
म्याग्दीको रघुगंगा गाउँपालिकामा निर्माणधिन जलविद्युत आयोजना र गाउँपालिकाका सरोकारवालाहरुबिच सडक स्तरोन्नतीमा सहकार्य गर्ने सहमती जुटेको छ । गाउँपालिकामा निर्माणधिन अवस्थामा रहेका पाँच जलविद्युत आयोजनाहरुले स्थानीय विकासमा गर्नुपर्ने उत्तरदायित्व पुरा नगरेको जनगुनासो आएपछि गाउँपालिकाले आयोजना गरेको बृहत छलफलमा आयोजनाहरुले प्रभावित क्षेत्रको जिर्ण सडकको स्तरोन्नती गर्न प्रतिबद्धता जनाएका हुन् ।
शुक्रबार गाउँपालिकाको केन्द्र मौवाफाँटमा आयोजना गरिएको जनप्रतिनिधि, सरोकारवाला र जलविद्युत आयोजनाका प्रमुखहरुको अन्तक्रिया कार्यक्रममा आयोजनाहरुले प्रभावित क्षेत्रको सडकलाई स्तरोन्नती गर्ने लिखित सहमती जनाएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चेतनारायण भण्डारीले जानकारी दिए।
गत फागुन १५ र २५ गते भएको सरोकारवालाहरुको भेलाले गाउँपालिकामा निर्माणधिन अवस्थामा रहेका पाँच जलविद्युत आयोजनाहरुलाई विभिन्न ३३ बुँदे लिखित माग तयार गरेका थिए । जलविद्युत आयोजनाहरुले गर्नुपर्ने न्यूनतम दायित्व पूरा नगरेपछि गाउँपालिकाको सामुहिक मागको रुपमा पेश भएका बुँदाहरुमा बृहत छलफल गरि तत्काल र दिर्घकालिन रुपमा आयोजनाहरुले गर्नुपर्ने उत्तरदायित्वको सम्बन्धमा लिखित प्रतिबद्धता गराईएको उनले बताए ।
यस गाउँपालिकामा ४० मेगावाट क्षमताको राहुघाट, २२ दशमलब ५ मेगावाटको ठूलोखोला ‘ए’, ३५ दशमलब ५ मेगावाट क्षमताको राहुघाट मंगले, २१ दशमलब ३ मेगावाट क्षमताको ठूलोखोला र ४८ दशमलब ५ मेगावाट क्षमताको अपर राहुघाट जलविद्युत आयोजना निर्माणको अन्तिम चरणमा पुगेका छन् । बेनी–जोमसोम सडकखण्डको घुमाउनेतालदेखि मौवाफाँट हुँदै बाँध रहने बुक्ल सम्मको सडकलाई तत्काल ग्राभेल सहित स्तरोन्नती गर्न रघुगंगा हाइड्रोपावरले लिखित प्रतिबद्धता गरेको छ । हाल राहुघाट जलविद्युत आयोजनाको आयोजना प्रतिबेदनमा सो सडकलाई ठेकेदार कम्पनीले आयोजना हस्तान्तरणको क्रममा ग्राभेल सहित स्तरोन्नती गर्ने उल्लेख भएपनि सरोकारवालाहरुको माग बमोजिम घुमाउनेतालदेखि मौवाफाँट सम्मको सडकलाई जलविद्युत आयोजनाहरुले कालोपत्रे गर्ने लिखित सहमती गरेको गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीले बताए ।
राहुघाटको ठेकेदार कम्पनी जयप्रकाश एसोसियट्स लिमिटेडले आयोजनालाई सडक हस्तान्तरण गरेपछि डिबिएसटी प्रविधिको कालोपत्रे गर्नका लागि रघुगंगा हाइड्रोपावर लिमिटेडले ८० प्रतिशत र यस गाउँपालिकामा निर्माणधिन अन्य आयोजनाहरुले उत्पादन क्षमताका आधारमा बाँकी २० प्रतिशत लागत व्यहोर्ने सहमती गरेको गाउँपालिका अध्यक्ष भण्डारीले बताए । त्यसैगरि मौवाफाँटदेखि दग्नाम, चिमखोला हुँदै पात्लेखर्कसम्मको मोटरबाटोलाई स्तरोन्नती गर्न तुँदी पावर, संयुक्त उर्जा र ठूलोखोला हाइड्रोपावर लिमिटेडले चालु आर्थिक वर्षमै थप एक करोड ५० लाख रुपैयाँ बराबरको काम गर्ने र दिर्घकालिन रुपमा सडकलाई स्तरीय बनाउन गाउँपालिकासंगै प्रदेश र संघीय सरकारसँगै हाल निर्माणधिन जलविद्युत आयोजनाले सहकार्य गर्ने सहमती भएको छ ।
त्यसैगरि आयोजना प्रभावित झिँ र पाखापानीमासमेत आयोजनाहरुले चालु आर्थिक वर्षमा सडक स्तरोन्नतीमा २५/२५ लाख रुपैयाँ बजेट उपलब्ध गराउने सहमती भएको छ। आयोजनाहरुले सामाजिक उत्तरदायित्वको रकमलाई समेत पारदर्शी बनाउनका लागि वडा र पालिकाको संयुक्त सिफारिसमा मात्रै बजेट खर्च गर्ने सहमती गरेका छन् भने खानेपानी योजना, सिंचाई योजना निर्माणमा सघाउने र प्रभावित क्षेत्रका विद्यालयमा उपलब्ध गराउँदै आएको शिक्षक सहयोगलाई निरन्तरता गर्ने प्रतिबद्धता जनाएका छन्। आयोजनाहरुले गर्नुपर्ने प्रतिबद्धतामा रघुगंगा हाइड्रोपावर लिमिटेडका प्रबन्ध संचालक गणेश केसी, तुँदी पावर लिमिटेडका महाप्रबन्धक इन्द्रप्रसाद ढकाल, संयुक्त उर्जा लिमिटेडका प्रबन्ध संचालक गोपाल प्रसाद निउरे, ठूलोखोला हाइड्रोपावर लिमिटेडका बित्त प्रमुख प्रदिप खतिवडाले हस्ताक्षर गरेका छन् ।