मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ चैत २२ शुक्रबार
  • Friday, 04 April, 2025
रामबहादुर केसी
२o८१ चैत २२ शुक्रबार o७:o५:oo
Read Time : > 5 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

नेपालमा आगलागी : कारण र समाधान

डढेलो तथा बस्तीमा हुने आगलागीको जोखिम न्यूनीकरण गर्न दीर्घकालीन नीति, स्थानीय जनसहभागिता तथा आधुनिक प्रविधिको प्रयोग आवश्यक छ

Read Time : > 5 मिनेट
रामबहादुर केसी
नयाँ पत्रिका
२o८१ चैत २२ शुक्रबार o७:o५:oo

नेपाल भूकम्प, बाढीपहिरो, खडेरी, चट्याङ, गर्मी, शीतलहर, हिमपहिरो, असिना, हिमआँधी, हावाहुरी, वन डढेलोलगायत प्राकृतिक प्रकोपको उच्च जोखिममा छ । गृह मन्त्रालयले प्रकाशन गरेको नेपाल विपत्‍ प्रतिवेदन, २०२४ अनुसार पछिल्लो ६ वर्ष (१७ जुलाई २०१८ देखि १६ जुलाई २०२४) सम्ममा कुल ३२ हजार ३७५ साना तथा ठुला विपत्‍का घटना रेकर्ड गरिएकोमा सडक दुर्घटनाबाहेकका विपत्‍का घटनामा परी तीन हजार ६७२ जनाको ज्यान गएको छ भने ४४६ जना बेपत्ता भएका छन्, थप ११ हजार ७५२ जना घाइते भएका छन् । सडक दुर्घटनामा परी ६ वर्षको अवधिमा १५ हजार १६९ जनाले ज्यान गुमाएका छन् । विपत्‍बाट कुल मिलाएर ५७ हजार २७१ घर प्रभावित भएका छन् भने ४३ हजार १६८ पूर्वाधार नष्ट भएका छन् । विपत्का कारण १८ हजार ३३६ पशुधनको थप क्षति पनि भएको छ ।

सन् २०१८ देखि १०२४ सम्म भएको कुल आर्थिक क्षतिको मूल्य २३.६० अर्ब रुपैयाँबराबर रहेको छ । सो अवधिमा आगलागी, भूकम्प, पहिरो, चट्याङ, बाढी, भारी वर्षा र आँधीबेहरीजस्ता बारम्बार हुने विपत् रेकर्ड गरिएका थिए । सो अवधिमा आगलागीका १९ हजार ५९३ घटना घटेका थिए भने आगलागीमा परी ५९३ जनाले ज्यान गुमाएका थिए । जनसांख्यिकीय र आर्थिक क्षतिको जोखिम तुलनाले सबैभन्दा धेरै मृत्यु (क्षति) र घाइते पहिरो, आगलागी, चट्याङ र बाढीबाट भएका देखिन्छन् । सबैभन्दा धेरै आर्थिक क्षति आगलागीबाट भएको रिपोर्ट गरिएको छ, जसमा भूकम्प, बाढी र पहिरो क्रमशः दोस्रो, तेस्रो र चौथो स्थानमा छन् ।

राष्ट्रिय विपत्‍ जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको वार्षिक प्रतिवेदन, २०८०/८१ अनुसार आर्थिक वर्ष २०८०/८१ मा सडक दुर्घटनासमेतका विपत्‍जन्य घटनामा परी दुई हजार ९२८ जनाले ज्यान गुमाएका थिए । सो आर्थिक वर्षमा आगलागीबाट प्रभावित घरपरिवार पाँच हजार ५४७ थिए भने आगलागीमा परी १२० जनाको मृत्यु र ४८५ जना घाइते भएका थिए । सोही अवधिमा आगलागीको कारण करिब दुई अर्ब ६२ करोड १० लाखबराबरको धनसम्पत्ति क्षति भएको थियो । नेपालमा आगलागी एक गम्भीर प्राकृतिक तथा मानवजनित विपत् हो, जसले हरेक वर्ष ठुलो जनधनको क्षति गराउँदै आएको छ । मानिसको असावधानीका कारणबाट हरेक वर्ष आगलागी भई मानिसको मृत्यु हुनुका साथै पशुपक्षी, अन्नबाली, जैविक विविधतामा समेत प्रतिकूल प्रभाव पर्ने गरेको छ । 

