
राष्ट्रिय खेलाडी सम्मिलित सिइसी काठमाडौ दोस्रो केपी ओली कप टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । मदन भण्डारी स्पोर्टस् एकेडेमीको आयोजनामा भइरहेको प्रतियोगिताको समूह ‘ए’को विजेता हुँदै काठमाडौं अन्तिम चारमा पुग्ने पहिलो टोली बनेको छ ।
काठमाडौले पोखरा महानगरपालिका क्रिकेट क्लबलाई ९ विकेटले हरायो । काठमाडौंले तीन खेलमा जित निकाली सर्वाधिक ६ अंक जोड्यो । ५४ रनको झिनो लक्ष्य पछ्याएको काठमाडौंले ४.२ ओभरमा १ विकेट गुमाउँदै ५७ रन बनायो । कप्तानी रीत गौतमले १५ बलमा ३६ रनको योगदान दिए । उनले ३ छक्का र ४ चौका प्रहार गरे । पोखरा रंगशालास्थित क्रिकेट मैदानमा पहिलो ब्याटिङ गरेको पोखरा १७.२ ओभरमा ५३ रन अलआउट भयो । काठमाडौका दीपेन्द्र रावतले र युनिशविक्रम सिंह ठकुरीले समान ३ विकेट हात पारे ।
यसै समूहको अर्को खेलमा हेटौँडा स्पोटसर्् एकेडेमीले स्याङ्जा क्रिकेट क्लबलाई ५ विकेटले हराएको छ । १७७ रनको लक्ष्य पछ्याएको हेटौँडाले १८.४ ओभरमा ५ विकेट गुमाउँदै १८० रन बनायो । हेटौँडाको जितमा अकिलेश ठाकुरले ५२ रनको अविजित अर्धशतकीय योगदान दिए । उनले २७ बलमा ६ चौका र ३ छक्का प्रहार गरे । स्याङ्जा १९.५ ओभरमा सबै विकेट गुमाएर १७६ रन बनायो । हेटौँडाका असिम श्रेष्ठले ४ ओभरमा २७ रन खर्चेर सर्वाधिक ५ विकेट लिए ।