
तीनकुने घटनापछि पहिलोपटक पूर्वराजा ज्ञानेन्द्र शाहले मुख खोलेका छन्। तीनकुने घटनाका सन्दर्भमा शाहलाई संसदीय समितिमा बोलाउन माग भइरहँदा उनले आइतबार भिडियोमार्फत नयाँ वर्षको शुभकामना सन्देश जारी गर्दै आफ्नो धारणा राखेका हुन्।
आफ्ना अभिव्यक्ति राख्न पाउनु प्रजातन्त्रको विशेषता भए पनि संयम अपनाउनुपर्ने उल्लेख गर्दै शाहले भनेका छन्, ‘केही दिनअघि जनप्रदर्शनमा जुन प्रकारको हिंसा, आगजनी, तोडफोड भयो, त्यसबाट जस प्रकारको मानवीय एवं भौतिक क्षति भयो। त्यो सुन्दा हामीलाई अत्यन्तै दुःख लाग्यो।’
नागरिक स्वतन्त्रताभन्दा ठुलो तन्त्र वा वाद नहुने भन्दै शाहले वास्तविक प्रजातन्त्रमा राम्रो–नराम्रो, गुनासो–गुणगान सुन्ने परम्परा र संस्कार हुनुपर्ने उल्लेख गरेका छन्। विश्वकै उत्कृष्ट भूमिमा बाँच्नै गाह्रो हुने स्थिति पैदा भएको दाबी गर्दै उनले समग्र संरचना नै हेरफेर गर्नुपर्ने बताएका छन्।
‘जनभावना र चाहना बुझी मुलुकको समग्र संरचनामा नै हेरफेर र सुधारका कदम चाल्नुपर्ने तथ्य स्पष्ट देखिन्छ। शिक्षा, स्वास्थ्य र दैनिक कामकाजका पद्धति र प्रणालीहरूमा आमूल परिवर्तन र सुधार गरी यिनको आधुनिकीकरण अनिवार्य भइसकेको छ,’ उनले भनेका छन्।
संवाद, सहमति र सहकार्यबाट समस्याको समाधान गर्नुपर्ने भन्दै शाहले थपेका छन्, ‘संसार धेरै अघि बढिसक्यो, तर हामी यो वा त्यो वादको चक्रब्यूहमा फसेका छौँ। नेपाल आमालाई केन्द्रमा राखेर हाम्रा विचार बन्नुपर्छ, हाम्रा कदम चल्नुपर्छ। हरेक समस्याको समाधान संवाद, सहमति, समन्वय र सहकार्यबाट हुन सक्छ।’