संघ, प्रदेश, स्थानीय तह, समुदाय तथा नागरिक समाजबिच सहकार्य गरी रोकथामका उपाय प्रभावकारी रूपमा कार्यान्वयन गरिएमा आगलागीबाट हुने क्षति न्यूनीकरण गर्न सकिन्छ
 

नेपालमा आगलागीको प्रकार हेर्दा वनमा लाग्ने आगो एउटा हो । प्रायः फागुनदेखि जेठ महिनासम्म वन डढेलोको घटना बढी देखिन्छ । वनमा सुक्खा पात र घाँसको मात्रा धेरै हुने भएकाले आगो छिटो फैलिन्छ । केही घटना प्राकृतिक रूपमा भए पनि अधिकांश मानवीय लापरबाहीकै कारण हुन्छ । दोस्रो प्रकार घर तथा बस्तीमा लाग्ने आगो हो । ग्रामीण क्षेत्रका फुस तथा काठका घरमा सानो आगोबाटै ठुलो क्षति हुन सक्छ । सहरमा बिजुली सर्ट, ग्यास सिलिन्डर विस्फोट, कारखानाका आगलागीजस्ता घटना बढ्दै गएछन् । तेस्रो प्रकार औद्योगिक तथा व्यावसायिक क्षेत्रमा लाग्ने आगो हो । नेपालमा उद्योगधन्दा तथा व्यापारिक भवनमा आगलागीका घटना बढिरहेका छन् । आगलागी नियन्त्रणका लागि पर्याप्त सुरक्षात्मक उपाय अपनाइएको देखिन्न ।

आगलागीका थुप्रै कारण छन् । प्राकृतिक कारणमा चरम गर्मी र सुक्खा मौसम (विशेषगरी चैत–जेठ महिना), मेघगर्जन र चट्याङका कारण पनि आगलागी हुन सक्छ । वायुको तीव्र गतिका कारण एक ठाउँमा लागेको आगो द्रुत गतिमा फैलिन सक्छ । मानवीय कारणमा खुला ठाउँमा विनासोचविचार आगो बालेर त्यसलाई ननिभाउनु, जंगलमा चरन तथा खेतको तयारीका लागि नियोजित रूपमा आगो लगाउनु, बिजुलीको तार सर्ट हुनु वा बिजुलीको असावधानीपूर्ण प्रयोग, ग्यास लिक तथा पेट्रोलियम पदार्थको असावधानीपूर्ण भण्डारण, धुम्रपान गर्दा होसियारी नगर्नु (सिगरेटको ठुटो जंगल वा घरको छतमा फाल्नु) पर्छन् । शत्रुतापूर्ण व्यवहार÷वैमनश्य राख्नु, सलाई, लाइटर तथा प्रज्वलनशील पदार्थ जथाभावी राखिनु वा केटाकेटीको पहुँचमा हुनु, अर्काको सम्पत्तिको गलत नियत वा दुर्भावनाले जलाउनु पनि आगलागीका कारण हुन् । 

जलवायु परिवर्तनका कारण पृथ्वीको तापक्रम बढ्दै गएको छ । पृथ्वीको तापक्रम वृद्धि भई सुक्खायाम एवं खडेरीको अवस्थासमेत बढ्दै गई आगलागीका घटनामा वृद्धि भएको छ । तीव्र गतिमा चलेको हावाले एक ठाउँमा लागेको आगो सजिलै अर्को ठाउँमा फैलिन मद्दत गरी विश्वमा आगलागीका भयावह घटना बढ्न थालेका छन् । आगलागी र जलवायु परिवर्तन एक–अर्कासँग गहिरो रूपमा सम्बन्धित छन् । जलवायु परिवर्तनले तापक्रम वृद्धिलाई तीव्र बनाउने, सुक्खा मौसम लम्ब्याउने, आद्र्रता घटाउने तथा वायुको प्रवाह बढाउनेजस्ता प्रभाव पार्छ, जसले आगलागीको जोखिमलाई बढाउँछ ।

