१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 26 April, 2025
शिवहरि घिमिरे काठमाडाैं
Invalid date format o९:१९:oo
Read Time : > 3 मिनेट
फिचर प्रिन्ट संस्करण

जादुगर सर

जसले देखाउन सक्छन् दुई हजारभन्दा बढी जादु 

Read Time : > 3 मिनेट
शिवहरि घिमिरे, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format o९:१९:oo
  • शिक्षक आन्दोलनमा काठमाडौं आएका पर्साका देवेन्द्रप्रसाद जादु देखाउनमै व्यस्त छन् । दुई हजारभन्दा बढी जादु देखाउन सक्ने दाबी गर्ने उनले जारी आन्दोलनमा मात्रै डेढ सय जादु देखाइसके । 

जसले देखाउन सक्छन् दुई हजारभन्दा बढी जादु 
करिब एक महिनाअघिसम्म देवेन्द्रप्रसाद साहको परिचय थियो, शिक्षक, नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, पर्सा । उनलाई विद्यार्थी र विद्यालय रहेको बिन्दबासिनी गाउँपालिका–२ आसपासबाहेक अन्यले मुस्किलले चिन्थे । तर, अहिले उनलाई सामाजिक सञ्जालमा फलो गर्ने हजारौँ छन् । पत्रपत्रिका, टेलिभिजन र अनलाइन माध्यममा अन्तर्वार्ता दिन उनलाई भ्याई–नभ्याई छ । 

शिक्षक आन्दोलनमा सहभागी हुन काठमाडौं आएका साहलाई एक्कासि भ्याई–नभ्याईको स्थितिमा पुर्‍याउने अवस्था उनको जादुकलाले बनाएको हो । नयाँ बानेश्वरको बिजुली बजारमा जारी शिक्षक आन्दोलनमा देखाएको जादुले उनी ‘सेलिब्रेटी’जस्तै बनेका छन् । आन्दोलनका क्रममा उनीसँग सेल्फी खिच्ने र जादु देखाउन अनुरोध गर्नेहरूको अचेल भिड देखिन्छ । यही कलाका कारण उनी भिडमा पनि चम्किरहेका पनि छन् । 

जादु हेर्न मात्र होइन, उनको भाषण सुन्न मन पराउने पनि उत्तिकै छन् । आन्दोलनरत शिक्षकहरू त झन् उनको फ्यान बनेका छन् । यस्तै, बाटो हिँड्ने यात्रुसमेत उनको जादुमा रोकिन्छन्, मोबाइल निकालेर भिडियो बनाउन थाल्छन् । फ्यानहरूको भिडबाट मुस्किलले फुत्किएका देवेन्द्रप्रसादले भने, ‘सबैजसो जादु तन्त्रविज्ञानमा आधारित हुन्छन् । चाहेर मात्रै जादु सिकिँदैन ।’ जादु उनले कसरी सिके त ? उनको जवाफ थियो– जादु देखाउन थालेको १५ वर्ष हाराहारी भयो । ८ कक्षा पढ्दैदेखि जादु सिकेको हुँ ।’ ०५९ सालतिर उनको गाउँमा एकजना जादुगुरु आएका रहेछन् । गुरुले देखाएको कलाप्रति उनी यसरी मोहित भए कि यस्तो चमत्कार देखाउन सकिएला भनेर गुरुलाई भेट्न गए । ती जादुगुरु एक दिन पर्सामै बसेका थिए । भेटेमा आफूलाई पनि जादु देखाउने कला सिकाइदिन आग्रह गरे । गुरुले उनलाई ६ वटा तरिका र ६ वटा तान्त्रिक ज्ञान दिए । देवेन्द्रप्रसादले सुरुमा तान्त्रिक ज्ञानलाई व्यवहारमा लागू गरेर ६ वटा जादु सिके ।

पछि ११, १२ कक्षामा पढ्दा उनले ठाकुरराम क्याम्पसमा पनि जादु देखाउन थाले । उनको जादु हेर्न शिक्षक र साथीहरू झुम्मिन्थे । ‘अरूले चाख मानेपछि जादु देखाउन झन् रहर लाग्यो, गुरुले सिकाएको तान्त्रिक विधि र तरिका अभ्यास गर्न थालेँ,’ उनले सुनाए, ‘पढाइ र जादुकला दुवैलाई अघि बढाएँ, कक्षा ८ मा पढ्दा गुरुले सिकाएको जादुमा एसएलसी दिने वेलासम्म मैले एक प्रकारको सिकाइ हासिल गरिसकेको थिएँ, स्नातक तह र स्नातकोत्तर ठाकुराम क्याम्पसबाट गरेँ ।’ 

पेसा पूर्णकालीन शिक्षक, रुचि जादुकला
उनको पेसा पूर्णकालीन शिक्षक हो । तर, रुचि भने जादुकलामा पनि छ । ‘करिकुलमअनुसार कक्षाकोठामा पढाउँछु, दैनिक पाँचवटा कक्षा लिन्छु,’ उनले भने, ‘जादु मेरो रुचि हो । कहिलेकाहीँ कक्षाकोठामा पनि जादुकला प्रयोग गर्छु, यसले सिकाइलाई राम्रो बनाउँछ ।’ 

काठमाडौंमा जारी शिक्षक आन्दोलनमा उनले १५० वटा जादु देखाइसकेका छन् । दुई हजारभन्दा बढी जादु देखाउन सक्ने उनी बताउँछन् । सबैजसो जादु तन्त्रविज्ञानमा आधारित हुने र जोकोहीले चाहेर मात्रै जादु नसिकिने उनको बुझाइ छ । ‘जादुमा पनि तन्त्रमन्त्र र विज्ञान हुन्छ, यहाँ जोकोहीले सिक्छु भनेर हुँदैन । ध्यान, तपस्या तथा कला चाहिन्छ,’ उनले भने, ‘त्यो कला भित्रैदेखि आउनुपर्छ, जादु एउटा सिर्जनशील कार्य हो, आइडिया र ट्रिक्ससमेत उत्तिकै चाहिन्छ ।’

