाख रुपैयाँ प्राप्त गर्नेछ । आयोजकले यसपटक पुरस्कार राशि गत वर्षको तुलनामा १० लाख रुपैयाँ वृद्धि गरेको जनाएको छ ।
फाइनलको तयारी राम्रो भयो : साइमन ग्रेसन, प्रशिक्षक, ललितपुर
हामीले क्वालिफायरपछि लामो समय रेस्ट पायौँ । यस अवधिमा टिमको तयारी राम्रो भएको छ । पोखराविरुद्ध जित निकाली उपाधि रक्षा गर्ने आशा छ । एक किसिमले हामीले राम्रो तयारी गरेका छौँ । लगभग एक हप्ता तयारीको समय पायौँ । खेलमा ओभरकन्फिडेन्ट हुनुहुँदैन । उपाधि भिडन्तमा शारीरिक र मानसिक रूपमा तयार छौँ ।
कमी–कमजोरी सुधार्ने मौका पायौँ : अनन्त तामाङ, कप्तान, ललितपुर
प्ले अफपछि हामीले लामो समय रेस्ट पायौँ । प्राप्त एक हप्ताको समयमा टिमलाई राम्रोसँग तयार गने अवसर मिल्यो । गत वर्ष मेरै कप्तानीमा ललितपुरले उपाधि जितेको छ । यसपटक हामी उपािध रक्षा गर्नेछौँ । सबै खेलाडी टिमवर्कको भावनामा प्रतिस्पर्धा गरिरहेका छन् । यसले सबैलाई सहज बनाएको छ ।
टिम स्पिरिट राम्रो छ : सुमन श्रेष्ठ, प्रशिक्षक, पोखरा
पहिलोपटक फाइनल पुग्दा सबैजना खुसी भयौँ । अहिलेसम्म हाम्रो टिम स्पिरिट राम्रो छ । यो एक महिना लामो तयारीको नतिजा देखाउने समय हो । यसमा सबै खेलाडी तयार छन् । हाम्री पहिलोपटक च्याम्पियन बन्न मिहिनेत गर्छौँ । फाइनल पुगेका दुवै टिम राम्रा छन् । ललितपुरविरुद्ध विशेष रणनीति हुनेछ ।
प्रतिस्पर्धात्मक हुने अपेक्षा छ : नवयुग श्रेष्ठ, कप्तान, पोखरा
यो लिगको उपाधि जित्नु अर्थपूर्ण छ । फाइनलमा राम्रो प्रदर्शन गर्दै उपाधि उचाल्ने प्रयास गर्छौँ । अहिलेसम्म उत्कृष्ट प्रदर्शन गरी यहाँसम्म (पोखरा) पुगेको छ । अब निर्णायक खेलमा पोखराले संयमित भएर खेल्नेछ । व्यक्तिगत रूपमा एनएसएल ट्रफी जित्नु महत्वपूर्ण छ । अपराजित ललितपुरविरुद्धको फाइनल प्रतिस्पर्धात्मक हुने अपेक्षा छ ।