
नेपाली समाज विशेषतः काठमाडौं उपत्यका र वरपरका क्षेत्रमा जात्राको रौनक देख्न सकिन्छ । जात्रा संस्कृतिको महत्वबारे केही बताइदिनुस् न !
नेपाली समाज, विशेषतः काठमाडौं उपत्यका र वरपरका क्षेत्रमा जात्राको विशेष महत्व छ । ‘जात्रा’ केवल धार्मिक होइन, सामाजिक उत्सव पनि हो, जसले लोकजीवन, परम्परा र आस्थालाई समेट्छ । हिन्दु र बौद्ध धर्मको प्रभाव रहेको नेपालमण्डल क्षेत्रमा जात्राको सुरुवात यी धर्म फैलिनुअघि नै भएको पाइन्छ । जात्रा जनजीवन, प्रकृति र परम्परागत विश्वाससँग गहिरो रूपमा जोडिएको सांस्कृतिक अभ्यास हो, जसले सामाजिक एकता र सामूहिक जीवन्तता झल्काउँछ ।
काठमाडौं उपत्यका र समग्र नेपालमण्डलमा नयाँ वर्षको समयमा बिस्कादेखि गहना खोज्नेलगायत विभिन्न जात्रा मनाइएको देख्न सकिन्छ । नयाँ वर्ष र यी जात्रामा कुनै सम्बन्ध छ ?
बिस्का जात्रा, गहना खोज्नेलगायत जात्रा काठमाडौं उपत्यका र नेपालमण्डल क्षेत्रमा नयाँ वर्षको आसपास पर्न सक्छन् । तर, तिनको उत्पत्ति नयाँ वर्षसँग नभई मौसमी चक्रसँग सम्बन्धित छ । नेपालमा विक्रम संवत् प्रचलनमा आउनुअघि नै यी जात्रा मनाइन्थे । उदाहरणका लागि बिस्का जात्रा पहिले अन्य मितिमा पनि सुरु हुने गथ्र्यो । वैशाख महिनालाई भारत, श्रीलंका, बंगलादेशमा समेत संवत् सुरु हुने समय मानिन्छ, सम्भवतः मौसम परिवर्तनको कारण । त्यसैले यी जात्रालाई नयाँ वर्षभन्दा मौसमसँग जोडेर बुझ्नु उपयुक्त हुन्छ ।
नयाँ पुस्ता, विशेषतः जेन जी पुस्ताले जात्रामा कति रुचि देखाउँछन् र जात्रा कसरी मनाइरहेका छन् ?
समाज सधैँ परिवर्तनशील हुन्छ, हरेक पुस्ताले आफ्ना नयाँ मूल्य र शैली अपनाउँछ । हजुरबुबा पुस्तादेखि अहिलेका छोराछोरीसम्म जात्रा मनाउने तरिका फरक भए पनि उत्सवको मर्म भने जीवित छ । आजका युवाले नेपालभाषाको सट्टा अंग्रेजी गीतमा नाच्न सक्छन् वा घरेलु मदिराको सट्टा ब्रान्डेड मदिरा प्रयोग गर्न सक्छन्, तर जात्राप्रतिको उत्साह यथावत् छ ।