
राजस्व अनुसन्धान विभागले टोखाको झोरमा बरामद २५ करोड रुपैयाँ तस्करीमा संलग्न सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिकाका नारायण पौडेल र कुसाङ लामालाई मात्रै प्रतिवादी बनाएको छ । उनीहरूविरुद्ध २५ करोड नै बिगोदाबी गर्दै विभागले मंगलबार जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको छ । घटना संगठित प्रकृतिको भए पनि उनीहरूविरुद्ध विभागले विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ अन्तर्गतको कसुर मात्रै लगाएको छ ।
विभागका महानिर्देशक चण्डिप्रसाद घिमिरेले २५ करोड रुपैयाँ बरामदका दुई प्रतिवादीविरुद्ध विदेशी मुद्रा अपचलनसम्बन्धी कसुरमा अनुसन्धान भई अदालतमा मुद्दा पेस गरिएको बताए । ‘गत ४ चैतमा टोखाको झोरमा विदेशी मुद्रासहित एकजना पक्राउ परेका थिए । घटनामा नारायण पौडेल जोडिए पनि उनी पक्राउ परेका छैनन् । अहिलेलाई दुईजनाविरुद्ध मात्रै मुद्दा दर्ता गरिएको छ । उनीहरूविरुद्ध २५ करोड ४४ लाख ७८ हजार ८४२ रुपैयाँ बिगो दाबी गरिएको छ । तस्करीमा अन्य व्यक्तिको संलग्नता देखिए उनीहरूविरुद्ध पनि मुद्दा चल्नेछ,’ उनले भने ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले ४ चैतमा टोखाको झोरबाट ना.७ख १६५२ नम्बरको कन्टेनरमा विभिन्न दरका अमेरिकी डलर र युरो बरामद गरेको थियो । जसको नेपाली दर २५ करोड १९ लाख २४ हजार ९५० रुपैयाँ थियो । प्रहरीका अनुसार उक्त रकम तस्करीको सुनको मूल्य भुक्तानी गर्ने उद्देश्यले रसुवाको केरुङ हुँदै चीन लगिँदै थियो । सोही क्रममा अनुसन्धान कार्यालयले रकम बरामद गरेको थियो । त्यसलगत्तै कार्यालयले बरामद रकमसहित घटनासँग सम्बन्धित सम्पूर्ण प्रतिवेदन विभागलाई बुझाएको थियो । घटना संगठित प्रकृतिको देखिएकाले अनुसन्धानमा कार्यालयले आफ्नो स्पेस मागेको थियो । तर, विभागले कानुनी व्यवस्था नभएको भन्दै कार्यालयको उपस्थितिलाई अस्वीकार गरेको थियो । करिब एक महिनाको अनुसन्धानका क्रममा विभाग रकमका मुख्य मालिक पौडेलसम्म पुग्यो । तर, त्यसपछिको जालो पहिल्याउन भने असमर्थ रह्यो । ‘तस्करीका क्रममा बरामद रकमको मुख्य मालिक नारायण पौडेल हुन् । उनी पक्राउ परेका छैनन् । पक्राउ परेको भए घटनाको थप जालो खुल्थ्यो । त्यसो हुँदा अहिलेलाई दुईजनाविरुद्ध मात्रै मुद्दा दर्ता गरेका छौँ,’ विभागका महानिर्देशक घिमिरेले भने ।
पौडेलविरुद्ध रेड नोटिस जारी गर्ने तयारी
तस्करीमा संलग्न पौडेल माओवादी नेता हुन् । उनी भोटेकोशी गाउँपालिकाका पूर्वअध्यक्ष राजकुमार पौडेलका सहोदर दाजु हुन् । राजकुमार माओवादीकै टिकटमा गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका थिए । ०७९ को निर्वाचनमा पनि उनी सोही गाउँपालिका अध्यक्षमा उठेका थिए । तर, उनी कांग्रेस उम्मदवार पासाङनुर्बु शेर्पासँग पराजित भएका थिए । राजकुमार ०७४ मा भएको २२ किलो सुन तस्करीमा संलग्न थिए । त्यसवेला नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले राजकुमारसहित ११ जनाविरुद्ध मुद्दा चलाएको थियो । सो घटनामा नारायण पौडेल पनि संलग्न रहेको प्रहरीको निष्कर्ष थियो ।
नारायण पौडेल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तस्कर भएको ३३ किलो सुन प्रकरणमा पनि जोडिएका थिए । उनका दाजु बच्चु पौडेल पनि उक्त घटनामा जोडिएका थिए । बच्चु भने कांग्रेसको राजनीतिमा सक्रिय छन् । उनका अर्का दाजु ध्रुव पौडेल एमालेमा आबद्ध छन् । उनी ०७४ को स्थानीय निकाय निर्वाचनमा सिन्धुपाल्चोक फुल्पिङकट्टी गाविस अध्यक्ष भएका थिए ।
नारायण त्यसअघि पनि उनी विदेशी विनिमय कसुरमा दोषी ठहर भई सजाय भोगेका प्रतिवादी थिए । तर, उनले त्यसपछि पनि उनले धन्दा छाडेका थिएनन् । गत ४ चैतमा टोखाको झोरमा बरामद रकम त्यसैको प्रमाण थियो । रकम बरामद भएलगत्तै उनी भूमिगत भएका थिए ।
राजस्व अनुसन्धान विभागले घटनाको अनुसन्धान १२ चैतदेखि मात्रै गरेको थियो । घटनामा संलग्न रहेको तथ्य खुलेपछि विभागले उनको खोजी गरेको थियो । यसक्रममा टोखा नगरपालिका– १ महादेवटारस्थित उनको निवास पनि पुगेको थियो । विभाग टोलीले निवासमा केही दिन एम्बुस पनि थापेको थियो । उनी आउन सक्ने अवस्था नभएपछि विभागले उनको निवास खनतलासी गरेको थियो । तर, निवासमा घटनालाई सपोर्ट गर्ने कुनै सामग्री फेला पर्न सकेन । विभाग स्रोतका अनुसार उनले नेपाल छाडिसकेका छन् । त्यसो हुँदा उनीविरुद्ध रेड कर्नर नोटिस जारी गर्न विभागले प्रहरीलाई पत्राचार गरिसकेको छ । विभागका महानिर्देशक घिमिरेले पौडेलविरुद्ध रेड कर्नर नोटिस जारी गर्न प्रहरीलाई पत्राचार भएको बताए । ‘पौडेलले नेपाल छाडेको सूचना छ । त्यसो हुँदा उनीविरुद्ध रेड कर्नर नोटिस जारी गर्न प्रहरीलाई पत्राचार भएको छ । प्रक्रिया अघि बढ्दै होला,’ उनले भने ।