
धादिङको रुबीभ्याली गाउँपालिका– ४ बोराङका सुकबहादुर लामा नालीमा मृत भेटिएका छन् । लामा नीलकण्ठ नगरपालिका– ४ रायटार प्लटिङमा नालीमा मृत भेटिएका हुन् । प्लटिङबाट आँपखोलातर्फ जाने सडकको नालीमा लडिरहेको अवस्थामा करिब ५५ वर्षीय लामा मृत भेटिएको रुबीभ्याली गाउँपालिका– ४ का वडाध्यक्ष प्रशान्त तामाङले जानकारी दिए । सुकबहादुर लामाको परिवार केही समयअघिदेखि प्लटिङनजिकै बस्दै आएका थिए ।
लामा मृत भेटिएको क्षेत्रमा हिजो राति युवाहरूबिच होहल्ला भएको र सामान्य झगडा पनि भएको स्थानीयहरूले बताएका छन् । घटनास्थलमा अहिले प्रहरीले सिल गरी अनुसन्धान गरिरहेको छ । घटनास्थलबाट शव उठाएर मृत्युको कारणबारे थप अनुसन्धान गरिने प्रहरीले जनाएको छ ।