
राप्रपा नेपालका अध्यक्ष कमल थापाको अध्यक्षतामा आज बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले चारबुँदे निर्णय गरेको छ । बैठकले देशलाई संकटबाट मुक्त तुल्याउन राजाबाट सहयोगको निम्ति गरिएको आह्वानलाई जनताले अनुमोदन र आत्मसात् गरेका निष्कर्ष निकालेको छ । त्यसको ज्वलन्त र जीवन्त उदाहरण फागुन २५ गते काठमाडौंमा देखापरेको बृहत् जनप्रदर्शन भएको पार्टीको ठहर छ ।
उक्त ऐतिहासिक जनप्रदर्शनले अब चाँडै नै हिन्दुराष्ट्र र राजसंस्था पुनर्स्थापना हुने सुस्पष्ट संकेत गरेको बैठकपछि पार्टीका महामन्त्री तथा सचिवालय प्रमुख राजाराम बर्तौलाद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
विज्ञप्तिमा जनताको यो आवाज, चाहना र समयको मागलाई सम्बोधन गर्दै शान्तिपूर्ण ढंगबाट निकास खोज्ने जिम्मेवारी प्रमुख राजनीतिक दलहरूको काँधमा आएको भन्दै जनताले यथास्थितिमा परिवर्तन खोजेको तथा हिन्दुराष्ट्र र राजसंस्थाको पुनर्स्थापना, संघीयताको खारेजी, भ्रष्टाचारको अन्त्य र देशभित्रै रोजगारीको सिर्जना जनताको चाहना भएकोसमेत जनाइएको छ ।
सर्वपक्षीय सहमतिको आधारमा सबै विचार र शक्तिहरू अटाउने मौलिक प्रजातान्त्रिक प्रणाली स्थापना गर्न अब ढिलो गर्नु नहुने भन्दै पार्टीले जनताको चाहना र भावनालाई दमन गर्ने वा उपेक्षा गर्ने प्रयास गरिएमा परिस्थिति नियन्त्रणभन्दा बाहिर गई अप्रिय दुर्घटना हुनेसमेत जनाइएको छ । ‘यसतर्फ सचेत रहन सबै राजनीतिक दलहरूलाई राप्रपा नेपाल आग्रह गर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।
जनताले चाहेको परिवर्तनको चाहनालाई संस्थागत गर्न तथा हिन्दुराष्ट्र र राजसंस्था पुनर्स्थापनाको पक्षमा अहिले देखापरेको जनउत्साहलाई निष्कर्षमा पुर्याउन सबै राष्ट्रवादी, राजावादी, हिन्दुवादी, प्रजातन्त्रवादी र देशभक्त शक्तिहरू यथासम्भव चाँडो एकताबद्ध हुन र संयुक्त मोर्चा निर्माण गर्न राप्रपा नेपालले आह्वान गरेको छ ।
सबै राष्ट्रवादी एकजुट हुने हो भने जनताको साथ र समर्थन रहने तथा परिवर्तन सम्भव छ भन्ने फागुन २५ गतेको ऐतिहासिक जनप्रदर्शनले स्पष्ट पारेकोसमेत विज्ञप्तिमा जनाइएको छ ।
सबै राष्ट्रवादी, राजावादी, हिन्दुवादी, प्रजातन्त्रवादी, देशभक्त शक्तिहरू एकजुट भई ‘सर्वपक्षीय आन्दोलनको मोर्च’ गठन गर्न तथा तत्काल जनआन्दोलनको घोषणा र कार्यक्रम तयार गर्नसमेत सम्बद्ध सबैमा राप्रपा नेपालले अपिल गरेको छ । अब केही समयका लागि एक्लाएक्लै आन्दोलन गर्ने मनस्थिति परित्याग गर्नसमेत पार्टीले विज्ञप्तिमार्फत अनुरोध गरेको छ ।
यसैगरी फागुन २५ गते काठमाडौंमा राजाको स्वागत तथा हिन्दुराष्ट्र र राजसंस्था पुनर्स्थापनाको पक्षमा ऐक्यबद्धता प्रकट गर्न स्फूर्त रूपले उपस्थित जनसमुदायमा राप्रपा नेपालले आभार प्रकट गरेको छ ।