
रूपनी गाउँपालिका– २ का बालेश्वर खंग र उनकी श्रीमती रामकुमारी खंगको करेन्ट लागेर मृत्यु भएपछि मधेश प्रदेश सरकारले गरेको नागरिक बिमा पीडित परिवारले पाउने गरी पहल सुरु भएको छ ।
खंग दम्पतिको मृत्युपछि परिवारमा समवेदना व्यक्त गर्न मधेश प्रदेश सरकारको उच्चस्तरीय टोली आज घटनास्थल सप्तरीको रूपनी–२ पौंवा टोल पुगेर बिमा सुविधाको लागि पहल सुरु भएको जानकारी दिएको हो ।
गत शुक्रबार साँझ सिटी रिक्सा चार्ज गर्ने क्रममा करेन्ट लाग्दा बालेश्वर खंगको मृत्यु भएको थियो भने उनलाई बचाउन गएकी उनकी श्रीमती रामकुमारी खंगको समेत करेन्ट लागेर ज्यान गएको थियो।
खेलकुद तथा समाज कल्याण मन्त्रालयका निमित्त सचिव रञ्जितकुमार यादव, मुख्यमन्त्रीका प्रेस सल्लाहकार अवधेश कुमार झा, मन्त्रालयका उपसचिव धर्मेन्द्रलाल कर्ण र बिमा कम्पनीका प्रतिनिधि समेतको टोली आज दिउँसो रूपनी गाउँपालिका–२ स्थित खंग परिवारको घर पुगेको थियो।
टोलीले पीडित परिवारसँग भेट गरी घटनाको जानकारी लिएको थियो भने मृतक दम्पतिप्रति श्रद्धाञ्जली अर्पण गर्दै परिवारप्रति गहिरो समवेदना प्रकट गरेको थियो।
टोलीले खंग परिवारलाई मधेश प्रदेश सरकारले यही साउनदेखि लागु गरेको नागरिक बिमा कार्यक्रमअन्तर्गत बिमा सुविधा प्राप्त गर्न सक्ने जानकारी गराउँदै आवश्यक कागजात संकलन सुरु गरेको जनाएको छ। साथै, प्रक्रिया सहज बनाउन स्थानीय तह र सम्बन्धित निकायहरूसँग समन्वय भइरहेको टोलीले स्पष्ट पारेको छ।