
सिराहाको गोलबजार नगरपालिका– ७ कदिमा टोलबाट चुरेक्षेत्र हुँदै साइकलमा लोड गरेर ल्याउँदै गरेको सालको चिरान काठ बरामद भएको छ । लहानस्थित डिभिजन वन कार्यालय र गोलबजार चोहर्वास्थित सबडिभिजन वनको संयुक्त गस्ती टोलीले बुधबार राति सात थान सालको चिरान काठ र तीन थान साइकल बरामद गरेको डिभिजनल वन अधिकृत शैलेन्द्रकुमार मिश्रले जानकारी दिए ।
उनका अनुसार सशस्त्र वन गस्ती टोली जिपमा चढेर उत्तरतिर जाँदै गरेको अवस्थामा साइकलमा चिरान काठ लोड गरेर आउँदै गरेको समूहले देखेपछि साइकल छोडेर भागेको थियो । ‘राति र अँध्यारोको फाइदा उठाउँदै काठ ल्याउँदै गरेकाहरू साइकल छोडेर भागेपछि गस्ती टोलीले काठ र साइकल नियन्त्रणमा लिएको हो,’ उनले भने ।
उनका अनुसार बरामद भएको काठ र साइकल डिभिजन वन कार्यालय ल्याइएको छ । सिराहाको चुरे क्षेत्रमा बचेखुचेका साल प्रजातिका काठ स्थानीय काठतस्करले जंगलमै चिरान गरी भरियामार्फत गोलबजार क्षेत्र कटाएर महँगो मूल्यमा बिक्री गरिरहेको एक स्थानीयले बताए । ‘त्यसबापत तस्करबाट स्थानीय वन कर्मचारीले पनि रकम लिन्छन्,’ नाम उल्लेख नगर्ने सर्तमा उनले भने, ‘रकम लेनदेन नमिलेपछि मात्र गस्तीमा गएजस्तो गरेर थोरै परिमाणमा काठ समात्ने गरेका छन्।’ ‘त्यस्तो नहुँदो हो त किन मुख्य तस्कर अहिलेसम्म समातिएका छैनन्,’ उनको प्रश्न छ ।