१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख ९ मंगलबार
  • Tuesday, 22 April, 2025
२o८२ बैशाख ९ मंगलबार १४:५३:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

भ्रष्टाचारमा कैद सजाय पाएका पूर्ववडाध्यक्ष किर्ते जालसाजीमा पक्राउ

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८२ बैशाख ९ मंगलबार १४:५३:oo

विद्यालय भवन निर्माण नै नगरी मिलेमतोमा निर्माण सम्पन्न भएको किर्ते सिफारिसमा पालिकाबाट रकम भुक्तानी लिएको घटनामा भ्रष्टाचारी ठहर भई कैद सजाय भएका सिराहाको नवराजपुर गाउँपालिका– २ मझौराका पूर्ववडाध्यक्ष करिब ३७ वर्षीय खुसीलाल साह किर्ते जालसाजी मुद्दामा पक्राउ परेका छन्। 

पूर्ववडाध्यक्ष साहलाई प्रहरीले किर्ते जालसाजी मुद्दामा पक्राउ गरी सोमबारदेखि लागू हुने गरी सिराहा जिल्ला अदालतबाट पहिलोपटक सात दिनको म्याद लिएर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। आफ्नै घरमा लुकिछिपी बसिरहेको अवस्थामा उनलाई इलाका प्रहरी कार्यालय महेशपुर पतारबाट खटिएको प्रहरी टोलीले पक्राउ गरी त्यही दिन अदालतमा उपस्थित गराएको सिराहा प्रहरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानले जानकारी दिए। उनका अनुसार गत फागुनमा वडा कार्यालयले सरकारी कागज किर्ते र ठगीविरुद्ध उजुरी दिएपछि फरार रहेका साहलाई खोजतलासको क्रममा पक्राउ गरिएको हो। 

किर्ते गरी आफ्नी आमालाई घरबाटो सिफारिस
पूर्ववडाध्यक्ष साहले १९ माघ ०८० मा वर्तमान वडाध्यक्ष सुरेशकुमार यादवको नक्कली हस्ताक्षर र वडा कार्यालयको छापसमेत किर्ते गरी आफ्नी आमालाई घरबाटो सिफारिस बनाएर दिएपछि जग्गा बिक्री गरेको वडा कार्यालयको उजुरीमा उल्लेख छ। आफ्नी आमा कुलमतियादेवीलाई वडा कार्यालयलाई जानकारी नदिई नक्कली घरबाटो प्रमाणित सिफारिसमा साहले वडाध्यक्षको किर्ते हस्ताक्षर, छाप तथा चलानी नम्बर हालेर लहानस्थित मालपोत कार्यालयमा पेस गरी जग्गा बिक्री गरेको उजुरीमा जनाइएको छ। 

उक्त नक्कली सिफारिसको आधारमा साबिक गाविस मझौरा– ८ कित्ता नम्बर ४९१ को चार कठ्ठा चार धुर जग्गा बिक्री गरेको भन्दै १३ फागुन ०८० मा वडाले दिएको उजुरीमा सरकारी कागज छाप किर्ते र ठगीसम्बन्धी कसुरमा मुलुकी अपराधसंहिता २०७४ को दफा २७६, २७७ र २४९ (१) बमोजिम कारबाहीको माग गरिएको छ। 

भ्रष्टाचार कसुरमा कैद
स्थानीय तहको पहिलो निर्वाचनमा नेपाली कांग्रेसबाट नवराजपुर गाउँपालिका– २ को वडाध्यक्ष निर्वाचित साह दोस्रो निर्वाचनमा टिकट नपाएपछि नेकपा एमाले प्रवेश गरी गाउँपालिका अध्यक्षमा लडेर तेस्रो स्थानमा खुम्चिएका थिए। त्यसलगत्तै उनी पुनः कांग्रेसमै फर्किएका थिए।

आर्थिक वर्ष ०७७/७८ को बजेटबाट नवराजपुर– २ मा रामजानकी दलित आधारभूत विद्यालय भवन निर्माण नै नगरी १४ लाख ५१ हजार ५५१ रुपैयाँ भुक्तानी लिई भ्रष्टाचार गरेको ठहरसहित जरिवाना र कैद सजाय पाएका पालिका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, लेखापाल गरी १४ जनामध्ये पूर्ववडाध्यक्ष पनि दोषी ठहर भएका थिए। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा दायर गरेको भ्रष्टाचार मुद्दामा २५ भदौमा फैसला सुनाउँदै अदालतले साहसहित १४ जनालाई दोषी ठहर गरेको थियो।