मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ चैत ८ शुक्रबार
  • Sunday, 23 March, 2025
२o८१ चैत ८ शुक्रबार o६:२५:oo
Read Time : > 3 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

महायज्ञका लागि दलितको घर भत्काएको घटना : ‘जग्गाको प्रमाण हो’ भन्दै झुक्याएर २५ दिनअघिको मिति राखी दीपकको ‘मन्जुरीनामा’

Read Time : > 3 मिनेट
नयाँ पत्रिका
२o८१ चैत ८ शुक्रबार o६:२५:oo

सिराहामा विष्णु महायज्ञका लागि मण्डप बनाउने नाममा दलित परिवारको घरमा डोजर चलाएर माटो ताछेर फ्याँकिएको छ । घटनाको तथ्य तोडमोड गर्न औरही गाउँपालिका संयन्त्र नै लागेको छ । महायज्ञ मूल आयोजक समितिका संयोजक तथा गाउँपालिका अध्यक्ष शिवजी यादव र औरही– ५ का पूर्ववडाध्यक्षसमेत रहेका समितिका सचिव दिलीपकुमार यादवको उपस्थितिमा १० फागुनमा दीपक मल्लिक (डोम)को घरमा जेसिबी चलाइएको थियो । महात्यागी भनिने बजरंगी बाबाको निर्देशनमा घर भत्काइएको थियो भने घरले चर्चेको जग्गाको माटोसमेत ताछेर फ्याँकिएको थियो ।

तर, घटनाको विरोध भएपछि त्यसको भोलिपल्ट अर्थात् ११ फागुनको मिति राखेर ६ चैतमा मात्र दीपकको फर्जी मन्जुरीनामा गराइएको छ । उनकी पत्नी अनितादेवी मल्लिक र छोराछोरीलाई बिहीबार महायज्ञस्थलनजिकै रहेको पक्की घरमा राखेर धाकधम्की दिँदै ‘राजीखुसीले म आफैँ अन्यत्र गएको’ भन्न लगाएको भिडियो सार्वजनिक गरिएको छ ।

दीपकका अनुसार घर हटाउन मन्जुरीनामा रहेको कागजमा झुक्याएर ६ चैत बुधबार बिहान ११ बजेतिर मात्र हस्ताक्षर गराइएको हो । ‘पालिकाका कर्मचारी मनोज यादवले ‘जग्गाको प्रमाण हो, सही गरेर एकप्रति सुरक्षित राख्नू’ भन्दै हेर्नै नदिई ल्याप्चे लगाउन लगाए, म धेरै लेख–पढेको छैन, आफ्नै पालिकाका कर्मचारीले भनेपछि होला भन्ने भयो,’ औरही गाउँपालिकामा करारमा सफाइ कर्मचारी रहेका दीपकले भने, ‘आज (बिहीबार) अरूले राजीखुसी बसाइँ सरेको भनेर कागज गरेको रहेछ भनेपछि बल्ल थाहा पाएँ ।’

घर भत्काइएको भोलिपल्ट ११ फागुनको मिति राखेर गराइएको मन्जुरीनामा भनिएको छ, ‘... त्यो जग्गामा कृषि बजार व्यवस्थापन गर्न ठेक्का प्रक्रियामा गइसकेकाले म आफ्नै राजीखुसीले सुन्दर जनता माविभन्दा पश्चिम बसोबास गरेको छु । यसमा कुनै किसिमको दाबीविरोध गर्नेछैनौँ, गरे यसै मन्जुरीनामाबाट बदर गरिदिनुभएमा मेरो मन्जुरी छ ।’

