१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख १२ शुक्रबार
  • Friday, 25 April, 2025
फाइल
रासस न्यूयोर्क
२o८२ बैशाख १२ शुक्रबार १४:१६:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

गाजामा खाद्यान्न, इन्धन र खोपको चरम अभाव

Read Time : < 1 मिनेट
रासस, न्यूयोर्क
नयाँ पत्रिका
२o८२ बैशाख १२ शुक्रबार १४:१६:oo

प्यालेस्टिनी शरणार्थीहरूका लागि संयुक्त राष्ट्र राहत तथा कार्य एजेन्सी (युएनआरडब्लुए)ले गाजामा करिब ५० दिनदेखि जारी नाकाबन्दीका कारण खाद्यान्न, इन्धन, खोप र चिकित्सा सामाग्रीजस्ता अत्यावश्यक वस्तुहरूको चरम अभाव भएको जनाएको छ।

गाजाको पछिल्लो अवस्थाबारे जानकारी दिँदै एजेन्सीले खाद्य अभाव अत्यधिक भएको र लाखौँ मानिस दैनिक जीवनका लागि आवश्यक सामग्रीको चरम अभावमा रहेको उल्लेख गरेको छ।

संयुक्त राष्ट्रसंघका प्रवक्ता स्टेफेन डुजारिकले गाजाको अवस्था अत्यन्त चिन्ताजनक भएको बताउँदै बालबालिकाहरू कुपोषणको उच्च जोखिममा रहेको र बिरामीहरूले उचित उपचार नपाई ज्यान गुमाउनुपरेको दुःखद अवस्था रहेको उल्लेख गरे। उनले मानवीय दृष्टिले नाकाबन्दी तुरुन्त हटाइनु आवश्यक रहेको धारणा व्यक्त गरे।

विश्व खाद्य कार्यक्रम (डब्लुएफपी)ले जारी गरेको पछिल्लो बजार अनुगमन प्रतिवेदनअनुसार गाजाको नाजुक अर्थतन्त्रमा नाकाबन्दीका कारण अत्यावश्यक वस्तुहरूको मूल्यमा १५० देखि ७०० प्रतिशतसम्म वृद्धि भएको देखिएको छ। यसले आमजनताको जीवनस्तरमा गहिरो असर पारेको छ।

युएनआरडब्लुएका अनुसार धेरै परिवार इन्धनको अभावका कारण फोहोर सामग्री वा काठ जलाएर खाना पकाउन बाध्य छन्, जुन स्वास्थ्य र वातावरण दुवैका लागि जोखिमपूर्ण मानिन्छ।

दैनिक प्रेस ब्रिफिङमा डुजारिकले कार्यवाहक मानवीय संयोजक सुजाना टकलेक तथा ओसिएचए (ओसिएचए) टोलीले डेर अल–बलाह र खान युनुस क्षेत्रको भ्रमण गरेको जानकारी दिए।