Skip This
निजीकरण गर्न सिफारिस उदयपुर सिमेन्ट सञ्चालनका लागि मर्मत हुँदै
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख २ मंगलबार
  • Wednesday, 16 April, 2025
२o८२ बैशाख २ मंगलबार o७:५५:oo
Read Time : > 2 मिनेट
अर्थ प्रिन्ट संस्करण

निजीकरण गर्न सिफारिस उदयपुर सिमेन्ट सञ्चालनका लागि मर्मत हुँदै

६ महिनापछि एक दिन चलेर बन्द भयो हेटौँटा सिमेन्ट

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८२ बैशाख २ मंगलबार o७:५५:oo

उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले हेटौँटा सिमेन्ट र उदयपुर सिमेन्टको सम्पत्ति तथा दायित्व मूल्यांकन (डिडिए) गरी एक–आपसमा गाभ्न र निजी क्षेत्रलाई सेयरको ठुलो हिस्सा बिक्री गर्न सुझावसहितको प्रतिवेदन दिएको छ । शुक्रबार सार्वजनिक भएको प्रतिवेदनमा भनिएको छ, ‘हेटौँटा सिमेन्ट उद्योग र उदयपुर सिमेन्ट उद्योगको डिडिए गरेर गाभ्ने अनि सरकारको केही हिस्सा मात्र राखेर निजी क्षेत्रलाई सेयर बिक्री गर्ने ।’

पूर्वअर्थसचिव रामेश्वर खनालको नेतृत्वमा सरकारले गठन गरेको शक्तिशाली आयोगले निजीकरण गर्न सुझाव दिए पनि दुवै उद्योग व्यवस्थापनले सञ्चालनका लागि अन्तिम प्रयास गरिरहेका छन् । राजनीतिक हस्तक्षेप र व्यवस्थापकीय लापरबाहीले चरम नोक्सानी व्यहोरिरहेका दुवै उद्योग तीन वर्षयता राम्ररी सञ्चालन हुन सकेका छैनन् । चालू आर्थिक वर्ष ०८१÷८२ को सुरुवातबाटै बन्द हेटौँडा सिमेन्ट अथक प्रयासपछि गत सोमबार एक दिन चलेर बन्द भयो । 

उद्योगका निमित्त महाप्रबन्धक नवीन कर्णले पुरानो मेसिनरी (फ्री हिटर) बिग्रेकाले उद्योग एक दिन मात्रै चलेर बन्द भएको जानकारी दिए । बिग्रिएको मेसिन मर्मत भइरहेकाले पुनः सञ्चालनको प्रयास जारी रहेको उनको भनाइ छ । डेढ वर्षदेखि नेतृत्वविहीन उदयपुर सिमेन्ट भने चालू आवमा १८ दिन मात्रै सञ्चालन भएको छ । उद्योग अहिले बन्द अवस्थामा रहेको निमित्त महाप्रबन्धक महेशप्रसाद साहले जानकारी दिए । ५ वैशाखमा उद्योग सञ्चालन गर्ने लक्ष्यसहित अहिले मेसिनरी मर्मत कार्य धमाधम थालिएको साहले बताए । ‘मेसिन मर्मतका लागि सरकारले ऋण दिएको छ । त्यही पैसाबाट मर्मत कार्य धमाधम भइरहेको छ,’ उनले भने ।

उदयपुर सिमेन्टलाई सरकारबाट १६ करोड ऋण
उदयपुर सिमेन्टका निमित्त महाप्रबन्धक महेशप्रसाद साहले सरकारबाट पँुजीगत शीर्षकमा १६ करोड ऋण लिएर उद्योग सञ्चालनका लागि मेसिनरी मर्मत थालिएको बताए । ‘सरकारको १६ करोड ऋणबाट मेटालिक कन्भेयरकोचेन र त्यसमा लाग्ने नयाँ लिक र जडानसहितको मर्मत कार्य भइरहेको छ । मर्मत कार्य सकिएको काममा दुई करोेड भुक्तानी पनि भइसकेको छ,’ उनले भने ।

त्यस्तै, क्लिंकर पोल्ने मेसिन ‘किल्नसेल’ फेर्न ६ करोड चार लाख लाग्ने र आपूर्तिकर्तालाई एक करोड २० लाख पेस्की भुक्तानी पनि दिइसकेको उनले बताए । उनले कोइला, जिप्सम, डिजेल, बोरा र बिजुलीको बक्यौता पनि चुक्ता गर्न थालेको जानकारी दिए । उनले उद्योग सञ्चालनका लागि एक हजार पाँच सय टन कोइला, दुई सय ५० टन जिप्सम, २० हजार लिटर डिजेल र एक लाख थान बोरा खरिद गरेको जानकारी दिए । उद्योगले विद्युत् प्राधिकरणलाई २५ लाख रकम भुक्तानी गरी विद्युत्समेत जडान गरेको छ । ‘आउँदो ५ वैशाखबाट व्यावसायिक उत्पादन पुनः सुरु गर्ने गरी मर्मतको काम गरिरहेका छौँ,’ उनले भने ।

