मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ चैत १३ बुधबार
  • Friday, 28 March, 2025
तस्बिर : जिल्ला प्रहरी परिसर, काठमाडौं
नयाँ पत्रिका काठमाडाैं
२o८१ चैत १३ बुधबार o७:१३:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

कलंकीमा फिल्मी शैलीमा ग्याङफाइट, एकजनाको मृत्यु, १६ पक्राउ 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ चैत १३ बुधबार o७:१३:oo

काठमाडौं महानगरपालिका–१४ कलंकी खड्का गाउँनजिकै दोलखा मेलुङ गाउँपालिका–४ का २३ वर्षीय अभय भनिने अबे तामाङ र पर्सा सखुवा प्रसौनी गाउँपालिका–१ का २१ वर्षीय आशिष श्रेष्ठ समूहको सोमबार साँझ ७:३० जम्का भेट भयो । दुई समूहबिच होलीको विषयलाई लिएर २९ फागुनमा विवाद भएको थियो । यसपटक भने लागुऔषधको विषयले दुई समूहको विवाद चरम उत्कर्षमा पुग्यो । 

तामाङ उत्तेजित बने । फोनमार्फत उनले आफ्ना समूहका युवालाई घटनास्थल बोलाए । यो दृश्यले श्रेष्ठ उत्तेजित बने । उनले पनि आफ्ना समूहका युवालाई घटनास्थल बोलाए । नभन्दै रड र धारिलो हतियारसहित श्रेष्ठको १६ जनाको समूह घटनास्थल आइपुग्यो । तामाङतर्फका भने चार युवा मात्रै भए । 

उत्तेजित बनेका श्रेष्ठले आवेग थाम्न सकेनन् । भेला भएका युवालाई आक्रमण गर्न निर्देशन दिए । हतियारसहितका युवाले तामाङको समूहविरुद्ध अन्धाधुन्द प्रहार गरे । यही क्रममा तामाङको ढाडमा रड रोपियो । टाउकोमा धारिलो हतियार प्रहार भयो । घाइते तामाङ सडकमा ढले । प्रहारमा संलग्न युवा क्षणभरमै अलप बने । घटनाको अनुसन्धानमा संलग्न जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एसपी अपिलराज बोहराले विगतको रिसइबी र लागुऔषधको विषयलाई लिएर दुई पक्षबिच झडप भएको र एकले ज्यान गुमाएको बताए । 

उनले भने, ‘दुई समूहबिच पहिला पनि विवाद भएको रहेछ । पछि त्यसमा लागुऔषध पनि थपियो । सोही विषयलाई लिएर दुईबिच झडप भयो । झडपमा तामाङको ढाडमा रड र टाउकोमा धारिलो हतियार प्रहार भएको रहेछ । चोटका कारण उनको मृत्यु भएको देखिन्छ ।’ अनुसन्धानका क्रममा प्रहरीले घटनामा संलग्न श्रेष्ठसहित १६ जनालाई पक्राउ गरेको छ । उनीहरूविरुद्ध अनुसन्धानका लागि जिल्ला अदालत काठमाडौंबाट पाँच दिनको म्याद थप भएको छ । पक्राउ पर्ने सबै २७ देखि १९ वर्ष उमेर समूहका छन् । 

हत्या आरोपमा भक्तपुरमा दुई पक्राउ 
मध्यपुरथिमि नगरपालिका–६ बस्ने ३२ वर्षीय लक्ष्मण खड्काको कुटपिट गरी हत्या गरेको अभियोगमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सर्लाही लालबन्दी नगरपालिका–९ घर भएका ३९ वर्षीय यादव पौडेल र सिन्धुली तीनपाटन गाउँपालिका–३ चकमके घर भएका २४ वर्षीय अनिश तामाङ रहेका छन् । मध्यपुरथिमि नगरपालिका–२ सानोठिमी मगरगाउँ जाने सडकको छेउमा गत २७ फागुन बिहान अचेत अवस्थामा फेला परेका लक्ष्मणको राष्ट्रिय ट्रमा सेन्टर काठमाडौंमा थप उपचारको क्रममा मृत्यु भएको थियो । अनुसन्धानको क्रममा जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले घटनामा संलग्न पौडेल र तामाङलाई पक्राउ गरेको हो । आपसी विवाद हुँदा ढुंगाले टाउकोमा हानेर उनीहरूले खड्काको हत्या गरेको भक्तपुर परिसरका डिएसपी ढुन्डीराज नेउपानेले बताए । उनीहरूउपर कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत भक्तपुरबाट पाँच दिन म्याद थप गरेर अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ । 

सय रुपैयाँ लेनदेन विवादमा हत्या
भक्तपुरको मध्यपुरथिमि नपा–९ स्थित नीलबाराही जंगलमा पनि ओमप्रकाश राईको हत्या भएको छ । हत्यामा संलग्न रोल्पाको परिवर्तन गाउँपालिका–६ का ५७ वर्षीय हिमाल बुढामगरलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार सय रुपैयाँ लेनदेनको विषयमा विवाद हत्यामा परिणत भएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रवक्ता डिएसपी ढुण्डिराज न्यौपानेले बताए । उनको आइतबार राति हत्या भएको थियो ।उनले भने, ‘उनीहरू १० चैतको साँझ दुवैजना सँगै बसेर मदिरा पिए । यही क्रममा सय रुपैयाँ लेनदेनको विषयमा दुईबिच विवाद भयो । यहीक्रममा हिमालले ओमप्रकाशलाई प्रहार गरे । सोही प्रहारको चोटले उनको मृत्यु भएको देखिन्छ ।’