मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 12 April, 2025
मेयर बालेन्द्र शाह (बालेन) कार्यालयमा नभएका वेला उपमेयर सुनिता डंगोल, ३२ मध्ये २८ वडाध्यक्षहरू र महानगरका कर्मचारी नगर प्रहरी बलको अवरोधका बाबजुद प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई कार्यकक्षमा लैजाँदै । तस्बिर : दिपेन्द्र ढुंगाना/नयाँ पत्रिका
शिवहरि घिमिरे काठमाडाैं
Invalid date format o६:२८:oo
Read Time : > 2 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

उपमेयरसहित सत्तारूढ दलका जनप्रतिनिधि र कर्मचारीले ढोका फोडेर कार्यकक्षमा भित्र्याए

बालेनको सचिवालयले भन्यो– यो दुईतिहाइको दम्भ हो

Read Time : > 2 मिनेट
शिवहरि घिमिरे, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format o६:२८:oo

काठमाडौं टावरको तला थप्न स्वीकृति दिएर अनियमितता गरेको आरोपमा काठमाडौं महानगरपालिकाको छानबिनमा तानिएका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई संघ सरकारले १०४ दिनपछि कार्यालय फर्काएको छ । मेयर बालेन्द्र शाह (बालेन) कार्यालयमा नभएका वेला उपमेयर सुनिता डंगोल, ३२ मध्ये २८ वडाध्यक्षहरू र महानगरका कर्मचारीले नगर प्रहरी बलको अवरोधका बाबजुद गुरागाईंलाई कार्यकक्षमा छिराएका हुन् । 

डंगोल एमालेको टिकटमा उपमेयर निर्वाचित भएकी हुन् भने बालेनले स्वतन्त्र उम्मेदवारीबाट मेयर जितेका हुन् । प्रमुख प्रशासकीयलगायत विभिन्न मुद्दामा प्रधानमन्त्री केपी ओलीसँग बालेनको पटक–पटक नोकझोक चल्दै आएको छ । गुरागाईंलाई प्रवेश गराउने कदमलाई बालेनको सचिवालयले दुईतिहाइको दम्भ भनेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गुरागाईंलाई बुधबार नै महानगरमा हाजिर हुन पठाएको थियो । तर, वातावरण सहज नभएपछि उनी बुधबार कार्यालय गएनन् । बिहीबार जनप्रतिनिधि र कर्मचारीले प्रवेशमा सहयोग गर्ने भएपछि मात्रै उनी कार्यालय पुगेका थिए । 

कमलादीस्थित काठमाडौं प्लाजामा गुरागाईं प्रवेश गरेपछि केहीबेर जनप्रतिनिधि, नगर प्रहरी र कर्मचारीबिच भनाभन चलेको थियो । उनलाई कार्यालय प्रवेश गराउन महानगरका ३२ मध्ये २८ जना वडाध्यक्ष र ४०–५० जना कर्मचारीले साथ दिएका थिए । वडाध्यक्षहरू सबै सत्तारूढ एमाले र कांग्रेसबाटै निर्वाचित हुन् । गुरागाईंलाई कार्यालय प्रवेश गराउने उद्देश्यले नै उनीहरू महानगरमा उपस्थित भएका थिए । तर, रास्वपा र एकीकृत समाजवादीबाट निर्वाचित दुई तथा एमाले र कांग्रेसका दुई गरी चार वडाध्यक्ष भने उपस्थित थिएनन् ।

गुरागाईंलाई नगर प्रहरी बलले भने रोकेको थियो । नगर प्रहरीसँग उपमेयर डंगोलको चर्काचर्की नै परेको थियो । ‘नगर प्रहरी महानगर प्रमुखसँग जति जिम्मेवार हुन्छ, उपप्रमुखसँग पनि उत्तिकै जिम्मेवार हुन्छ, तपाईंसँग लिखित आदेश छ कि छैन, मौखिक आदेश हो भने प्रमुखज्यू आफैँ आएर भन्नुप¥यो,’ उनले नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेलाई भनिन् । त्यसपछि डंगोलसहितले नगर प्रहरीलाई पन्छाएर गुरागाईंलाई कार्यालय प्रवेश गराए । ताल्चा मारिएको उनको कार्यकक्षको ढोका पनि तोडफोड गरेर खुलाइएको थियो । हाजिरको पुरानो ढड्डा नभेटेपछि गुरागाईंले विद्युतीय र नयाँ ढड्डामा हाजिर गरे । बिहीबार बिहान ११ बजे महानगरपालिका पुगेका गुरागाईं चार घण्टा कार्यालय बसेर ३ बजे सामान्य प्रशासन मन्त्रालय फर्किएका थिए ।

नगर प्रहरी प्रमुख राजु पाण्डेले जबर्जस्ती कार्यालय कब्जा गरिएको बताए । बालेनको सचिवालयबाट प्रमुख प्रशासकीय अधिकृतलाई छिर्न नदिन आदेश आएपछि पालना गरेको उनको प्रतिक्रिया छ । ‘कार्यालयको सुरक्षा गर्नु हाम्रो जिम्मा हो, जबर्जस्ती कार्यालय कब्जा गरेको हो,’ पाण्डेले भने, ‘हामीलाई आदेश भएकाले रोकेका हौँ, यसमा मलाई बढी केही भन्नु छैन ।’ 

