
राष्ट्रिय फुटबल महिला टोलीका खेलाडीले भरिएको एपिएफविरुद्ध रौतहटको बहादुरी प्रदर्शन
एपिएफ क्लब पहिलो संस्करणको लुम्बिनी कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बाँकेको नेपालगन्ज रंगशालामा बुधबार भएको दोस्रो सेमिफाइनलमा एपिएफले रौतहटलाई ३–० ले हराउँदै अन्तिम दुईमा स्थान पक्का गरेको हो । अब ११ वैशाखमा एपिएफले उपाधि भिडन्तमा नेपाल पुलिस क्लबको सामना गर्नेछ । पुलिसले त्रिभुवन आर्मी क्लबलाई सडनडेथमा हराउँदै फाइनलमा स्थान बनाएको थियो ।
रौतहटविरुद्ध एपिएफलाई जिताउन अनिता केसी, निशा थोकर र सविता रानामगरले समान एक गोल गरेका थिए । एपिएफले मोफसलमा लगातार तेस्रोपटक आयोजना भएको प्रतियोगिताको फाइनल खेल्न लागेको हो । एपिएफले इलाम र चितवन गोल्डकप उपाधि जितेको थियो । राष्ट्रिय टोलीका लगभग सबै खेलाडी समावेश एपिएफले महिला लिगको उपाधि पनि जितेको थियो ।
एपिएफकी कप्तान अनिता बस्नेतले फाइनलमा पुलिसलाई कमजोर रूपमा नलिने बताइन् । बस्नेतले पुलिस राम्रो प्रतिद्वन्द्वीका रूपमा रहेको बताइन् । ‘घरेलु फुटबलमा पुलिसलाई कहिले पनि कमजोर लिन मिल्दैन,’ बस्नेतले भनिन्, ‘उनीहरू राम्रा छन्, तर हामी उपाधि उचाल्छौँ ।’ रौतहटका प्रशिक्षक भोजराज घिमिरेले एपिएफविरुद्ध राम्रो खेल्दा पनि पराजित भएको बताए ।
रौतहटविरुद्ध एपिएफले अग्रता लिन निकै संघर्ष गर्नुपर्यो । खेलको ७२औँ मिनेटमा एपिएफले १–० को अग्रता लियो । गोलरक्षक उषासँगै युवा खेलाडीहरू सेनु परियार, सिमरन राई, सविता चौधरी, जेनिफर राना, पियाली राओले राम्रो खेल देखाए पनि एपिएफ दबाबमै देखिन्थ्यो । यसअघि रौतहटबाट खेलेका आठ खेलाडी एपिएफको जर्सीमा थिए । बस्नेतको कप्तानीमा रहेको एपिएफमा रेनुका नगरेकोटे, अञ्जना रानामगर, सविता रानामगर, अनिता केसी, रश्मिकुमारी घिसिङ, सजनी थोकर, निशा थोकर, मञ्जलीकुमारी योञ्जनले कुनै समय रौतहटबाट विभिन्न प्रतियोगिता खेलेका थिए । आठ खेलाडीसँगै गीता राना, मनमाया दमाईं, अञ्जलीकुमारी योञ्जनले राष्ट्रिय टिमको अनुभव लिइसकेका छन् ।
दोस्रो हाफमा सम्हालिन नसकेको रौतहट
खेलको ७३औँ मिनेटमा अनिता केसीले एपिएफलाई अग्रता दिलाइन् । वैकल्पिक खेलाडी रेनुका हमालले मिलाएको पासमा अनिताले सहज गोल गरेकी हुन् । ८०औँ मिनेटमा निशाले हेडिङ गोल गर्दै टोलीलाई २–० को स्थितिमा राखिन् । बस्नेतको कर्नरमा डिबक्सभित्र अनर्माकमा रहेकी निशाले सहजै हेडिङ गोल गरिन् । ९०औँ मिनेटमा सविताले ३–० का लागि गोल गरिन् ।
खेलाडीले अवसर सदुपयोग गरेनन् : भगवती थापा, प्रशिक्षक, एपिएफ
खेलाडीले प्राप्त अवसरमा गोल गर्न सकेनन् । पहिलो हाफमा गोल नहुँदा दबाबमा पर्यौँ । दोस्रो हाफमा खेल रणनीति परिवर्तन भयो । यसले खेलमा नतिजा पनि ल्यायो । पहिलो गोलसँगै खेलमा नियन्त्रण लियौँ । त्यसपछि विपक्षीमाथि दबाब राख्यौँ । रौतहटले रक्षात्मक खेल खेल्दा गाह्रो भयो । आशा छ, पुलिसविरुद्ध फाइनल रोमाञ्चक हुनेछ ।