उनले हालसम्म दुई हजारभन्दा बढी जादु देखाइसकेका छन् । गाउँठाउँमा कुनै मेला महोत्सव, सांस्कृतिक कार्यक्रम, जमघटमा जादु देखाएर रमाइलो माहोल बनाउँछन् । जादु देखाउँदा चाहिने सामान पनि उनी आफैँ तयार पार्छन् । यी सामान धेरै खर्चिलो नहुने उनको भनाइ छ ।

नाम त दियो, दाम आउनेतर्फ जोडिएन 
जादुकलाले उनलाई देश–विदेशसम्म चिनाए पनि यसबाट उनले आम्दानी भने गर्न सकेका छैनन् । ‘जादुले चिनायो तर यसलाई आर्थिक उपार्जनमा जोड्न सकेको छैन । कतिपयले जादु देखाएर जीविका चलाउनुभएको छ पनि होला, तर मैले अर्थोपार्जनसँग जोड्न सकेको छैन,’ उनले भने, ‘जादु र शिक्षण सिकाइको आपसमा समेत सम्बन्ध छ । सिकाइमा पनि कला चाहिन्छ, जादुमा त कला अनिवार्यजस्तै हुन्छ । ट्रिक्स वा कला भएन भने पढाउन पनि सकिँदैन, त्यस्तै जादु पनि देखाउन सकिँदैन । जादु कलालाई शिक्षण सिकाइमा प्रयोग गर्दा सिकाइ अझ प्रभावकारी हुने गरेको अनुभव छ ।’ उनले विद्यार्थीलाई रिफ्रेसमेन्टका लागि कहिलेकाहीँ जादु देखाउने गर्छन् । उनले भने, ‘यसपटक काठमाडौं आउँदा यति धेरै भाइरल हुन्छु भनेर सोचेकै थिइनँ, यसले देशैभर चिनाएको छ, मानिसले मेरो कला देख्नु र चिन्नु भनेको चानचुने कुरा होइन ।’

जादुमा हुन्छ भ्रम र चमत्कार 
देवेन्द्रप्रसाद जादुलाई भ्रम र चमत्कारका रूपमा लिन्छन् । मानिसलाई रहस्यको पोको खोलेर देखाउन सजिलो छैन । अनेक ट्रिक्स लगाउनुपर्छ । ‘जादु भनेको चमत्कार हो, केही न केही नयाँ कुरा रच्नु हो, जादुले पढेलेखेका, अनुसन्धाता, वैज्ञानिक, अविष्कारमा केन्द्रित मानिसको दिमागसमेत घुमाइदिन्छ, उनीहरूको मस्तिष्कमा प्रश्न उब्जाउँछ,’ उनले सुनाए, ‘जादु देखाउन तन्त्रको बढी आवश्यकता पर्छ, तन्त्र भनेको तरिका हो, जुनसुकै जादुगरले जादु देखाउनुहुन्छ भने तन्त्रको ज्ञान लिएकै हुन्छ, तरिका सिको गरिएन भने जादु देखाउन सकिँदैन ।’

उनका अनुसार जादुकलामा अध्ययन र एकाग्रता चाहिन्छ । सिको गर्न धैर्यता चाहिन्छ । तान्त्रिक विद्या लिन एक घण्टादेखि एक सातासम्म पनि लाग्छ । कुनै–कुनै जादु सिक्न महिनौँ पनि लाग्छ । ‘कुनै कुनै जादु मानिस उडाउने, गाडी उडाउने, कागज खाएर फलाम निकाल्ने किसिमका हुन्छन् र वास्तविकता नै जस्तो हुन्छन् । कतिपय जादुको स्टेप हुन्छन्, जादुमा भित्री अर्थात् सेक्रेट कुरा सिक्ने तन्त्रबाट हो, यसमा अभ्यास धेरै गर्नुपर्छ,’ उनले सुनाए, ‘जादुको आफ्नै सूत्र र तन्त्र छ ।’ 

जादुमा सिपालु भए पनि उनी शिक्षण पेसा नछाड्ने बताउँछन् । ‘जादु देखाएर खान पुग्दैन, यो रमाइलो हो । पेट पाल्न त पढाउनैपर्छ, शिक्षण पेसाप्रति मेरो छुट्टै झुकाव पनि छ । तर, शिक्षक नभएको भए सायद जादुगर हुन्थ्यो होला,’ उनले भने ।

राहत शिक्षकलाई सरकारले बेवास्ता गरेको देवेन्द्रको गुनासो 
उनी १५ वर्षदेखि राहत शिक्षका रूपमा कार्यरत छन् । अब आउने शिक्षा ऐनमा राहत शिक्षकमा मागहरू समेटिनुपर्ने उनको भनाइ छ । उनका अनुसार ४५ हजार राहत शिक्षकलाई सरकारले अन्याय गरेको छ । ‘सरकारले राहत शिक्षकलाई बेवास्ता गरेको छ, उमेर हुँदाखेरि नियुक्ति गरेको थियो । तर, अहिले स्थायी लड्ने उमेर कटिसक्यो, अहिले आएर निकाल्ने कुरा गर्न मिल्दैन, राहत शिक्षकमा आवाजलाई ऐनमा समेटिनुपर्छ, सरकारले शिक्षकलाई हेर्ने दृष्टिकोण राम्रो नभएका कारण यो पेसालाई अपहेलित पेसाको रूपमा राख्नुहुँदैन ।’