
नयाँ वर्षको दिन धनकुटामा दुईजनामाथि छुरा प्रहार भएको छ । धनकुटा नगरपालिका– ५ बिहीबारे हटियानजिक सोही स्थानका १७ वर्षीय कुशल राई र १७ वर्षीय आयुष राईमाथि छुरा प्रहार भएको हो । छुरा प्रहारबाट कुशलको टाउको र ढाडमा र आयुषको गर्धन र बाँया पाखुरामा चोट लागेको जिल्ला प्रहरी कार्यालय धनकुटाका डिएसपी ओमप्रकाश खनालले जानकारी दिए ।
उनीहरूको अहिले धनकुटा अस्पतालमा उपचार भइरहेको छ । उनीहरूको स्वास्थ्य खतरामुक्त रहेको प्रहरीले बताएको छ । उक्त घटनामा संलग्न भएको आरोपमा धनकुटा नगरपालिका–६ नासलचोकका १९ वर्षीय रुसुक नेवा खड्गी र धनकुटा नगरपालिका– ७ का १८ वर्षीय लाजिहाङ लिम्बूलाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी टोलीले खड्गीलाई नासलचोकबाट र लिम्बूलाई शिवमन्दिरबाट पक्राउ गरेको हो । पक्राउ गरी गरिएको प्रारम्भिक अनुसन्धानमा पुरानो रिसिबीका कारण छुरा प्रहार भएको आशंका प्रहरीले गरेको छ । अनुसन्धानको क्रममा आज बिहान थप दुवै पक्षबाट दुई–दुईजना गरी चारजना नाबालकहरूलाई पक्राउ गरी घटनाको सोधपुछ भइरहेको प्रहरीले बताएको छ ।