
तनहुँ जिल्लाको डुम्रे–बेँसीसहर सडकखण्डमा आज शुक्रबार बस पल्टिँदा २० यात्रु घाइते भएका छन्। डुम्रे बजारदेखि लमजुङको बेँसीसहरतर्फ जाँदै गरेको ग.१ ख ६४९८ नम्बरको बस भानु नगरपालिका– १ मोहरियामा अनियन्त्रित भई पल्टिएको हो।
प्रहरीका अनुसार घाइते भएकामध्ये चारजनाको अवस्था गम्भीर छ। उनीहरूको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ। बाँकी १६ जनाको डुम्रेस्थित लक्ष्मी अस्पताल र मोती मेडिकलमा उपचार भइरहेको छ।
घटनापछि चालक फरार रहेकाले खोजी भइरहेको प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिए। ‘गाडीसाहु र चालकको खोजी भइरहेको छ,’ उनले भने, ‘कालिका बस व्यवसायी समितिबाट सञ्चालित बस रहेको पुष्टि भएको छ।’