मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ चैत १३ बुधबार
  • Saturday, 29 March, 2025
२o८१ चैत १३ बुधबार o९:३३:oo
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

आठ महिनामा ५६ अर्बबराबरको खानेतेल निर्यात

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ चैत १३ बुधबार o९:३३:oo

नेपालले पछिल्लो आठ महिनामा करिब ५६ अर्बबराबरको खानेतेल निर्यात गरेको छ । विदेशबाट कच्चा पदार्थ आयात गर्ने र नेपालमा प्रशोधन गरी मूल्य अभिवृद्धि गरेर खानेतेल बेच्दा निर्यात उल्लेख्य रूपमा बढेको हो ।

भन्सार विभागले सार्वजनिक गरेको चालू आर्थिक वर्षको फागुन मसान्तसम्मको वैदेशिक व्यापारको तथ्यांकअनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यस वर्ष आयात ११.२० र निर्यात ५७.२० प्रतिशतले बढेको छ । अर्थात् गत वर्षको तुलनामा यस वर्ष नेपालको निर्यातमा खानेतेलको निकै ठुलो हिस्सा देखिएको छ । 

 पछिल्लो आठ महिनामा रु. एक खर्ब ५८ अर्बको निर्यात गर्दा नेपालले रु. ४७ अर्ब ९४ करोड ६६ लाखबराबरको भटमास (सोयाबिन) तेल मात्रै निर्यात गरेको छ। त्यस्तै, रु. सात अर्ब ९८ करोड २३ लाखबराबरको सूर्यमुखी तेल, रु. पाँच अर्ब ८३ करोड ७३ लाखको अलैँची, रु. चार अर्ब ३२ करोड ३९ लाखको कार्पेट निर्यात भएको छ ।

 विभागका अनुसार चालू आवको दोस्रो चौमासिक अवधिसम्म मुलुकले कुल रु. १३ खर्ब तीन अर्ब ७३ करोड ८६ लाखबराबरको वैदेशिक व्यापार गर्दा रु. नौ खर्ब ८७ अर्ब ३९ करोड ३८ लाखको घाटा व्यहोरेको छ । पछिल्लो आठ महिनामा रु. ११ खर्ब ४५ अर्ब ५६ करोड ६२ लाखबराबरको वस्तु आयात भएको छ भने रु. एक खर्ब ५८ अर्ब १७ करोड २४ लाखबराबरको निर्यात भएको छ ।

 छिमेकी मुलुक भारतसँग मात्र नेपालले आठ महिनामा रु. पाँच खर्ब ६३ अर्ब ६७ करोडको व्यापार घाटा व्यहोरेको छ । गत साउनदेखि फागुनसम्म भारतबाट रु. ६ खर्ब ८८ अर्ब ६८ करोडको आयात हुँदा रु. एक खर्ब २५ अर्बबराबरको निर्यात भएको छ । चीनसँग रु. दुई खर्ब १९ अर्ब १८ करोडको आयात र रु. दुई अर्ब १२ करोडको निर्यात हुँदा रु. २१ अर्ब ७० करोडको व्यापार घाटा व्यहोरेको छ । साथै अर्जेन्टिना, युक्रेन, युनाइटेड अरब इमिरेट्स, अस्ट्रेलियालगायतका मुलुकहरूसँग नेपालको व्यापारघाटा उच्च छ । उक्त अवधिमा ३४ वटा मुलुकसँगको व्यापारमा नेपाल नाफामा छ । अफगानिस्तान, डेनमार्क, रसिया, अस्ट्रिया, माल्दिभ्सलगायतका मुलुकसँगको वैदेशिक व्यापारमा नेपाललाई नाफा छ ।

  सो अवधिमा पेट्रोलियम पदार्थको आयात उच्च छ । पछिल्ला आठ महिनामा नेपालले रु. ७८ अर्ब ८६ करोड ३७ लाखको डिजेल, रु. ४२ अर्ब ८० करोड १७ लाखको पेट्रोल र रु. ४१ अर्बबराबरको एलपी ग्यास आयात गरेकाे छ । त्यस्तै, रु. नौ अर्ब ६९ करोड २२ लाखबराबरको विद्युतीय सवारीसाधन र रु. दुई अर्ब ११ करोडबराबरको अन्य सवारीसाधन आयात भएको छ । यो अवधिमा रु. २१ अर्ब ९१ करोड ८३ लाखबराबरको १४ लाख सात हजार ७८ वटा स्मार्टफोन आयात भएको पनि विभागको तथ्यांक छ ।