
प्रधानमन्त्री केपी ओलीको मिर्गौलासम्बन्धी उपचार र हेरचाहमा नेपालले प्रगति गर्दै गएकाेमा सन्तोष व्यक्त गर्दै नेपाल सम्भवतः विश्वमै सुलभ मूल्यमा स्वास्थ्य सेवा दिने मुलुक पर्ने बताएका छन् ।
नेपाल सोसाइटी अफ नेफ्रोलोजीको पाँचौँ सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले गरिबीको निवारणसहित स्वास्थ्यसम्बन्धी जनचेतना फैलाउँदै निरोगी नेपालको अभियानलाई सार्थक तुल्याउन जोड दिएका हुन् ।
दुईपटक मिर्गौला प्रत्यारोपण गराएका प्रधानमन्त्री ओलीले पहिलो प्रत्यारोपण गराउँदा नेपालमा सुविधा नभएकाले भारतमा गरेको र दोस्रोपटक सुविधा उपलब्ध भएपछि नेपालमै प्रधानमन्त्रीका हैसियतमा प्रत्यारोपण गराउन पाउँदा गर्व महसुस भएको उल्लेख गरे ।
सम्मेलनबाट प्राप्त निष्कर्षहरू सरकारलाई नीतिगत सुधारका लागि उपयोगी हुने बताउँदै प्रधानमन्त्री ओलीले मिर्गौला रोग विशेषज्ञका साथमा सरकार सदैव रहने स्पष्ट गरे ।
कार्यक्रममा समाजका अध्यक्ष प्रा.डा. दिव्या सिंह शाहले दक्षिण एसियामा मिर्गौला रोगको समस्या र निदानका प्रयासबारे प्रस्तुतीकरण गरेकी थिइन् ।