
वैदेशिक ऋण लगातार बढिरहनुले के संकेत गर्छ ?
वैदेशिक ऋण बढ्नु आत्तिनैपर्ने विषय त होइन । तर, विगत केही वर्षयता नेपालको ऋण वृद्धिको दर अस्वाभाविक छ । र, अझै पनि यही दरमा ऋण वृद्धि हुँदै जाने हो भने यसैका कारण नेपाल छिटै टाट पल्टिन बेर लाग्नेछैन । नेपालीमा ‘घाँटी हेरी हाड निल्नु’ भन्ने बुद्धिमत्तापूर्ण उखान प्रचलित छ । तर, अहिलेका शासकहरूले यसलाई थाहा पाएर पनि नपाएजस्तो गरिरहेका छन् । आफ्नो आन्तरिक व्यवहार चलाउन सकभर कम ऋण लिनु नै राम्रो हो । नलिनुपर्ने ऋण लिइसकेपछि त्यसलाई कहाँ र कसरी खर्च गर्ने भन्ने विषयमा प्रस्ट कार्ययोजना हुनुपर्छ । ऋण लिएर तलब, भत्ता ख्वाउने तथा प्रतिफल नआउने अनुत्पादक क्षेत्रमा खर्च गर्दै जाने हो भने यसबाट देश ‘ऋणको खोर’मा फस्ने अवस्था आउँछ ।
हामीकहाँ वैदेशिक ऋणको सदुपयोग कति भएको छ ?
हामीकहाँ ऋण लिएर उत्पादनमुखी काममा खर्च गर्नुभन्दा अर्बौं खर्चेर मन्त्री क्वार्टरजस्तो बिल्कुलै अनुत्पादक काममा खर्च गर्ने प्रवृत्ति मौलाउँदै गएको देखिन्छ । ऋण लिएको रकम प्रतिफल दिने ठाउँमा खर्च हुन सकेको खासै देखिन्न । वित्तीय अनुशासन पालना गरेको पाइँदैन । त्यसैले, ऋणको सदुपयोगभन्दा दुरुपयोग नै बढी भइरहेको छ ।
शासकहरूबाट ऋणको किन दुरुपयोग भइरहेको छ त ?
देशले लिएको ऋणको सावाँ र ब्याज जनताले तिरेको करबाट भुक्तानी गर्नुपर्छ । ऋण लिएर लगानी गर्नु भनेको भविष्य बनाउने कार्य हो । तर, शासकहरूले त्यसको उच्चतम फाइदा लिने दिशामा सोचेका सम्म छैनन् । त्यसैले, हामीकहाँ भविष्य बनाउन होइन, बिगार्न या नाश गर्न ऋण लिने काम भइरहेको छ ।