
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो १८औँ वार्षिक उत्सवको अवसरमा घरबारविहीन र मानसिक सन्तुलन गुमाएर सडकमा आश्रित करिब एक हजार नाै सय व्यक्तिलाई भोजनको व्यवस्था गरेको छ।
बैंकले ०८१ चैत २० देखि०८२ वैशाख ६ सम्म सडकआश्रित मानवहरूलाई १८ दिन भोजनको व्यवस्था गरेको हो। बैंकले आफ्नो १८औँ वार्षिक उत्सव यही वैशाख ७ गते मनाउँदै छ।
भोटुस्इन्दिरा समाज कल्याण संस्थासँगको सहकार्यमा काठमाडौंका जोरपाटी, चाबहिल, बौद्ध, मैतीदेवी, सेतोपुल, पुरानो बानेश्वर, भीमसेनगोला, बत्तीसपुतली, सिनामंगल, गौशालालगायतका स्थानमा नदीकिनार, सडकछेउमा र पुलमुनि बस्ने घरबारविहीन मानिसहरूलाई बैंकले भोजन वितरण गरेको हो।
साथै बैंकले वार्षिकोत्सवको अवसरमा चैत २ गतेदेखि वैशाख ५ गतेसम्म सातवटै प्रदेशमा निःशुल्क स्वास्थ्य शिविरहरूको आयोजना गरेको छ। कोशी प्रदेशको हल्दिबारी र महेन्द्रचोक, मधेश प्रदेशको विद्यापति चोक, बागमती प्रदेशको बुढानीलकण्ठ, गण्डकी प्रदेशको अमरापुरी, लुम्बिनी प्रदेशको हस्पिटललाइन र जितपुर, कर्णाली प्रदेशको श्रीनगर र दुल्लु तथा सुदूरपश्चिम प्रदेशको महेन्द्रनगरमा स्वास्थ्य शिविरहरू आयोजना गरेको थियो। यी स्वास्थ्य शिविरहरूबाट करिब एक हजार सात सयजना बिरामीले लाभ प्राप्त गरेका छन्।