१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख ३ बुधबार
  • Friday, 18 April, 2025
२o८२ बैशाख ३ बुधबार २o:o५:oo
Read Time : > 2 मिनेट
खेलकुद डिजिटल संस्करण

केपी ओली कपको सेमिफाइनलमा अत्तरिया

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८२ बैशाख ३ बुधबार २o:o५:oo

अपराजित अत्तरिया क्रिकेट एकेडेमी पोखरामा जारी केपी ओली कप टी–२० राष्ट्रिय पुरुष खुला क्रिकेट प्रतियोगिता २०८१ को सेमिफाइनलमा प्रवेश गरेको छ।

मदन भण्डारी स्पोर्टस् एकेडेमीको आयोजनामा जारी प्रतियोगिताअन्तर्गत समूह ‘डी’को विजेता बन्दै अत्तरियाले अन्तिम चारमा आफ्नो स्थान सुरक्षित गरेको हो। अत्तरियासँगै सेमिफाइनल पुग्ने चार टोलीको टुंगो लागेको छ। यसअघि समूह ‘ए’बाट सिइसी काठमाडौं, ‘बी’बाट गण्डकी हिरोज र ‘सी’बाट हिमाल फ्रेन्ड्स क्रिकेट क्लबले सेमिफाइनलको यात्रा तय गरेका थिए।

बुधबार सम्पन्न समूह चरणको अन्तिम खेलमा अत्तरियाले मालपोखरी क्रिकेट क्लबलाई ६ विकेटले पराजित गर्दै अंक तालिकाको शीर्ष स्थानमा रहँदै सेमिफाइनलको यात्रा तय गरेको हो। त्यसअघि भएको समूह चरणको अर्को खेलमा होरिजोन क्रिकेट क्लबले सुन्दरहरैँचा क्रिकेट क्लबलाई ७ विकेटले पराजित गरेको थियो।

बुधबारको खेलसँगै प्रतियोगितामा समूह चरणका खेलहरू सम्पन्न भएका छन्। १६ टिमको सहभागिता रहेको प्रतियोगितामा बिहीबार सेमिफाइनलका खेलहरू हुने आयोजक एकेडेमीका सचिव कृष्ण तिमिल्सिनाले जानकारी दिए। तिमिल्सिनाका अनुसार पहिलो सेमिफाइनल खेलमा समूह ‘ए’को विजेता सिइसी काठमाडौं र समूह ‘सी’को विजेता हिमाल फ्रेन्ड्स भिड्दा दोस्रो खेलमा समूह ‘बी’को विजेता गण्डकी र समूह ‘डि’को विजेता अत्तरियाले प्रतिस्पर्धा गर्नेछन्।

बुधबार सम्पन्न समूह चराणको अन्तिम खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको मालपोखरी १७.४ ओभरमा १० विकेट गुमाएर १२४ रनमा सीमित हुन पुगेको थियो। १२५ रनको लक्ष्य पछ्याउदै मैदान उत्रेको अत्तरियाले १४.१ ओभरमा मात्र ४ विकेटको क्षतिमा १२८ रन बनाएर लक्ष्य पूरा गर्‍यो।

मालपोखरीका लागि विजय गुप्ताले ३६ बलमा ५ चौका र १ छक्का प्रहार गर्दै टोलीका लागि सर्वाधिक ३८ रन जोडेका थिए। डब्लु मलिकले १७, जितेश मन्डलले १७, सोहनकुमार यादवले १६ र सिराज हावारीले १३ रन बनाए।

जवाफी ब्याटिङको लागि मैदान उत्रेको अत्तरियाका लागि ओपनर अभिषेक पलले १७ बलमा ५ चौका र २ छक्का प्रहार गर्दै टोलीका लागि सर्वाधिक ३८ रन जोडे। २६ बलमा ३ चौका र १ छक्का प्रहार गर्दै निश्चल क्षेत्रीले ३०, विपिन रावलले १६, टेक रावलले १४ र अर्जुन विकले १२ रन बनाए।

अत्तरियाका लागि अर्जुन विक, हिक्मत महर, शौर्या श्रेष्ठ र सुशील साउदले समान २-२ विकेट हात पार्दा भोजराज भट्टले १ विकेट लिए। मालपोखरीका लागि सन्दीप खड्का, सिराज हावारी र डब्लु मलिकले समान १-१ विकेट हात पारे।

यसअघि भएको आजको पहिलो खेलमा होरिजोन क्रिकेट क्लबले सुन्दरहरैँचा क्रिकेट क्लबलाई ७ विकेटले पराजित गरेको थियो। खेलमा टर हारेर ब्याटिङको निम्ता पाएको सुन्दरहरैँचाले २० ओभर खेल्दै ८ विकेट गुमाएर १३९ रन बनाएको थियो। १४० रनको लक्ष्य लिएर मैदान उत्रेको होरिजोनले १२.३ ओभरमा ३ विकेट गुमाएर १४० रन बनाउँदै लक्ष्य पूरा गर्‍यो।

सुन्दरहरैँचाका लागि मनीष थापाले २८ बलमा ३ चौका र ३ छक्का प्रहार गर्दै टोलीका लागि सर्वाधिक ४७ रन जोडे। ओपनर रितेश रायले २३, समिर कार्कीले २३, मिर्नल गुरुङले १३, ओमबहादुर कुँवरले १३ रन जोडेका थिए। होरिजोनका लागि आरिफ खानले अर्धशतक प्रहार गर्दै ३३ बलमा ६ चौका र ८ छक्कासहित टोलीका लागि सर्वाधिक ८० रन बनाए। अमर मिश्रले २७ बलमा ४ चौका र २ छक्कासहित ३७ र निश्चल ज्ञवालीले १३ रन बनाएका थिए।

खेलमा होरिजोनका निर्मल गुरुङ र सुवम खनालले २-२ तथा महेश बहार, अमर मिश्र र निश्चल ज्ञवालीले समान १-१ विकेट लिए। सुन्दरहरैँचाका लागि प्रकाश कार्की, आयुष ढुंगेल र रितेश रायले समान १-१ विकेट हात पारे।

समूह ‘डी’मा रहेका चार टोलीमध्ये अत्तरियाले ३ खेलमा ३ जितका साथ ६ अंक, होरिजोनले ३ खेलमा २ जित र १ हारसहित ४ अंक, मालपोखरीले ३ खेलमा १ जित र २ हारसहित २ अंक हात पार्दा सुन्दरहरैँचाले खेलेको ३ खेलमै पराजित भएको छ।