सन् २०२३ मा क्यानडामा अहिलेसम्मकै ठुलो वन आगलागी भयो, जसको प्रमुख कारण उच्च तापक्रम र सुक्खा मौसम मानिएको छ । अस्ट्रेलियामा सन् २०१९–२०२० को ‘ब्ल्याक समर डढेलोमा करिब १.८ करोड हेक्टर क्षेत्र जलेको थियो, जसको मुख्य कारण लामो समयको खडेरी थियो । संयुक्त राज्य अमेरिकाको क्यालिफोर्नियामा हरेक वर्ष सान्ता एना हावाका कारण वन डढेलोको घटना तीव्र हुने गरेका छन् । सन् २०२१ मा साइबेरियामा भएको डढेलोले करिब ८०० मेगाटन कार्बन उत्सर्जन गरेको थियो, जुन जर्मनीको वार्षिक उत्सर्जनभन्दा बढी हो । नेपालमा तापक्रम वृद्धिदर (०.५ डिग्री सेल्सियस–०.६ डिग्री सेल्सियस प्रतिदशक) उच्च रहेको छ, जसले गर्दा डढेलोको जोखिम बढेको छ । वन क्षेत्रमा जलवायु परिवर्तनका कारण वनस्पतिको जलधारण क्षमता घट्दै गएको छ, जसले आगलागीको सम्भावना बढाउँछ ।

आगलागीका कारण आगोको नजिक काम गर्ने व्यक्ति, ज्येष्ठ नागरिक तथा बालबालिका, अपांगता भएका व्यक्ति, गर्भवती तथा सुत्केरी महिला, मानसिक रूपमा अशक्त भएका व्यक्ति, अल्कोहलजन्य पदार्थ सेवन गरेका व्यक्ति एवं गरिब घरपरिवार बढी प्रभावित हुने गरेका छन् । आगलागी न्यूनीकरणसम्बन्धी कडा नियम बनाई कार्यान्वयन गर्नु आवश्यक छ । अग्नि सुरक्षा मापदण्ड सबै घर, कारखाना तथा व्यावसायिक भवनमा अनिवार्य बनाउनुपर्छ । डढेलो नियन्त्रणका लागि कानुनी दण्ड जरिवाना बढाउनुपर्ने देखिन्छ । स्थानीय तहमा आगलागी नियन्त्रणसम्बन्धी जनचेतना अभियान सञ्चालन गर्न एवं विद्यालय तथा समुदायस्तरमा आगलागी प्रतिकार्य तालिम प्रदान गर्न जरुरी छ । वन क्षेत्रमा आगलागी सम्भावना भएका स्थानमा निगरानी गर्न र आगो निभाउने प्रविधि तथा पूर्वाधार विकास गर्न सकिन्छ । 

सहर तथा ग्रामीण क्षेत्रका दमकल सेवालाई थप सशक्त र अन्तर्राष्ट्रिय मापदण्डअनुरूप बनाउने, आगो नियन्त्रणका लागि पर्याप्त ‘फायर फाइटर’ जनशक्ति विकास गर्ने, ग्रामीण क्षेत्रमा सामुदायिक अग्निनियन्त्रण टोली गठन गरी परिचालन गर्ने, हातमा बोकेर लैजान सकिने अग्निनियन्त्रण उपकरण प्रयोगमा प्रोत्साहन गर्नेलगायत उपाय अवलम्बन गर्न सकिन्छ । वन क्षेत्रमा आगलागी हुन सक्ने स्थान पहिचान गरी निगरानी राख्ने, डढेलो फैलिन नदिन जंगलमा ‘फायर लाइन बनाउने र स्थानीय बासिन्दालाई आगलागी नियन्त्रणका उपायबारे सचेत गराउने कार्यलाई प्राथमिकता दिनुपर्छ । 

बिजुली सर्टका कारण हुने आगलागी नियन्त्रण गर्न बिजुलीको ‘वायरिङ’ र त्यसको व्यवस्थापन गुणस्तरीय बनाउनुपर्छ । यसका लागि स्थानीय तहले घरको वायरिङसम्बन्धी मापदण्ड तोकेर पूरा भए मात्रै घर सम्पन्न प्रमाणपत्र दिने व्यवस्था गर्नुपर्छ । यसमा नेपाल विद्युत् प्राधिकरणले पनि ध्यान दिन आवश्यक छ । घर र भवनमा फायर अलार्मजस्ता आगलागी नियन्त्रण गर्ने प्रविधि जडानलाई अनिवार्य बनाउनुपर्छ । न्यून गुणस्तरीय ग्यास सिलिन्डर र पाइपको प्रयोगले हुने आगलागी नियन्त्रण गर्न ग्यास सिलिन्डरलाई भान्छाबाहिर सुरक्षित स्थानमा राख्ने, खाना पकाइसकेपछि ग्यास बन्द गर्ने, वेलावेलामा पाइप परीक्षण गर्ने, सिलिन्डरको भल्बको नियमित परीक्षण गर्ने, विश्वासिलो कम्पनीको ग्यास सिलिन्डर प्रयोग गर्नेजस्ता पक्षमा ध्यान दिनुपर्छ । 

