
शिक्षा विकास समन्वय इकाइ रौतहटका तत्कालीन प्रमुख रामविनयकुमार सिंहको बदमासी
शिक्षा विकास तथा समन्वय इकाइ रौतहटका तत्कालीन प्रमुख रामविनयकुमार सिंहले हुँदै नभएको ‘शिक्षक’लाई नक्कली कागजातका आधारमा एउटा विद्यालयबाट सरुवा गराएर अर्कोमा पदस्थापन गराई तलब खुवाएको खुलेको छ । नक्कली कागजात पेस गरी कुनै विद्यालयमा शिक्षक रहेको दाबी गरेकै आधारमा सिंहले चारजनालाई अर्को विद्यालयमा सरुवा तथा पदस्थापन गराएको भेटिएको हो ।
जसमा सर्लाही बरालका धीरेन्द्र कुमार र दीपेश पाण्डे तथा रौतहट दुर्गा भगवती गाउँपालिका– ३ का वेदानन्द ठाकुर र सोही गाउँपालिका– २ की सरिता कुमारी छन् । उनीहरूलाई विभिन्न विद्यालयमा शिक्षक रहेको नक्कली कागजात बनाएर त्यहाँबाट सरुवा गराई रौतहटको दुर्गाभगवती गाउँपालिका– २, पिपरास्थित सरस्वती माविमा पदस्थापन गरिएको प्राप्त विवरणमा उल्लेख छ । विवरणअनुसार धीरेन्द्रलाई रौतहट राजपुर नगरपालिका– ५, फरहदवास्थित जनता माविबाट, वेदानन्दलाई रौतहट विजयपुर नगरपालिका– १३ स्थित हिमाली जनता माविबाट, सरितालाई पनि रौतहटकै विजयपुर– ५ को आधारभूत विद्यालयबाट र दीपेशलाई रौतहटको वृन्दावन नगरपालिका– ८ को बरगजवा माविबाट सरुवा गरिएको थियो । धीरेन्द्रले तीन लाख १४ हजार ६४४, वेदानन्दले तीन लाख दुई हजार ७६४ र सरिताले एक लाख ६८ हजार रुपैयाँ तलब बुझिसकेका छन् भने दीपेशले तलब लिएका छैनन् । घटना बाहिरिएपछि फसिने डरले धीरेन्द्र र दीपेशले जागिर छाडेका छन् भने वेदानन्द र सरिता अझै कार्यरत छन् । यो घटनामाथि हाल सिआइबीले अनुसन्धान गरिरहेको छ ।
‘रौतहटको दुर्गाभगवती गाउँपालिकामा शिक्षक नियुक्तिमा बदमासी भएको भनेर उजुरी आएको छ । अहिले कागजात अध्ययन गर्ने काम भइरहेको छ । कुन तहको अपराध हो छुट्याउँछौँ,’ सिआइबी प्रवक्ता एसपी सुधीरराज शाहीले भने, ‘जिल्लाले अनुसन्धान गर्ने तहको हो भने उसैलाई दिन्छौँ । नत्र हामी नै अनुसन्धान अघि बढाउछौँ ।’
जिल्ला शिक्षा विकास तथा समन्वय इकाइ च.नं. १८९ को पत्रअनुसार धीरेन्द्रलाई राहत अनुदान कोटाअन्तर्गत मावि तहको शिक्षकका रूपमा सरुवा गरिएको देखिन्छ । पत्रमा उल्लेख छ, ‘यस कार्यालयमा पेस गर्नुभएको निवेदन तथा सो संलग्न दुर्गाभगवती गाउँपालिका पिपराको च.नं. २०४ मिति २०८०/०५/२६ गतेको पत्रानुसार तपाईंलाई यस कार्यालयको मिति २०८०/०५/३१ गतेको निर्णयानुसार जनता माध्यमिक विद्यालय राजपुर फरहदवाबाट सरस्वती मावि भलोहिया पिपरा, दुर्गाभगवती गापा रौतहटको रिक्त मावि शिक्षक राहत अनुदान कोटमा संरुवा तथा पदस्थापना गरिएको छ ।’
