मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ चैत १० आइतबार
  • Wednesday, 26 March, 2025
फ्रन्ट पेज प्रिन्ट संस्करण

सिराहामा दलितको घरमा डोजर प्रकरण : पालिका अध्यक्ष, पूर्ववडाध्यक्ष र मूल पुजारीविरुद्ध जाहेरी

जातीय भेदभाव तथा छुवाछुत कसुरमा किटानी जाहेरी दर्ता

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ चैत १० आइतबार o६:१६:oo

विष्णु महायज्ञका लागि मण्डप बनाउने नाममा डोजर लगाएर आफ्नो घर भत्काउन नेतृत्व गरेका औरही गाउँपालिकाका अध्यक्ष शिवजी यादव, पूर्ववडाध्यक्षसमेत रहेका जनमत पार्टीका पालिका अध्यक्ष दिलीपकुमार यादव र महायज्ञका मूल पुजारी बजरंगी बाबाविरुद्ध किटानी जाहेरी दर्ता भएको छ । दलित अभियन्ता र कानुन व्यवसायीसहित शनिबार दिउँसो जिल्ला प्रहरी कार्यालय पुगेका पीडित दीपक मल्लिकले जातीय भेदभाव तथा छुवाछुतसम्बन्धी कसुरमा जाहेरी दिएका हुन् ।

१७ चैतदेखि गर्न लागिएको महायज्ञ मण्डपनजिकै जनता आवासबाट बनेको दीपकको दुईकोठे पक्की घर ‘अछुत’को भन्दै मूल पुजारी बजरंगीको निर्देशनमा १० फागुनमा डोजर लगाएर भत्काइएको थियो । घर रहेको जमिनसमेत अपवित्र रहेको भन्दै माटो पनि ताछेर फालिएको थियो । महायज्ञ आयोजक समितिका अध्यक्षसमेत रहेका पालिका अध्यक्ष शिवजी र आयोजक समितिका सचिव औरही– ५ का पूर्ववडाध्यक्ष दिलीपकुमार शुक्रबार साँझ नै पक्राउ परिसकेका छन् । मूल पुजारी बजरंगी भने फरार छन् । 

जिल्ला प्रहरी कार्यालय सिराहाका प्रमुख एसपी रमेश पण्डितले पीडितको जाहेरी दर्ता भएको र कानुनबमोजिम अनुसन्धान अगाडि बढाइने बताए । ‘पीडित दीपक मल्लिकबाट किटानी जाहेरी आएको छ । जाहेरी प्रहरीले दर्ता गरिसकेको छ,’ उनले भने, ‘कानुनबमोजिम अनुसन्धान अगाडि बढ्छ ।’

जाहेरीमा प्रतिवादीहरूलाई पक्राउ गर्न र निष्पक्ष अनुसन्धान गरी कसुरअनुसार हदैसम्मको सजाय माग गरिएको छ । पीडित दीपकले बसोबासकै अनिश्चितता भएकाले प्रहरीबाट आफूसहित परिवारको ज्यानको सुरक्षासहित सुरक्षित बसोबासको प्रत्याभूति गरिदिन सम्बन्धित निकायसँग समन्वयका लागि पनि आग्रह गरेका छन् ।

‘करिब ११ वर्षअघि जनता आवास कार्यक्रममार्फत बनाइएको दुईकोठे पक्की घरमा छोराछोरीसहित सातजनाको परिवार बस्दै आएकोमा गाउँपालिका अध्यक्षले घर रहेको ठाउँमा महायज्ञ गर्नुपर्ने भएकाले ठाउँ खाली गर्न दबाब दिँदै आएका थिए । गाउँपालिकामा सरसफाइ कर्मचारीका रूपमा कार्यरत रहेकाले घर नहटाए रोजगारीबाट हटाइदिन्छु भन्दै अध्यक्षले दबाब दिएका थिए । घरमा छोराछोरी मात्र रहेको १० फागुनको बिहान करिब १० बजेतिर बजरंगी बाबाको निर्देशनमा पालिका अध्यक्ष, पूर्ववडाध्यक्षसहितले जेसिबी ल्याएर घर भत्काइदिए, त्यसपछि घर रहेको जग्गाको माटोसमेत ताछेर बजरंगी बाबाले गहुँतले चोख्याए,’ दीपकको किटानी जाहेरीमा उल्लेख छ, ‘घर भत्काएर हुलाकी सडकमा पर्ने कल्भर्टको पानी बग्ने गल्फुधारको डिलमा बाँसको कटेरो बनाएर राखिदिए । खानेपानी, बिजुलीसमेत नभएको ठाउँमा विस्थापित गराएको घटना बाहिरिएपछि दबाब दिएर सहमतिमै सरेको भन्न लगाए । यसले म र मेरो परिवारमा मानसिक आघातसमेत पर्न गएको छ ।’

