
२३ असार ०८१ मा बाढीले भत्काएको कञ्चनपुर सुडाको पुल पुनर्निर्माण सम्पन्न भएको छ। पूर्व–पश्चिम महेन्द्रराजमार्गअन्तर्गत बेदकोट नगरपालिका–७, सुडा खोलाको पुल निर्माण सम्पन्न सम्झौताअगावै पुनर्निर्माण पूरा भएको हो।
असार मसान्त ०८२ भित्रै पुल निर्माण सम्पन्न गर्ने गरी १३ मंसिर ०८१ मा निर्माण कम्पनी महरा न्यू जोशी जेभी कम्पन्नीसँग सम्झौता भएको थियो। सम्झौताअनुसार पुलको लागत एक करोड ५२ लाख थियो। १४ मिटर लम्बाइ, तटबन्ध, कालोपत्रे, रेलिङसहितको पुल निर्माण कम्पनीले समयअगावै गरेको छ । मंसिर दोस्रो सातादेखि सुरु गरेको काम असार दोस्रो साता सम्पन्न गरेको सडक डिभिजन कार्यालयले जनाएको छ ।
बाढीले भत्काएका जिल्लाका कैयौँ पुल, तटबन्ध, सडक, नहरसहितका अन्य संरचना अहिलेसम्म पुनर्निर्माणको सुरसारसमेत भएका छैनन्। तर, सुडा पुल समयमै निर्माण भएको छ। यस्तै, सडक डिभिजन कार्यालय महेन्द्रनगरले गत वर्ष मंसिरमा बक्स कल्भर्ट(पुल) निर्माणका लागि ठेक्का आह्वान गरेको थियो ।
उक्त पुल निर्माणस्थलका इन्चार्जसमेत रहेका सडक डिभिजन कार्यालय महेन्द्रनगरका सब इन्जिनियर भोजराज रानाले पुल निर्माण सम्पन्न भएको बताए। ‘पुल निर्माण कार्यालयले दिएको मापदण्ड अनुरुप गुणस्तरीय छ,’ उनले भने, ‘खोलाको उच्च पानीको बेग, परिमाण थेक्न सक्ने स्तरको पुल निर्माण भएको छ ।’ महरा न्यू जोशी जेभीका सञ्चालक भीमराज जोशीले कार्यालयसँग सम्झौता गरेकोे मापदण्ड अनुरुप पुल निर्माण गरेको बताए ।
‘जिल्ला मुकाम जोड्नेदेखि मुकामदेखि देशभरका जिल्लाहरू जोड्ने मुल राजमार्गमा चुनौतीका बिच समयै अवागै पुल निर्माण सम्पन्न गरेका छौँ ।’ सम्झौता अवागै पुल निर्माण भएपछि स्थानीयदेखि यात्रु, मालबहाक सवारी साधनलाई सहज भएको छ । पूर्वपश्चिम महेन्द्रराजमार्गको पुल भत्किएकाले स्थानीयसहित यात्रुलाई जोखिम मात्रै होईन, मानिसले ज्यान गुमाउने, घाईतेदेखि सवारी साधनमाथि क्षति बेहोर्नु परिरहेको थियो ।
स्थानीय समेत रहेका बेदकोट नगरपालिका कार्यपालिका सदस्य पवन नेपालीले असारमा भत्किएको पुल अर्को असार एक वर्षमा पुनर्निर्माण भएपछि स्थानीयदेखि यात्रुलाई सहज भएको बताए । ‘भत्किएको पुल क्षेत्रका स्थानीयलाई धुवाधुलोले हैरानी थियो,’ उनले भने, ‘यात्रुलाई पनि जोखिम थियो, अहिले सुविधा भएको छ ।’
कञ्चनपुर उद्योग वाणिज्य संघका उद्योग उपाध्यक्ष सुरेशसिंह गुरुङले पुल भत्किएपछि सानादेखि ठुला सवारी साधन गुडाउन समस्या भए पनि अहिले सुविधा भएको बताउ । ‘डाइभर्सनले पैदल, सार्वजनिक सवारी साधनका यात्रुदेखि ठुला मालबहाकहरुलाई समस्या थियो,’ उनले भने, ‘पुल निर्माणछि सवारी सहज भएको छ ।’
निर्माण व्यवसायी संघ कञ्चनपुरका अध्यक्ष निरन्जनप्रसाद भट्टले निर्माण व्यवसायीलाई सम्बीन्धत सरोकारवाला सबै पक्षबाट काम गर्ने वातावरण सृजना हुँदा सम्झौता अवागै काम सम्पन्न भएको बताए । ‘निर्माण व्यवसायीले पाएको जिम्मेबारी पूरा गर्छन्, सम्बन्धित कार्यालयदेखि सेवाग्राहीबाट सहयोग नहुँदा कहिलेकाही समस्या आउँछ,’ उनले भने, ‘सुडा खोलाकोे पुल समयमै निर्माण भएपछि स्थानीयदेखि व्यवसायिक सबै क्षेत्रलाई सुविधा भएको छ ।’