इकाइको सरुवा पत्रपछि धीरेन्द्रले ३१ भदौ ०८० मै जनता माविबाट रमानापत्र लिएको देखिन्छ । रमानापत्रमा लेखिएको छ, ‘शिक्षा विकास तथा समन्वय इकाइ रौतहट च.नं. १८९ मिति २०८० भदौ ३१ को पत्रअनुसार तपाईंलाई यस विद्यालयबाट सरस्वती माध्यमिक विद्यालय पिपरा, दुर्गा भगवती गापा– २ रौतहटमा सरुवा हुनुभएकोले मिति २०८० असोज १ देखि लागू हुने गरी सरुवा भएको सम्बन्धमा हाजिर हुन जान तपाईंलाई यो रमानापत्र दिइएको छ ।’
पत्रपछि धीरेन्द्रले विद्यालय पुगेर भटाभट हाजिर गरे । ६ महिनाको तलब एकमुस्ट तीन लाख १४ हजार ६४४ रुपैयाँ गौरस्थित लक्ष्मी सनराइज बैंको खातामा गयो । त्यसपछि उनी फरार छन् । जबकि धीरेन्द्र जनता माविको कुनै तहमा कार्यरत शिक्षक होइनन् । उजुरीपछि घटना सम्बन्धमा जिल्ला प्रशासन कार्यालय रौतहटले जनता माविलाई पत्र काटेकोमा जनाता माविले धीरेन्द्र नाम गरेको कुनै शिक्षक विद्यालयमा कार्यरत नभएको पत्र जिप्रकालाई जवाफ लेखेको थियो ।
२७ माघ ०८१ मा लेखिएको पत्रमा भनिएको छ, ‘पत्रमा उल्लेखित मावि तृतीय राहत शिक्षक धीरेन्द्र कुमारको नियुक्ति/सरुवा/रमानापत्रसम्बन्धी कुनै किसिमको अभिलेख वा कागजात यस विद्यालयमा नरहेको साथै उक्त शिक्षक विद्यालयमा कुनैवेला पनि हाजिर भई कामकाज नगरेको व्यहोरा जानकारी साथ हार्दिक अनुरोध छ ।’
त्यस्तै, वेदानन्दलाई पनि इकाइले १२ असोज ०८० मा रौतहट विजयपुर नपा– ११ फतुवास्थित हिमाली जनता माविबाट दुर्गा भगवती गापा– २ कै सरस्वती माविमा सरुवा गरे । पत्रपछि ठाकुरले हिमाली माविबाट रमानापत्र पनि लिए । सोही पत्रका आधारमा वेदानन्द अहिले पनि विद्यालयमा कार्यरत छन् । मावि तहको विज्ञान विषय शिक्षकका रूपमा कार्यरत उनले हालसम्म तीन लाख दुई हजार ७६४ रुपैयाँ तलब बुझिसकेका छन् । तर, उजुरीपछि विद्यालयले वेदानन्द नामको कुनै शिक्षक कार्यरत नभएको भन्दै जिप्रका रौतहटलाई गत १८ फागुनमा पत्र लेखेको छ । च.नं. ६० को पत्रमा भनिएको छ, ‘यस विद्यालयको रेकर्ड हेर्दा वेदानन्द ठाकुरको मावि शिक्षक अनुदानमा कुनै पनि प्रकारको नियुक्ति नभएको व्यहोरा जानकारीको लागि अनुरोध गरिन्छ ।’
सरितालाई पनि इकाइले रौतहट विजयपुर– ५ फतुवास्थित आधारभूत विद्यालय सन्तपुरमा कार्यरत रहेको भन्दै दुर्गाभगवती– २ कै सरस्वती माविमा सरुवा ग¥यो । सरुवापत्रमा उनी बालविकास शिक्षिकाका रूपमा कार्यरत रहेको उल्लेख थियो । च. नं. १८२९ को पत्रमा भनिएको छ, ‘दुर्गाभगवती गाउँपालिका गापाको च.नं. १७०९ मिति २०८१/०२/३१ गतेको पत्रानुसार तपाईंलाई सरस्वती मावि पिपरा भलोहियाको बालविकास शिक्षिकाका रूपमा सरुवा तथा पदस्थापन गरिएको छ । नियमानुसार रमाना लिई सरुवा भएको विद्यालयमा हाजिर हुन जान अनुरोध छ ।’