त्यति मात्र होइन दीपककी पत्नी अनितालाई ‘घरनजिकै सुंगुर (बंगुर)समेत पालेकाले त्यसले महायज्ञस्थलमा समस्या हुने भनेपछि पालिका अध्यक्षले देखाएको ठाउँमा सरेको’ बोल्न लगाएर भिडियो बनाइएको छ, जुन बिहीबार सार्वजनिक गरिएको छ ।महायज्ञ आयोजक समितिका मान्छेले दुवैजना (पतीपत्नीलाई) सफाइ कर्मचारीको कामबाट निकालिदिने धम्की दिएर ‘पालिका अध्यक्षले देखाएको ठाउँमा सरेको’ भन्न लगाएर भिडियो बनाएको दीपकले बताए । तर, धम्की दिनेको नाम भने खुलेको छैन । ‘म गाउँपालिकामा अनि पत्नी औरही अस्पतालमा सफाइको काम गर्छाैँ, दुवैको तलब ३३ हजार रुपैयाँ हुन्छ, सातजनाको परिवार पाल्नुपर्छ,’ उनले भने, ‘कामबाट निकालिँदा गाह्रो हुन्छ भन्ने त्रासमा छौँ ।’ गाउँपालिका अध्यक्षले नै घर भत्काउँदासमेत उनीहरूले यसअघि खुलेर विरोध गर्न सकेका थिएनन् ।

दीपकको घर रहेको जग्गा ऐलानी हो । तर, मधेश प्रदेश सरकारले दुई वर्षअघि मात्र जनता आवास कार्यक्रमअन्तर्गत बनाइदिएको थियो । अहिले गल्फुधारको पश्चिमी भँगालोको माटो खनेर थुपारिएको करिब दुई धुर टाकुरामा बाँसको टाटले बारेको टहरो बनाइएको छ । यो जग्गा सुन्दर जनता माविको हो । ‘उहाँहरूको टहरोमा खानेपानीका लागि कल छैन, बिजुली छैन,’ स्थानीयसमेत रहेका राष्ट्रिय दलित आयोगका पूर्वसदस्य कबुली पासवानले भनिन्, ‘अछुत भन्दै महायज्ञस्थलबाट उठीवास गराइयो । घर रहेको ठाउँको माटो पनि ताछेर फालिएको छ । यो अपराधमा संलग्नमाथि कारबाही हुनुपर्छ ।’ 

गाउँपालिका अध्यक्ष यादवले कृषि बजार व्यवस्थापन गर्न दीपकको घर हटाएर अन्यत्र व्यवस्थापन गरिएको दाबी गरे । तर, त्यहाँ थप पाँचवटा घर छन्, जुन अहिले पनि त्यहीँ छन् । डोम परिवारको घरले चर्चेको जग्गाको माटो हटाएर छेउमै महाकाल र हनुमानको मूर्ति बनाइँदै छ । दीपकको सातजनाको परिवार छ । परिवारमा १७ वर्षीय छोरा अर्जुन, नवविवाहिता बुहारी, १३ वर्षीया छोरी किरण कुमारी, १० वर्षीया छोरी प्रीति र सात वर्षीय छोरा आकाश मरिक छन् ।गाउँपालिका अध्यक्षसहित महायज्ञ आयोजकले बिहीबार पत्रकार सम्मेलन गरेका छन् । अध्यक्ष यादवले त्यही कुरा दोहोर्‍याएका छन्, ‘डोम परिवार स्वेच्छाले सरेको हो ।’

यादवले जातीय छुवाछुतका कारण डोम परिवारलाई महायज्ञस्थलबाट जबर्जस्ती हटाएको पुष्टि भए जस्तोसुकै कारबाही भोग्न तयार रहेको बताए । डोम परिवारको खानेपानीका लागि बिहीबारदेखि नै कल धसाउन मजदुर परिचालन गरिएको उनले बताए । ‘बिजुलीको काम पनि हुन्छ,’ उनले भने, ‘महायज्ञ समापन भएलगत्तै गाउँ कार्यपालिकाबाट निर्णय गरी पक्की घर बनाएर दिन्छौँ ।’ महायज्ञ १७ चैतबाट लगाउने तय भएको छ । 

अध्यक्ष यादवले डोम परिवारको घर रहेको ठाउँलाई कृषि बजारीकरणका लागि सेड निर्माण, बाउन्ड्री बनाउन संघीय सरकारको सवा तीन करोड बजेटको टेन्डरसमेत लागिसकेको दाबी गरे । ‘पालिकाबाट जग्गा खाली गर्न पटक–पटक लिखित–मौखिक सूचना गरेको भए पनि नटेरेपछि हटाइएको हो, महायज्ञको संयोग मात्र परेको हो,’ उनले भने ।

