
नयाँ वर्ष २०८२ को बिहानीसँगै ‘नयाँ पत्रिका’ पनि १९औँ वर्षमा प्रवेश गरेको छ । झन्डै दुई दशक लामो यो यात्रामा आदरणीय पाठक, वितरक, विज्ञापनदाता र शुभेच्छुकबाट निरन्तर प्राप्त स्नेह, सद्भाव, साथ र सहयोगका लागि ऋणी छौँ । यहाँहरू सबैप्रति हार्दिक आभार व्यक्त गर्दछौँ ।
दिन सहज हुन् कि अप्ठ्यारा, ‘नयाँ पत्रिका’ले तथ्यपरक प्रस्तुतिसँगै समाजका दृश्यमाथिको सार्थक हस्तक्षेपलाई आफ्नो मूलमन्त्र ठानेको छ । हामीले भन्दै आएका थियौँ, पुनः प्रतिबद्धता जनाउँछौँ– लोकतन्त्रले जब तन्त्र समातेर लोकलाई छोड्छ, हामी लोकका पक्षमा उभिएका छौँ र उभिइरहनेछौँ । सार्थक र रचनात्मक हस्तक्षेपको प्रयास निरन्तर रहनेछ ।
नेपाली छापामाध्यममा समाचारदेखि फिचर र विचारसम्ममा सबैभन्दा धेरै प्रयोग गरेको अखबार हो– नयाँ पत्रिका । रचनात्मक प्रयोगको यो प्रयासलाई निरन्तर जारी राख्दै आगामी दिनमा थप पाठकमैत्री हुनेछौँ । र, यहाँहरूले हामीबाट खोजेको उच्च व्यावसायिकता र जिम्मेवारीबाट विचलित हुनेछैनौँ । नयाँ वर्ष २०८२ ले राष्ट्र र समस्त नेपालीमा सुख, शान्ति, सुस्वास्थ्य र सुव्यवस्था ल्याओस्, यही हाम्रो शुभकामना छ ।