भवन निर्माण संहिता अनिवार्य रूपमा लागू गर्न आवश्यक छ । आगलागी नियन्त्रणमा पूर्वचेतावनी प्रणाली विकास गर्नुपर्छ । नेपालमा आगलागी नियन्त्रणका लागि नवीन प्रविधि तथा प्रविधिमा आधारित उपाय अवलम्बन गर्न सकिन्छ । विकसित देशहरूले अपनाएका केही प्रविधि नेपालमा पनि कार्यान्वयन गर्न सकिन्छ, जसले आगलागी नियन्त्रण तथा न्यूनीकरणमा ठोस योगदान दिन सक्छ ।

 डढेलो निगरानी तथा सुरुवाती अवस्थामा पहिचान गर्न ड्रोन प्रयोग गर्न सकिन्छ । संकटपूर्ण क्षेत्रमा आगलागीको जोखिम पूर्वानुमान गर्न भूसूचना प्रणाली प्रविधि उपयोगी हुन सक्छ । डिजिटल म्यापिङ प्रविधि प्रयोग गरी जोखिमयुक्त क्षेत्र पहिचान गरेर आवश्यक कदम चाल्न सकिन्छ । ठुला भवन वा कारखानामा आगलागी भएमा ‘वाटर मिसाइल’ प्रविधि प्रयोग गरी अग्नि नियन्त्रण गर्न सकिन्छ । ‘रोबोट फायर–फाइटर’ले अत्यधिक जोखिमयुक्त क्षेत्रमा छिरेर आगो निभाउन सक्छ ।

आगलागी रोक्न विशेष रसायन प्रयोग गर्ने ‘फायर रिटार्डेन्ट’ प्रविधि प्रयोग गर्न सकिन्छ । ‘स्मार्ट’ अग्नि चेतावनी प्रणाली, स्वचालित ‘स्प्रिंकलर’ प्रणाली, मोबाइल एप्स र एसएमएस ‘अलर्ट’ प्रणाली विकास र उपयोग गर्न सकिन्छ । कृत्रिम बुद्धिमत्ता (एआई) र बिग डेटा विश्लेषण गर्न सकिन्छ । जंगलवरिपरि आगो फैलन नदिने गरी पानीयुक्त हरियो क्षेत्र बनाउने, नयाँ घर तथा भवन बनाउँदा अग्नि प्रतिरोधी सामग्री प्रयोग गर्नेलगायत उपाय अवलम्बन गर्न सकिन्छ । आगलागी विपत्ति मात्र होइन, यो प्राकृतिक चक्रको एक महŒवपूर्ण हिस्सा पनि हो । केही बोटबिरुवा आगलागीविना उम्रन सक्दैनन्, विश्वमा तातो ग्यास भूमिबाट निस्केर सधैँ बल्ने ठाउँ पनि छन् । अन्तरिक्षमा आगोको ज्वाला पृथ्वीको भन्दा फरक देखिन्छ । यी अनौठा तथ्यले आगोबारेको बुझाइ अझ रोमाञ्चक बनाउँछन् । 

नेपालजस्तो वनयुक्त राष्ट्रमा जलवायु परिवर्तनका प्रभाव न्यून गर्दै आगलागीजन्य घटना न्यूनीकरण गर्न दीर्घकालीन रणनीति आवश्यक छ, जसमा वन संरक्षण, दिगो जल व्यवस्थापन तथा डढेलो रोक्ने प्रविधि प्रयोगलाई प्राथमिकता दिनुपर्छ । नेपालमा आगलागी मानव, वन्यजन्तु, पूर्वाधार तथा पर्यावरणका लागि ठुलो चुनौती हो । विशेषगरी वन डढेलो तथा बस्तीमा हुने आगलागीको जोखिम न्यूनीकरण गर्न दीर्घकालीन नीति, स्थानीय जनसहभागिता तथा आधुनिक प्रविधिको प्रयोग आवश्यक छ । आगलागी नियन्त्रणका लागि संघीय तथा प्रादेशिक सरकार, स्थानीय तह, समुदाय तथा नागरिक समाजबिच सहकार्य हुनुपर्छ । यदि रोकथामका उपाय प्रभावकारी रूपमा कार्यान्वयन गरिएमा आगलागीबाट हुने क्षति न्यून गर्न सकिन्छ ।

(केसी राष्ट्रिय विपत्‍ जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता हुन्)