
घुस खाने लतले कर्मचारीलाई कहाँसम्म पुर्याउँछ ! घुस खान थालेपछि उसले आफ्नै र जुनियर कर्मचारीलाई पनि नछाड्दोरहेछ। यस्तै एउटा अनौठो घटना पोखरामा भएको छ।
पोखरा महानगरपालिकाको उजुरी फर्स्याेट समन्वय शाखामा कार्यरत प्रशासकीय अधिकृत (सातौँ तह)मा कार्यरत कपिल गिरीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार रंगेहात पक्राउ गर्याे । आयोगको पोखरा कार्यालयको टोलीले दिउँसो ३ बजे २५ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा रंगेहात पक्राउ गर्याे। अख्तियारमा उजुरी पत्र आएको भन्दै उजुरीसँग सम्बन्धित केस मिलाइदिने भन्दै घुस लिँदै गर्दा अख्तियारको टोलीले उनलाई पोखरा महानगरपालिकाको गेटअगाडिबाट नियन्त्रणमा लियो।
अख्तियारको विज्ञप्तिमा पीडित कर्मचारीको नाम खुलाइएको छैन। अख्तियारले विज्ञप्तिमा सेवाग्राही मात्र उल्लेख गरेको छ। खासमा ती सेवाग्राही भनिएका व्यक्ति कर्मचारी नै हुन्। जो पोखरा महानगरपालिकाकै कुनै वडामा कार्यरत छन्। उनी खरिदार हुन्। पीडितको नाम नखुलाउने अनुसन्धानको मान्यताबमोजिम उनको नाम गोप्य राखिएको हो।
अब जाऔँ, घटनाको पृष्ठभूमितर्फ ।
बिहीबार दिउँसो अख्तियारले रंगेहात पक्राउ गरे पनि यसको शृंखला बुधबारदेखि नै सुरु भएको थियो।
रंगेहात पक्राउमा परेका गिरी महानगरपालिकाको उजुरी फर्स्याेट समन्वय शाखामा कार्यरत हुन्। उनी यो जिम्मेवारीमा आएको पनि धेरै भएको छैन। अख्तियारमा पोखरा महानगरपालिकासँग सम्बन्धित उजुरीको संख्या अत्यधिक भएपछि महानगरले ती उजुरी हेर्न उजुरी फर्स्याेट शाखा नै खोल्यो। त्यसको प्रमुखको जिम्मा महानगरले गिरीलाई दियो। अख्तियारको वार्षिक प्रतिवेदनअनुसार गत आर्थिक वर्ष ०८०/८१ मा सबैभन्दा बढी उजुरी परेका स्थानीय तहमध्ये पोखरा महानगर सबैभन्दा अगाडि छ। महानगरविरुद्ध ३५९ उजुरी गत आवमा परेका थिए।
अख्तियारको उजुरी समन्वय शाखाको जिम्मा पाएपछि गिरीले यसैलाई कमाइको माध्यम बनाए। र, थाले कर्मचारीहरूसँग बार्गेनिङ।
यसैबिच महानगरको उजुरी फर्स्याेट शाखाका संयोजक गिरीले बुधबार घटनासँग सम्बन्धित खरिदारलाई फोन गरे। ‘तपाईंविरुद्ध अख्तियारमा उजुरी परेको छ। यसको भिडियो पनि छ। एक लाख पैसा दिनुभयो भने केस मिलाउँछु। नत्र, अख्तियारमा लेखेर पठाउनुपर्छ,’ गिरीले पीडितलाई भनेको कुरा उदृत गर्दै स्रोत भन्छ।
आफूविरुद्ध अख्तियारमा उजुरी परेको विषय महानगरको उजुरी फर्स्याेट शाखाकै संयोजकले भनेपछि पीडित व्यक्ति खङ्ग्रङ्गै भए। पछि छानबिनमा परिने सम्भावित जोखिम र बदनामी टार्न उनले गिरीलाई पैसा बुझाउने सहमति दिए। तर, पीडितलाई यसले चैन भएन। तल्लो तहको कर्मचारी भएकाले न त उनीसँग गिरीलाई मागेबमोजिम दिने रकम नै थियो। यसपछि केही बार्गेनिङ चल्यो। र, २५ हजारमा केस मिलाउने सहमति भयो।
यता पीडितले यसको जानकारी अख्तियारको पोखरा कार्यालयलाई गराए। पीडितले जानकारी गराएपछि अख्तियारको टोली रकम बोकेर पीडितसँगै महानगरअगाडि गयो। तर, पैसा बुझेपछि अख्तियारले गिरीलाई रंगेहात नियन्त्रणमा लियो।
अख्तियार स्रोतका अनुसार गिरीले उजुरी परेको भनेर पीडितसँग जसरी पैसा मागेका थिए, खासमा त्यस्तो उजुरी नै परेको थिएन। पीडितविरुद्ध अख्तियार कार्यालयमा उजुरी नै छैन।
नपरेको उजुरीमा जुनियर कर्मचारीसँग गिरीले बार्गेनिङ गरेर २५ हजार घुस बुझे। गिरीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अख्तियारले गरिरहेको छ। उनले अरू कर्मचारीसँग पनि यसरी नै अख्तियारको उजुरीका नाममा धम्क्याएर घुस खाएको हुन सक्ने आकलन अधिकारीहरूको छ।
तर, यो घटनाले अख्तियारका अधिकारीहरू नै अचम्मित छन्। ‘कर्मचारीले आफ्नै कार्यालयमा कार्यरत कनिष्ठ कर्मचारीसँग पनि यसरी घुस खाँदो रहेछ,’ एक अधिकारी भन्छन्, ‘यस्तो घटना त यसअघि थाहा पाइएको थिएन।’