मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ चैत १० आइतबार
  • Tuesday, 25 March, 2025
२o८१ चैत १० आइतबार २o:५४:oo
Read Time : > 1 मिनेट
समाचार

कोटिहोम आयोजनासम्बन्धी विवाद मिल्यो, पोखरा–१७ मा कोटिहोम गर्न अनुमति

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ चैत १० आइतबार २o:५४:oo

विवादित धर्मगुरु बालयोगेश्वर विजय कृष्णमूर्ति भनिने विजय भण्डारीको संकल्प एवं अगुवाइमा पोखरामा आयोजना हुने भनिएको ‘ऐतिहासिक श्रीगण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञ’ आयोजनास्थललाई लिएर तीन महिनादेखि जारी विवाद सकिएको छ।

पोखरा महानगरपालिका, नगर कार्यपालिकाको कार्यालयले आठ सर्तसहित पोखरा महानगरपालिका–१७ स्थित श्री सदा शिवजी सिद्धेश्वर हरिहर मन्दिरले भोगचलन गरेको गुठीको जग्गामा कोटिहोम सञ्चालन गर्न दिने निर्णयसँगै विवाद मिलेको हो। 

यसअघि आयोजकले पोखराको प्रमुख पर्यटकीयस्थल फेवाताल किनारको बाराहीघाट र हल्लनचोकस्थित क्याम्पिङ चोकको जग्गामा कोटिहोम गर्ने तयारी गरेको थियो। तर, पोखरा महानगरपालिका उक्त स्थानमा कोटिहोम गर्न नदिने अडानपछि विवाद चर्किएको थियो। 

विवादबिच आयोजकले २३ फागुनमा बाराहीघाटस्थित जग्गामा भूमिपूजन गर्न लाग्दा महानगरका प्रहरी र आयोजक पक्षबिच झडपसमेत भएको थियो। अनुमति नलिई कोटिहोमका लागि भूमिपूजन गर्न लागेको भन्दै महानगरले रोक्न र जसरी पनि भूमिपूजन गर्ने अडानछि विवाद र झडपको अवस्था बनेको थियो। सो क्रममा महानगर पक्षका ११ र आयोजक पक्षका सातजना घाइते भएका थिए। 

त्यसपछि २६ फागुनमा जिल्ला प्रशासन कार्यालय, पोखरा महानगरपालिका, सुरक्षा निकाय र कोटिहोम आयोजकसहित सरोकारवालाहरूको बैठकले कोटिहोमका लागि हाल आयोजकले गर्ने भनेको स्थानमा गर्न नदिने र यसका लागि अर्को स्थानमा उपयुक्त जग्गा खोजी गर्ने निर्णय गरेको थियो। त्यसपछि जग्गा खोजीका लागि जिल्ला प्रशासन कार्यालय कास्कीका एक, महानगरका दुई र आयोजक फाउन्डेसनका दुई गरी पाँच सदस्य समिति गठन भएको थियो।

१७ चैतदेखि २६ जेठसम्म कोटिहोम हुँदै
कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्री, पोखरा–२ का वडाध्यक्ष दिवसमान प्रधानांग, पोखरा–१७ की वडाध्यक्ष राधिका योगी शाही, आयोजक संस्थाका विष्णुराज गिरी र विजय केसी रहेको समितिको रायअनुसार महानगरले सो स्थानमा कोटिहोम आयोजना गर्न दिने निर्णय गरेको पोखराका निमित्त प्रमुख प्रशासकीय अधिकृत हेमप्रसाद आचार्यले जानकारी दिए। आचार्यका अनुसार समितिले ६ चैतमा गरेको सिफारिस एवं पोखरा–१७ को सिफारिसका आधारमा १७ चैतदेखि २६ जेठ ०८२ सम्म कोटिहोम सञ्चालनका लागि महानगरपालिकाले अनुमति दिएको हो। 

महानगरको अनुमतिसँगै जिल्ला प्रशासन कार्यालय कास्कीलाई आवश्यक शान्तिसुरक्षाको प्रबन्ध गरिदिन अनुरोध गरेको छ भने पोखरा–१७ को कार्यालय र श्री सदा शिवजी सिद्धेश्वर हरिहर मन्दिरलाई कोटिहोम आयोजनाका लागि दिएको अनुमतिको जानकारीसमेत दिएको छ 
 
आठ सर्तसहित कोटिहोम अनुमति
पोखरा महानगरपालिकाले आठ सर्तसहित सो सर्त पालना गर्ने गरी कोटिहोम सञ्चालन गर्न अनुमति दिएको हो। 
महानगरले आयोजकलाई उक्त क्षेत्रको वातावरणमा प्रतिकूल प्रभाव नपर्ने गरी कार्यक्रम सञ्चालन गर्नुपर्ने, कार्यक्रममा उत्सर्जन भएको फोहोर आयोजकले नै व्यवस्थापन गर्नुपर्ने, स्थानीय बासिन्दाको आवतजावत एवं साँध-सँधियारबाट गुनासो नआउने व्यवस्था आयोजक स्वयंले मिलाउनुपर्ने, सार्वजनिक-स्थलमा राखिएका सूचना, पोस्टर तथा ब्यानर कार्यक्रम समाप्त भएपश्चात् आयोजकले हटाउनुपर्ने, सूचना, पोस्टर तथा ब्यानर राख्दा तथा कार्यक्रम सञ्चालन गर्दा सवारीसाधनहरूको आवागमनलाई अवरोध गर्ने गरी सञ्चालन गर्न नपाइने, रोडक्रस स्वागत द्वार निर्माण गर्न तथा प्रचारप्रसारका लागि माइकिङ गर्न नपाइने, नेपाल सरकार तथा प्रचलित कानुनबाट निषेधित वस्तु तथा सेवाको प्रचार–प्रसार, बिक्री-वितरण एवं प्रयोग गर्न नपाइने, अनुमति-पत्रमा उल्लेख नभएका विषय प्रचलित कानुनबमोजिम हुनेछन् भन्ने सर्तसहित कोटिहोम गर्न अनुमति दिएको हो।

यसअघि आयोजकले कोटिहोम सञ्चालनका लागि पोखरा महानगरपालिकासँग कुनै अनुमति नलिई कोटिहोममा प्रयोग हुने समिदाका लागि भन्दै महानगर क्षेत्रका ऐतिहासिक चौतारा र सडकछेउमा रहेका वरपिपल, समीलगायतका रुखका हाँगा मुठार्ने काम गरेपछि महानगरपालिका र आयोजकबिचमा विवाद सुरु भएको थियो।

महानगरपालिकाले कोटिहोमका लागि स्थान चयनसँगै सञ्चालनका लागि अनुमति दिएपछि आयोजक यसको तयारीमा जुटेका छन्।