साहका अनुसार कोइला, जिप्सम, डिजेल, बिजुली, कर्मचारी दायित्वलगायत शीर्षकमा भुक्तानी गर्नुपर्ने दायित्व एक अर्ब ५० करोडभन्दा माथि रहेको छ । उनले भने, ‘मुख्य दायित्वमा उद्योगबाट अवकाश पाएका कर्मचारीको रकम, आपूर्तिकर्र्ताको भुक्तानी, बिजुलीको बक्यौता, कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषमा जम्मा गर्नुपर्ने रकम, खानी रोयल्टी, अन्तःशुल्क र ठुला करदातालाई तिर्नुपर्ने भ्याट रहेको छ ।’

 हेटौँडा सिमेन्ट मर्मत हुँदै
हेटौँडा सिमेन्टका निमित्त महाप्रबन्धक नवीन कर्णका अनुसार गत सोमबार एक दिन उद्योग चलेर फेरि बन्द भएको छ । ‘फ्री हिटरमा समस्या आएपछि २५ गते एक दिन चलेर उद्योग दुई–तीन दिनदेखि पुनः बन्द भएको छ । मर्मतको काम भइरहेकाले एक–दुई दिनमै चल्छ,’ कर्णले भने । पुराना मेसिन भएकाले कुनै पनि वेला समस्या आउने गरेको उनले बताए । नियमित उत्पादन हुँदा दैनिक सात–आठ सय क्विन्टल क्षमता भए पनि हाल ६ सय क्विन्टलसम्म उत्पादन गर्ने लक्ष्य राखिएको उनले बताए ।

पुराना उपकरण बिग्रिएर बारम्बार बन्द हुने हेटौँडा सिमेन्ट उद्योग चालू आर्थिक वर्षमा हालसम्म जम्मा २७ दिन चलेको छ । चालू आर्थिक वर्षको ६ महिनामा साउनमा एक दिन, भदौमा १८ दिन र असोजमा सात दिन गरी जम्मा २६ दिन चलेको हो । चालू आर्थिक वर्षमा साउनमा एक दिन चलेर बन्द भएको उद्योग १४ भदौबाट सञ्चालनमा आएको थियो । ७ असोजमा किलमा समस्या आएपछि बन्द भएको उद्योग २५ चैतमा एक दिन चलेर पुनः बन्द भयो । सरकारले केही समयअघि निजीकरणका लागि सिफारिस गरेका नौवटा सरकारी उद्योगमा हेटौँडा उद्योगलाई समेत समेटेको थियो ।

पटक–पटक बन्द हुँदै आएको हेटौँडा सिमेन्टले उद्योग सञ्चालनका लागि ठुलो रकम निकासा मागेपछि सरकारले निजीकरण गर्ने निर्णय गरेको थियो । तर, अहिलेसम्म पनि हेटौँडा सिमेन्ट उद्योगबारे कुनै निर्णय हुन सकेको छैन । 
संघीय सरकारका उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले समेत गत असोजमा उद्योगको निरीक्षण गर्दै हेटौँडा सिमेन्टलाई सरकारले चलाउन नसक्ने, तर निजी क्षेत्रलाई भाडामा दिन सक्ने आशय व्यक्त गरेका थिए । उनले उद्योग सञ्चालनको विभिन्न मोडेलको विषयमा छलफल भइरहेको जानकारी दिँदै छिट्टै निष्कर्षमा पुग्ने दाबी गरेका थिए ।
हेटौँडा सिमेन्ट उद्योग सञ्चालक समितिका अध्यक्ष नरेन्द्र भण्डारीले सरकारबाट खासै ठोस निष्कर्ष नआएको जानकारी दिँदै भारतबाट बिजुली आउन थालेसँगै अब उद्योग सञ्चालन गर्ने तयारी गरिएको बताए । उनले विद्युत् आपूर्ति भएसँगै औद्योगिक क्षेत्रमा रहेकोे लोडसेडिङ अन्त्य भएको र हेटौँडा सिमेन्ट उद्योग पनि चलाउन तयारी गरिएको जानकारी दिए ।