मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Tuesday, 29 July, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format o९:१o:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

आज लोकतन्त्र दिवस

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format o९:१o:oo

आज देशभर १९औँ लोकतन्त्र दिवस प्रजातान्त्रिक तथा लोकतान्त्रिक संघर्षमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने सहिदहरूप्रति श्रद्धाञ्जली अर्पणलगायत विभिन्न कार्यक्रम गरी मनाइँदै छ । तत्कालीन राजा ज्ञानेन्द्र शाहले ०५९ जेठ ८ मा विघटित संसद्को पुनर्स्थाना गरी आफू देशको कार्यकारी प्रमुखबाट हटेको तथा निरंकुशता पराजय भएको ०६३ वैशाख ११ को स्मरण गर्दै लोकतन्त्र दिवस मनाइने गरिएको छ ।

त्यस दिन पूर्वराजा शाहको घोषणामा भनिएको थियो, ‘राज्यशक्तिको स्रोत नेपाली जनता नै भएको र नेपालको सार्वभौमसत्ता र राजकीयसत्ता नेपाली जनतामा नै निहित रहेको तथ्यलाई हृदयंगम गर्दै वर्तमान जनआन्दोलनमार्फत अभिव्यक्त भएको जनभावनाअनुरूप प्रतिनिधिसभालाई पुनर्स्थापित गरिएको छ।’ निरंकुशताको विरोधमा आन्दोलनरत सात राजनीतिक दल र तत्कालीन विद्रोही नेपाल कम्युनिस्ट पार्टी (माओवादी)सहितको सहभागितामा भएको जनआन्दोलनको बलमा उक्त घोषणामार्फत ०६३ वैशाख १५ गते प्रतिनिधिसभाको बैठक आह्वान गरिएको थियो ।
 
जनआन्दोलनका बलमा स्थापना भएको लोकतन्त्रपछि भएका दुईवटा संविधानसभाको निर्वाचनद्वारा गठित संविधानसभाबाट ०७२ साल असोज ३ गते जारी संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानले नेपाललाई संघीयतामा प्रवेश गराएको हो । सोहीबमोजिम संघ, प्रदेश र स्थानीय तहको दुईपटक निर्वाचन भई अहिले मुलुक संघीयताको अभ्यासमा छ ।
 
राज्यद्वारा उपलब्ध गराउनुपर्ने सेवासुविधा जनताको घरदैलोमै सरल र सहज रूपमा पुर्‍याउने तथा विपतका वेलामा तत्कालै राहत र सहयोग उपलब्ध गराउने सन्दर्भमा संघीयताको अभ्याससँगै संघ, प्रदेश र स्थानीय तहबिचको समन्वयले प्रभावकारी र सकारात्मक नतिजा प्रदान गर्दै आएको छ ।

यसैबिच, लोकतन्त्र दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै परिवर्तन र शान्तिकामी राजनीतिक दलका नेताहरूले देशको समृद्धिका निम्ति सबै शक्ति एकजुट हुनुपर्नेमा जोड दिएका छन् । लोकतन्त्रभन्दा राम्रो अर्को शासन व्यवस्था हुन नसक्ने भएकाले यसै कुरालाई हृदयंगम गरी सम्पूर्ण राजनीतिक शक्ति  समृद्धितर्फ केन्द्रित हुनुपर्ने आवश्यकता औँल्याइएको छ । ०६२/६३ को आन्दोलनपछि तत्कालीन राजाको प्रत्यक्ष र निरंकुश शासनको अन्त्य भएको दिनको सम्झनामा ०६५ सालदेखि वैशाख ११ गते लोकतन्त्र दिवस मनाउन थालिएको हो ।