जातीय छुवाछुत गर्ने र गराउनेलाई के हुन्छ कारबाही ?
मुलुकी अपराध संहिता, २०७४ को दफा १६६ मा जातिपातिको आधारमा छुवाछुत वा अन्य भेदभावपूर्ण व्यवहार गर्न नहुने उल्लेख छ । उक्त दफाको उपदफा २ ले सजायको पनि व्यवस्था गरेको छ, ‘कसुर गर्ने–गराउने व्यक्तिलाई तीन वर्षसम्म कैद वा ३० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ र राष्ट्रसेवकको हकमा थप तीन महिनासम्म कैद सजाय हुनेछ ।’ 

घटना सार्वजनिक भएपछि राष्ट्रिय मानव अधिकार आयोगले छानबिन गरिरहेको छ भने संघीय र प्रदेश सांसददेखि दलित अभियन्ताले गाउँपालिका अध्यक्षजस्तो व्यक्तिले आफ्नै अगुवाइमा जातीय विभेद गरेकाले उनलाई निलम्बन गर्नुपर्नेसम्मका माग उठाएका छन् । 

जाहेरीपछि पनि दीपकलाई चिन्ता : विद्यालयको जग्गामा बनाएको कटेरोबाट पनि लखेटे भने लालाबाला च्यापेर कहाँ जाने ?
घटनामा संलग्न पालिका अध्यक्ष र पूर्ववडाध्यक्ष पक्राउ परेपछि पीडित परिवारलाई गाउँबाटै उठीवास लगाउने धम्की आउन थालेको छ । शुक्रबार राति नै वडाध्यक्ष शिवजी यादवका छोरा रुकेश यादवसहितको १५–२० जनाको समूहमा गएर पीडित परिवारलाई बयान फेर्न दबाब दिँदै धम्क्याएको थियो । ‘तिमीहरूका कारण मेरो बुबा पक्राउ परे, हामीसँगै प्रहरीमा हिँड र केही भएको छैन भन्ने बयान देऊ’ भन्दै धम्क्याएका थिए । 

दीपकले किटानी जाहेरीमा आफू र परिवारको जीवन सुरक्षा र सुरक्षित बसोबासका लागि पनि माग गरेका छन् । किटानी जाहेरी दर्तापछि पनि उनले असुरक्षित महसुस गरेका छन् । शनिबार उनी सदरमुकामस्थित आफन्तकै घरमा बसे । ‘जाहेरी दर्तापछि न्याय पाउने आशा त पलाएको छ । तर, विद्यालयको जग्गामा बनाएको दुई कोठाको कटेरोमा भाइ सञ्जय मल्लिकको समेत दुई परिवार बसेका छौँ,’ उनले भने ‘त्यहाँबाट पनि लखेटे भने लालाबाला च्यापेर कहाँ जाने भन्ने चिन्ता छ ।’ आफ्नो न्यायको आन्दोलनमा सघाउने स्थानीय अगुवा, अभियन्ता र राजनीतिकर्मीलाई उनले बिजुली, खानेपानीसहित सुरक्षित बसोबास र रोजगारीका लागि पहल गरिदिन आग्रह गरेका छन् । 

त्यस्तै, पीडित परिवारको न्यायका लागि समाचार प्रकाशित गर्ने सञ्चारमाध्यमविरुद्ध पीडक पक्षले शनिबार अपराह्न नारायणी सेनाको नाममा हुलाकी सडकमा टायर बालेर सडक अवरुद्ध गरेको छ ।