
एक निजी कम्पनीमा काम गर्ने सरोज आफ्नो जिन्दगीदेखि कत्ति पनि सन्तुष्ट थिएनन् । हरेक समय उनी कुनै न कुनै समस्याबाट पीडित रहन्थे । एकपटक उनको सहरनजिकै एक सन्तको समूह आइपुग्यो । सन्तले हरेक समस्याको समाधान निकाल्छन् भन्ने चर्चा सुनिन्थ्यो । त्यसैले, सरोज पनि उनलाई भेट्न पुगे । उनले लामो प्रतीक्षापछि सन्तलाई भेटेर आफ्नो समस्या सुनाए । उनको समस्या सुनेर सन्त मुस्कुराए र भने– बाबु, आज साँझ पनि पर्न लागिसक्यो । म तिम्रो समस्याको समाधान भोलि बताउनेछु । के तिमी आज यहीँ बसेर मेरो एउटा काम गरिदिन सक्छौ ?
सरोजले उत्साहसाथ भने– भन्नुहोस् न साधुबाबा, म गरिहाल्छु नि । सन्तले भने– हेर न बाबु हाम्रो समूहमा सयवटा उँट छन् । आज उँटको हेरचाह गर्ने मानिस बिरामी छ । त्यसैले, तिमीले तिनको हेरचाह गरिदिए बडो राम्रो हुने थियो । अनि, जब ती सयमा सय उँट नै बस्नेछन्, तब तिमी सुते हुन्छ है ! यति भनेर सन्त आफ्नो कक्षतिर गए । अर्को बिहान जब सरोजको सन्तसित भेट भयो । सन्तले प्रश्न गरे– बाबु, राति राम्ररी निदायौ नि ?
सरोजले दुःखी हुँदै जवाफ दिए– कहाँ निदाउन पाउनु र बाबा ? लाख कोसिस गर्दा पनि सबै उँटलाई बसाउनै सकिनँ । एउटा न एउटा त उठिरहेकै हुन्थ्यो । सन्तले भने– हो, यस्तै हुन्छ भन्ने मलाई थाहा थियो । राति तिमीले लाख कोसिस गर्दा पनि सबै उँटलाई एकसाथ बसाउन सकेनौ । एउटालाई बसाउँदाबसाउँदै अर्को उठिहालेझैँ तिम्रो जीवनमा पनि एउटा समस्याको समाधान गर्दा नगर्दै अर्को समस्या आइहाल्छ । कहिले बढी र कहिले कम मात्र हो, जीवन समस्यारहित त हुनै सक्दैन ।
त्यसैले, हामीले समस्याको बिचबाटै समाधान निकाल्न सक्नुपर्छ । कतिपय उँट आफैँ बसेजस्तै कतिपय समस्या पनि आफैँ समाधान भएर जान्छन् । कति समस्या जति कोसिस गर्दा पनि समाधान हुँदैनन् । तिनलाई वास्तै नगरी छाडिदिनुपर्छ । कतिपय समस्याको आफैँले कोसिस गर्दा समाधान निकाल्न सकिन्छ । जीवनमा हार नमान्ने हो भने समस्या कुनै ठुलो समस्या होइन ।