पत्रपछि उनले आधारभूत विद्यालयको रमनापत्र पनि बुझिन्, हाजिर गरिन् र ६ महिनाको एकमुस्ट तलब एक लाख ६८ हजार रुपैयाँ बुझिन् । तर, उनको विषयमा जिल्ला प्रशासन कार्यालय रौतहटमा उजुरी प¥यो । अनुसन्धानका क्रममा आधारभूत विद्यालयले सरिता नामको कुनै पनि शिक्षिका विद्यालयमा कार्यरत नभएको भन्दै पत्र लेख्यो । गत ५ फागुनमा लेखिएको पत्रमा भनिएको छ, ‘बालविकास शिक्षिका सरिता कुमारीको यस विद्यालयमा कहिल्यै पनि नियुक्ति नभएकाले निजको नियुक्तिसम्बन्धी कुनै कागजात यस विद्यालयमा नरहेको व्यहोराका साथै अधारभूत विद्यालय सन्तपुर (दो) र प्राथमिक विद्यालय सन्तपुर (दो) एउटै रहेको समेत जनकारी गराइएको अनुरोध छ ।’
सलार्हीका दीपेश पाण्डेलाई पनि रौतहट वृन्दावन नपा– ८ स्थित बरगजवा माध्यमिक विद्यालयमा निमावि तृतीय तहमा कार्यरत रहेको भन्दै सरस्वती माविमा सरुवा गरिएको थियो । उनले पनि त्यहाँ डेढ महिना जागिर गरे । तलब खाने वेला उनको विषयमा जिल्ला प्रशासन कार्यालमा उजुरी परेपछि प्रशासनले बरगजवा माविलाई पत्र काट्यो । विद्यालयले दीपेश नामको शिक्षक कार्यरत नरहेको जवाफ दियो । गत १२ फागुनमा विद्यालयले जिप्रकालाई लेखेको पत्रमा भनिएको छ, ‘प्रस्तुत विषयमा कार्यालयको च.नं. १०२३ मिति २०८१/०९/२४ को पत्रबमोजिम विद्यालयमा नियुक्त भएका भनिएको निमावि शिक्षक अनुदान दीपेश पाण्डेको नियुक्ति नभएको व्यहोरा अनुरोध छ ।’
घटना सम्बन्धमा इकाइका तत्कालीन प्रमुख तथा हाल बारास्थित बहुदरमाई नपामा प्रमुख प्रशासकीय अधिकृतका रूपमा कार्यरत रामविनयकुमार सिंहले सम्बन्धित गाउँपालिका र विद्यालयकै अनुरोधमा शिक्षकको सरुवा तथा पदस्थापन गरिएको दाबी गरे । ‘विद्यालयमा शिक्षकको कमी रहेछ । गाउँपालिका र विद्यालयले शिक्षक उपलब्ध गराउन पत्र लेख्यो । सोही पत्रका आधारमा केही शिक्षकलाई सरुवा गरेको हुँ । उहाँहरू सरुवाअघिको विद्यालयमा कार्यरत भए–नभएको विषयमा जानकार भइनँ । मेरो विचारमा हुनुपर्ने हो,’ उनले भने । तर, स्रोतका अनुसार सरुवापछि पदस्थापन गरिएका सबै नक्कली शिक्षक इकाइ प्रमुख सिंहका आफन्त हुन् । उनले यसैगरी विभिन्न विद्यालयमा तीन सयभन्दा धेरै नक्कली शिक्षक सरुवा गरेको स्रोतको दाबी छ ।
दुर्गाभगवती गाउँपालिका अध्यक्ष शम्भुकुमार सिंहले भने घटनाको सम्बन्धमा उजुरीपछि सिआइबीले अनुसन्धान गरिरहेको बताए । उनले भने, ‘घटनाका सम्बन्धमा सिआइबीमा पनि उजुरी परेको रहेछ । उनीहरूले पनि अनुसन्धान गरिरहेको सुनेको छु । मेरो गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतको लफडा छ । दुई महिनादेखि केही गर्न नै पाएको छैन । त्यसो हुँदा यस विषयमा के भइरहेको छ, म यसै भन्न सक्दिनँ ।’
जिल्ला प्रशासन कार्यालय रौतहटका प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काले घटनाबारे अध्ययनपछि मात्रै भन्न सकिने बताए । उनले भने, ‘भर्खर मात्रै कार्यालयमा हाजिर भएको छु । घटना सम्बन्धमा के भएको रहेछ अध्ययन गरेर मात्रै भन्न सकिएला ।’