प्रशासकीय अधिकृत गुरागाईंलाई स्वागत गर्न वडा नम्बर १५, १६, ३० र ३२ का वडाध्यक्ष उपस्थित थिएनन् । वडा १५ का एकीकृत समाजवादीबाट निर्वाचित वडाध्यक्ष ईश्वरमान डंगोल, वडा १६ की रास्वपाबाट जितेकी रोजिना श्रेष्ठ, वडा ३० का वडाध्यक्ष कांग्रेसका दलबहादुर कार्की र वडा ३२ का एमालेबाट विजयी नवराज पराजुली हुन् । रास्वपाकी वडाध्यक्ष श्रेष्ठले प्रशासकीय अधिकृत महानगरमा आउने विषयबारे आफूलाई थाहै नभएको बताइन् । ‘म अरू कारणले त्यहाँ नपुगेको होइन, थाहा नभएर हो । यदि उहाँको गल्ती रहेछ भने पनि नियम–कानुनअनुसार भोलि पनि कारबाही हुने बाटो छँदै छ,’ उनले भनिन् । 

मेयर बालेनको सचिवालयले भने उपप्रमुख, कर्मचारी र वडाध्यक्षहरूले गुरागाईंलाई भिœयाएकोमा रोष प्रकट गरेको छ । गुरागाईंमाथि थप कानुनी कारबाही अघि बढ्दा स्वागत गर्न बसेका कर्मचारी र जनप्रतिनिधिमाथि समेत कारबाही हुने चेतावनी दिएको छ । ‘भोलि गुरागाईंमाथि थप कानुनी कारबाही प्रक्रिया अघि बढ्यो भने गुरागाईंलाई स्वागत गर्न जो–जो कर्मचारी अघि सरेका छन् उनीहरूलाई पनि गुरागाईंलाई जत्तिकै कारबाही हुन्छ । भ्रष्टाचारमा संलग्न व्यक्तिलाई सरकारले संरक्षण गरेको छ, यो दुईतिहाइको दम्भ हो,’ मेयर शाहका स्वकीय सचिव भूपदेव शाहले भने, ‘हाम्रो माग भ्रष्टाचारमा संलग्न भएको व्यक्ति आउनुहुँदैन भन्ने थियो, कर्मचारीमा पनि नैतिकता भएन ।’ 

काठमाडौं महानगरका प्रवक्ता नवीन मानन्धरले धेरै समयदेखिको उकुसमुकुस बिहीबार देखिएको बताए । ‘अति भएपछि बिहीबार जनप्रतिनिधि र कर्मचारीको उकुसमुकुस पोखिएको हो,’ उनले भने, ‘तलबदेखि सारा भुक्तानी रोकिएको वेलामा जुधेर हुँदैन, भोलिदेखि उहाँ नियमित आउनुहुन्छ ।’ महानगरमा गुरागाईंलाई केही दिन हाजिर गराएर उनको सरुवा गर्ने र महानगरमा नयाँ प्रमुख प्रशासकीय अधिकृत पठाउने तयारी संघीय सरकारले गरेको छ । सहसचिव प्रेमप्रसाद भट्टराईलाई महानगरमा पठाउने तयारी भए पनि उनलाई कहिले पठाउने भन्नेमा टुंगो नभएको स्रोतको भनाइ छ । महानगर प्रमुख बालेनले पनि भट्टराईलाई प्रमुख प्रशासकीय अधिकृतका रूपमा पठाउन अनुरोध गरेको सचिवालय स्रोतले जनाएको छ । तर, सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता कालीप्रसाद पराजुलीले गुरागाईंको तत्काल सरुवा नहुने बताए । ‘उहाँलाई हाजिर हुन मन्त्रालयले पठाएको हो, उहाँको सरुवा गर्न मन्त्रिपरिषद्को बैठक बस्नुपर्ने होला,’ उनले भने, ‘तर, सरुवा गर्ने वा नगर्ने भन्नेबारेमा मलाई थाहा भएन ।’ 

बालेनको सचिवालयले भन्यो– यो दुईतिहाइको दम्भ हो
सरकारले प्रमुख प्रशासकीय अधिकृतमा सरोज गुरागाईंलाई नै पठाउनु र उपमेयरलगायत जनप्रतिनिधि र कर्मचारीले कार्यकक्षमा भिœयाउनुलाई मेयर बालेनको सचिवालयले सरकारको दुईतिहाइको दम्भ भनेको छ । सचिवालयले गुरागाईंलाई स्वागत गर्न बसेका कर्मचारी र जनप्रतिनिधिलाई भोलिका दिनमा उनलाई जत्तिकै कारबाही हुने चेतावनी दिएको छ । 

‘भोलि गुरागाईंमाथि थप कानुनी कारबाही प्रक्रिया अघि बढ्यो भने गुरागाईंलाई स्वागत गर्न जो–जो कर्मचारी अघि सरेका छन् उनीहरूलाई पनि गुरागाईंलाई जत्तिकै कारबाही हुन्छ,’ बालेनका स्वकीय सचिव भूपदेव शाहले भने, ‘भ्रष्टाचारमा संलग्न व्यक्तिलाई सरकारले संरक्षण गरेको छ, यो दुईतिहाइको दम्भ हो । हाम्रो माग भ्रष्टाचारमा संलग्न भएको व्यक्ति आउनुहुँदैन भन्ने थियो, कर्मचारीमा पनि नैतिकता भएन ।’
 

छुटाउनुभयो की ?