पटक–पटक उठीवास
दीपकका बुबा मोहिता डोमको परिवार करिब अढाई दशकअघि सिराहा नगरपालिका– १९ सन्हैठा गाउँबाट गल्फुधारको पूर्वपट्टि हुलाकी सडकको दक्षिणी किनारमा बसेको थियो । ‘गल्फुधारनजिकको जग्गा रहेका व्यक्तिले खाली गर्न भनेपछि लालाबालासहित करिब १० वर्षअघि औरही– ५ मा पुगेका थिए,’ स्थानीयसमेत रहेका राष्ट्रिय दलित आयोगका पूर्वसदस्य कबुली पासवानले भनिन् । औरहीमा दीपकको परिवार बसेको जग्गा ऐलानी थियो । स्थानीय बासिन्दाले सिनो फाल्थे । तर, हुलाकी सडक सुचारु भएपछि वरपर बस्ती बस्यो । जग्गा महँगियो । ‘त्यसपछि कृषि बजारीकरणको नाममा पालिका अध्यक्ष स्वयंको योजनामा उठीवास गराइएको हो,’ पासवानले भनिन् ।

आफ्नो थातथलोबाट लखेटिएका डोम परिवारलाई पालिका अध्यक्षले व्यवस्थित र सुरक्षित भनिरहेको सुन्दर माविको स्वामित्वमा रहेको जग्गामा टहरा बनाएर राखिएको छ । भत्काइएको दुईकोठे घर मधेश प्रदेश सरकारको बजेटमा जनता आवास कार्यक्रमअन्तर्गत दुई वर्षअघि बनाएको थियो । 

मानव अधिकार आयोगको अनुगमन
महायज्ञस्थलनजिकैबाट डोम परिवारको घर हटाएको विषयमा राष्ट्रिय मानव अधिकार आयोग मधेश प्रदेश कार्यालयले अनुगमन थालेको छ । आयोग मधेश प्रदेश प्रमुख बुद्धनारायण साहनीले बिहीबार प्रेस नोट जारी गर्दै यज्ञस्थलनजिकैबाट दलितको घर हटाइएको भनिएको घटनाको अनुगमन थालिएको बताए । महायज्ञ सुरु गर्ने गरी भइरहेको व्यवस्थापन स्थलनजिक रहेको दीपक मल्लिकको पक्की घर १० फागुनमा दलित भएको कारणले भत्काई हटाई स्थानान्तरण गरिएको घटनाको अनुगमन तथा अनुसन्धान थालिएको प्रेस नोटमा उल्लेख छ । 

आयोगको एक टोली बिहीबार नै घटनास्थलतर्फ गएको र घटनासम्बन्धी आवश्यक जानकारीका लागि जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र औरही गाउँपालिकाको कार्यालयलाई पत्राचार गरिएको साहनीले बताए । सिराहाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक रमेश पण्डितले घटनाको विषयमा मिडियाबाट थाहा पाएपछि घटनास्थल गएको बताए । करिब एक घण्टा पालिकामा बस्दा पनि अध्यक्षसँग भेट नभएको र फोनसमेत नलागेको उनले बताए । तर, पीडितले भने सहमतिमै सरेको सुनाएको उनले बताए । ‘जहाँसम्म महायज्ञस्थलनजिकैबाट घर भत्काएर सारिएको भन्ने छ, त्यसमा लिखित सहमतिपत्र, कृषि बजारीकरणको टेन्डरसमेत लागिसकेको कागजातबाट देखिन आएको छ,’ उनले भने, ‘पीडितले अहिलेसम्म कुनै उजुरी नगरेको बरु आफ्नो मन्जुरीमा सरेको भनेपछि प्रहरीले के गर्न सक्छ र ?’

 औरही गाउँपालिकामा करारमा सफाइ कर्मचारी रहेका दीपक मल्लिक (डोम)ले भने– पालिकाका कर्मचारी 
मनोज यादवले ‘जग्गाको प्रमाण हो, सही गरेर एक प्रति सुरक्षित राख्नू’ भन्दै हेर्नै नदिई ल्याप्चे लगाउन लगाए, म धेरै लेख–पढेको छैन । आफ्नै पालिकाका कर्मचारीले भनेपछि होला भन्ने भयो । आज (बिहीबार) अरूले राजीखुसी बसाइँ सरेको भनेर कागज गरेको रहेछ भनेपछि बल्ल थाहा पाएँ ।